युवा र क्रान्ति

प्रकाशित मिति : २०७४ पुस २४

- उज्ज्वल

युवा स्वभावैले क्रान्तिकारी हुन्छन् । क्रान्ति परिवर्तनका लागि गरिने संघर्ष हो । ती संघर्षहरुमा युवाहरुको अतुलनीय योगदान रहँदै आएको छ । यथास्थितिका विरुद्ध विद्रोहचेत युवाहरुको मूल चरित्र अर्थात् विशेषता हो । यसर्थमा सचेत युवाहरु इतिहासका चालकशक्ति पनि हुन् । र, क्रान्तिका संवाहक शक्ति ।

वर्गीय समाजमा सबै चिज वर्गीय हुन्छ । युवाहरु पनि स्वभाविक रुपमा वर्गीय रुपमा विभाजित अवस्थामा रहेका हुन्छन् । समाजमा धनी, हुने खाने, पुँजीपति वर्ग र गरीब, हुँदाखाने, विपन्न वर्ग, सुकुम्बासी, सर्वहारावर्ग छ । समाजमा धनी, हुनेखाने, पुँजीपतिवर्गको संख्या थोरै तथा सीमित हुन्छ तर गरिब, हुँदाखाने, विपन्न, तथा श्रमजीविवर्ग विशाल र असीमित हुन्छ । श्रमजीवि, शोषित–उत्पीडित वर्गभित्रका युवाहरु, जो आफ्नो जीविकोपार्जन गर्न दिनरात कडा परिश्रम गर्छन्, पसिना बगाउँछन् तर सकिरहेका हुँदैनन् । धनी हुने सपना बोकेर दिनरात यता उता भौतारिरहेका हुन्छन्, विभिन्न क्षेत्रमा हात हालेका हुन्छन् तर आफ्नो जीवनस्तरमा कुनै सुधार नआउँदा सँधै हैरान हुन्छन् र कतिपय युवाहरु गरिब हुनुको कारण आफ्नै भाग्यलाई दोष दिएर चित्त बुझाउने गर्दछन् भने कतिपय युवाहरु भने त्यसको वास्तविक कारणको खोजीतिर लाग्छन् र मजदुर मालिक, अर्थप्रणाली तथा राज्यव्यवस्थालाई त्यसको दोषी ठह¥याउँदै व्यवस्थाका विरुद्ध विद्रोहको मशाल बाल्छन् । आफूलेजस्तो भावी पुस्ताले शोषण र उत्पीडनको शिकार हुन नपरोस् भनेर बलिदानीपूर्ण संघर्षमा होमिन्छन् । अन्य देश र नेपालको पनि इतिहासमा त्यस्तै हुँदै आएको छ । र, वर्तमान पनि त्यसभन्दा अलग हुन सकेको छैन ।

संसदीय व्यवस्थालाई श्रमजीवि शोषित उत्पीडितवर्गले आफ्नो भाग्य र भविष्यका लागि प्रमुख रुपमा अबरोधक ठाने र त्यसको समूलनष्ट गर्ने संकल्पका साथ वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक रुपमा शोषित र उत्पीडित युवाहरु तत्कालीन नेकपा (माओवादी)ले नेतृत्व गरेको जनयुद्धमा होमिए । झण्डै ८० प्रतिशत युवाहरुको सहभागितामा भएको त्यस जनयुद्धमा युवाहरुले बलिदानका उच्च कीर्तिमानहरु कायम गरे, वर्गदुश्मनका क्याम्पहरुमा बम बारुद बनेर पड्किन आत्मगौरव ठाने । विश्व हल्लाउने त्यो महान जनयुद्धमा बलिदान गर्ने ती युवायुवतीहरुले, वीर वीरङ्गनाहरुले भावी पुस्ताको सुन्दर भविष्य निर्माण हुने दृढ विश्वासका साथ शीरमा कात्रो बेरेर रणमैदानमा उत्रिएका थिए । उनीहरुलाई दृढविश्वास थियो– जनयुद्धले संसदीय व्यवस्थालाई जरैदेखि उखेलेर फाल्नेछ र जनताको नयाँ जनवादी व्यवस्था स्थापित हुनेछ । जनवादी व्यवस्थामा आफ्ना सन्ततीहरुको उज्ज्वल भाग्य र भविष्य निर्माण हुनेछ । जनयुद्धमा होमिएका अधिकांश युवाहरुमा यो विश्वासले मनमस्तिष्कमा दह«ोसँग जरा गाडेको थियो । र त लडाइँमा जान र बलिदान गर्न युवाहरुमा एक किसिमको प्रतिस्पर्धा नै चल्दथ्यो । त्यो महान र उदात्त क्षण, पल र प्रण साँच्चै युगीनरुपमा महान र गौरवपूर्ण थियो । र, पुस्तौसम्म सच्चा क्रान्तिकारीहरुका लागि उदाहारणीय र अनुकरणीय थियो, छ र रहिरहनेछ ।

