क्रान्तिकारी माओवादीका प्राध्यापक र विध्यार्थी संगठनले पनि डा.केसीको अविलम्ब रिहाइको माग गरे

प्रकाशित मिति : २०७४ पुस २६

काठमाडौं । मंगलबार छुट्टाछुट्टै प्रेस वक्तव्य जारी गर्दै नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध नेपाल राष्ट्रिय प्राध्यापक संगठन र अखिल (क्रान्तिकारी)ले प्रा.डा. गोविन्द केसीको अविलम्ब रिहाई गरी डा.केसीले उठाएका माग पूरा गर्न समेत माग गरेका छन् । प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीश चन्द्र भण्डारी र अखिल (क्रान्तिकारी)का अध्यक्ष सेवन्त राज भण्डारीले वक्तव्य निकालेर यस्तो माग गरेका हुन् ।

वक्तव्यमा भनिएको छ, “भ्रष्टाचारीहरुले सफाई पाउने वा सामान्य धरौटीमा छुटेर इमान एवं नैतिकताको धज्जी उडाईरहेको वर्तमान परिप्रेक्ष्यमा न्यायलय माथिको चरम अविश्वास बढ्दै जानु स्वभाविकै हो । यस्तो अवस्थामा आफ्नो गल्ती कमजोरी सच्याउन छोडेर गल्तीको पुनः पुष्ट्याँई हुने गरी प्रा.डा. के.सी.लाई पक्राउको आदेश दिनु सर्वोच्च अदालतको गम्भीर त्रुटी हो ।”

वक्तव्यमा अगाडि भनिएको छ, “गणतान्त्रिक नेपालमा आफुलाई लागेको कुरा बोल्न पाउने र गलत विषयको आलोचना गर्न पाउने अधिकार सुनिश्चित छ । नागरिकको उक्त अधिकार खोस्न खोज्नु वास्तवमा तानाशाही हो । अतः डा. के.सी.को तत्काल एवं सकुशल रिहाई तथा उहाँले उठाएका न्यायोचित मागहरु अविलम्ब पुरा गर्न माग गर्दछौं ।”