कविता : क्रान्तिकारीहरुको नाममा

प्रकाशित मिति : २०७४ पुस २४

- पर्जन्य

आँधीसँगै रमाउने ज्वालामुखी समाउने
सुनामीको गीत गाउने चट्याङसँग प्रित लाउने
उल्कापातमा भुलिने ज्वारभाटासाथ चुलिने
तिमी विश्वात्ममा विश्व मानव क्रान्तिवीर
उर्जाको महासागर तिमी सगरमाथा तिम्रो शीर

फलामको मन बनाई स्वयम् बज्रगोला बन
एकचित्त मन पारी सफलताका दिन गन
शुभ विचार महाशक्ति भनी अब बुझिलेऊ
जीउज्यान मन प्राण सबै त्यसैमा तुनिदेऊ
प्रकाशको बाढी आई दिमाग दिव्य बनी जान्छ
इच्छाशक्ति प्रबल भए परम प्राप्तिले आफै तान्छ

द्वन्द्वात्मक चेत अझै खुलोस्
दीलमा लाल गुलाव ढकमक्क फुलोस्
भावना महासागर होस्
मस्तिष्कमा लेखा हिसाब होस्
मुटुमा विवेक निसाफ रहोस्
क्रान्ति नसा अझ लागोस्
शंका भ्रान्ति दीलबाटै भागोस्
विश्व क्रान्तिको न्यूक्लियस होऊ
अब चै जूनतारा साँच्चै छोऊ

प्रकाशपुञ्जमय भव, शक्तिकुञ्जमय भव !
सचेत कलापूर्ण कम्युनिस्ट भव !
ज्ञानी दार्शनिक महावीर योद्धा भव !
गुरु लेनिनतुल्य जादुगरी स्वप्नद्रष्टी भव !