डा. केसीले तोडे अनसन

प्रकाशित मिति : २०७४ पुस २९

काठमाडौं । फागुन ८ गतेसम्म प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा नआए पुनः अनशन सुरु गर्ने चेतावनीसहित त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा.डा. गोविन्द केसीले अनशन तोडेका छन् । काठमाडौंमा जुत्ता सिलाउने काम गर्दै आएका सिराहा सखुवानान्कारकट्टी गाउँपालिका २ का ४८ वर्षीय नथुनीया मोचीले जुस खुवाएसँगै डा. केसीले आफ्नो १४ औं अनशन तोडेका हुन् ।

अनसन तोड्नुअघि पत्रकार सम्मेलन गर्दै केसीले सहमति कार्यान्वयन नभइन्जेल खबरदारी जारी नै रहने बताए । गत सोमबार प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै डा केसीले अनशन सुरू गरेका थिए । गएराति केसी पक्ष र नेपाल सरकारबीच पाँच बुँदे सम्झौता भएपछि केसीले शनिबार विहान अनशन तोडेका हुन् ।

सहमती अनुसार चिकित्सा शिक्षा आयोग एक साताभित्रमा गठन गर्ने, सर्वोच्च अदालतको आदेश अनुसार आइओएमका डीनमा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिने, त्रिवि शिक्षण अस्पतालको भौतिक पूर्वाधारको सुधार र अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिइने सेवा र सुविधा लगायतका ५ वटा बुँदा समेटिएका छन् । अदालतको अपहेलना मुद्दामा सोमबार हिरासतमा लिइएका केसीलाई बुधबार सर्वोच्च अदालतले साधारण तारेखमा छोडेको थियो ।