‘संगठन, संगठन फेरि पनि संगठन’

प्रकाशित मिति : २०७४ पुस २८

- विनोद सहयात्री

नेकपा (क्रान्तिकारी माओवादी)को सम्पन्न केन्द्रीय समितिको बैठकले संगठन विस्तार तथा सुदृढीकरणको विषयलाई प्रमुख रुपमा जोड दिएको छ । र, तीन महिने संगठन विस्तार तथा जनपरिचालन अभियानको योजना पनि निर्माण गरेको छ । ‘संगठन, संगठन फेरि पनि संगठन’ मा जोड दिएर बैठकमा महासचिवद्वारा प्रस्तुत प्रस्ताव व्यापक छलफलपछि एकमतले पारित भएको छ । र, यतिबेला क्रान्तिकारी माओवादीको सिंगो पंक्ति भएको संगठनलाई सुदृढ गर्ने र नयाँ संगठन विस्तार गर्ने योजनामा जुटेको छ ।

पार्टी, संयुक्त मोर्चा र जबस÷मोर्चामा आबद्ध सबै नेता कार्यकर्तालाई एकीकृत र केन्द्रीकृत रुपमा अभियानमा परिचालन गर्ने कार्ययोजना अनुसार अहिले पार्टी र मोर्चाका प्रदेश हुँदै जिल्ला तहसम्मका बैठकहरु बसिरहेका छन् भने जबस मोर्चाका पनि केन्द्रीय समितिका बैठकहरु बसिरहेका छन् । नयाँ जनवादी क्रान्तिका लागि संगठन नै अचुक अस्त्र रहेको भन्दै जुझारु संगठन निर्माणमा क्रान्तिकारी माओवादी जुटेको हो ।

पार्टीको संयुक्त मोर्चामार्फत् संसदीय निर्वाचनको क्रान्तिकारी उपयोग गरेको क्रान्तिकारी माओवादीले संसदीय व्यवस्थाको भण्डाफोर गर्न, प्रतिक्रियावादी, संशोधनवादी र अवसरवादीहरुले जनतामा छरेको भ्रम चिर्न र संगठन निर्माणको आधार निर्माणसहित जनसम्बन्ध सुदृढ गर्ने उद्देश्यलाई केन्द्रमा राखेर गरिएको निर्वाचन उपयोगको कार्यनीतिमा पार्टी सामान्यतः सफल भएको निष्कर्ष निकालेको छ । क्रान्तिकारी माओवादीले अगाडि सारेका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुको पक्षमा देखिएको जनमतलाई संगठित गर्ने उद्देश्यलाई नै केन्द्रमा राखेर क्रान्तिकारी माओवादीले अहिले संगठन निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ ।

संगठन र संघर्षको द्वन्द्वात्मक सम्बन्धलाई ख्याल गर्दै क्रान्तिकारी माओवादीको सम्पन्न केसको बैठकले जुझारु संघर्षका कार्यक्रमहरुलाई पनि अभियानसँग सँगै लैजान खोजेको देखिन्छ । क्रान्तिका निम्ति वस्तुगत आवश्यकताअनुरुप आत्मगत क्षमतालाई सुदृढ तुल्याउन संगठन र संघर्षको आवश्यकतालाई क्रान्तिकारी माओवादीको बैठकले गहिरोगरी बोध गरेको देखिन्छ ।

चौतर्फी रुपमा देशी विदेशी प्रतिक्रियावादी, संशोधनवादी र अवसरवादीहरुको दबदबा र घेराबन्दी रहेको वर्तमान स्थितिमा सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुका लागि संगठन र संघर्ष निर्विकल्प बन्न पुगेको छ । अहिले क्रान्तिकारीहरुका लागि संगठन र संघर्षबाहेक अरु सबै चिज भ्रम हुन् । संगठन र संघर्षमा अब्बल भएर अगाडि बढेमा मात्र नयाँ जनवादी क्रान्तिको प्रक्रियालाई सशक्त रुपमा अगाडि बढाउन सकिन्छ ।
अहिले सत्ता, शक्ति र पैसा हुने दलाल र सम्भ्रान्तवर्गको पेवामा सीमित बन्न पुगेको छ संसीय राजनीति । संसदवादीहरुकै लागि यो राजनीति फलामको चिउरा सावित भएको छ र ती पार्टीहरुभित्र अहिले अन्तरविरोध विष्फोटक बनेर गएका छन् । छिमेकी तथा शक्ति राष्ट्रहरुको स्वार्थको तानातानमा रहेको नेपालको संसदीय राजनीतिमा निर्णायक वैदेशिक शक्ति बन्दै आएको छ र अबका दिनमा पनि हुने त्यही देखिन्छ ।

संसदवादी दलका नेताहरुले विदेशीको दलाली गरेर आफ्नो राजनीतिक अस्तित्व र हैसियत धान्दै आएका छन् । र, अहिले पनि त्यही गरिरहेका छन् । निकट भविष्यमै उनीहरुको दलाल राजनीतिका कारण मुलुकले ठूलै मूल्य चुकाउनुपर्ने स्थिति नआउला भन्न सकिने स्थिति छैन । अहिले मुलुकलाई देश र जनतालाई केन्द्रमा राखेर आमूल परिवर्तनको एजेण्डासहित अगाडि बढेको स्वतन्त्र हैसियतको शक्तिशाली राजनीतिक पार्टी चाहिएको छ । वर्तमान स्थितिलाई हेर्ने हो भने त्यस्तो पार्टीको रुपमा उदयमान शक्ति भनेको क्रान्तिकारी माओवादी नै हो । क्रान्तिकारी माओवादीले मात्रै देशको सार्वभौमिकता र अखण्डताको रक्षा गर्न सक्छ र मुलुकमा आमूल परिवर्तनको खाका प्रस्तुत गर्न सक्छ । त्यसका लागि फेरि पनि संगठन निर्माण र जनपरिचालनलाई व्यापक रुपमा विस्तार गर्न सक्नु पर्दछ । कम्युनिष्ट पार्टी स्थापनादेखिका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुमा क्रान्तिकारी माओवादीबाहेक कुनै पनि शक्ति इमान्दार र निष्ठावान देखिएका छैनन् । परिस्थिति यसरी विकास भइरहेको छ कि क्रान्तिकारी माओवादी नै सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुको केन्द्रको रुपमा स्थापित र विकसित हुँदै जानेछ । नयाँ जनवादी क्रान्तिको अबको कोर्स पूरा गर्न सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु एकै ठाउँमा आउन जरुरी छ ।