तर आज परिणाम के भयो ? जनयुद्धमा बम र बारुद्धको छर्रा, गोलीको पर्रा छलेर नाफाको जिन्दगी बाँचेका युवाहरुको अगाडि त्यही संसदीय व्यवस्था अझ मजबुत बनेर खडा भएको छ । सबैभन्दा कुरुप र घिनलाग्दो विडम्बना त के छ भने हिजो जनयुद्धले नै सर्वोच्च कमाण्डरको रुपमा स्थापित गरेको नेतृत्व र जनयुद्धका अन्य थुप्रै कमाण्डरहरु जनयुद्धले नै मरणासन्न अवस्थामा पु¥याएको संसदीय व्यवस्थालाई पुनस्र्थापित गरी सुदृढ गराउनतिर लागि परे । गरिखाने जनताको सुदिन ल्याउने संकल्प गरेका उनीहरु व्यक्तिगत वैभव जम्मा गर्नतिर लागि परे । जनयुद्ध, महान वलिदान र गरिखाने श्रमजीवि शोषित–उत्पीडित वर्गमाथि धोका र गद्दारी गर्न पुगे । श्रमजीवि शोषित–उत्पीडित वर्गका लागि यो संसदीय व्यवस्था अझ निरंकुश र फासिवादी बनेको छ । यो दलाल संसदीय फासिवादी व्यवस्थाका विरुद्ध फेरि श्रमजीवि शोषित उत्पीडित युवाहरुले लड्ने र यसलाई उखेलेर फाल्ने संकल्प गर्नुपर्ने स्थिति प्रबल बनेर गएको छ ।

जनयुद्धमा बन्दुक र बारुद्धसँग खेलेका धेरै युवाहरु आज रोजीरोटीका लागि खाडी मुलुकमा श्रम र पसिना बगाइरहेका छन् । उनीहरुको रेमिट्यान्समा यहाँका जनविरोधी र राष्ट्रघाती शासकहरु ब्रम्हलुट मच्चाइरहेका छन् । दिनदिनै महंगी बढेको बढ्यै छ, भ्रष्टाचार र अनियमितताले संस्थागत रुपमा संस्कारकै रुप लिन थालिसकेको छ, बेरोजगारीको स्थिति अझ विकराल बनेको छ, गाउँ गाउँमा संसदवादी पार्टीका नेता कार्यकर्ताहरु बिचौलिया बनेर जनताको श्रम पसिना लुटिरहेका छन्, शिक्षा, स्वास्थ्य, खानेपानी, विकास–निर्माण सबैमा माफियाहरुको जगजगी छ, राज्यको सेवा र सुविधा लिन जनसर्वसाधारणका लागि फलामकै चिउरा चपाउनु परेजस्तै भएको छ, दैनिक उपभोग्य कृषिवस्तु समेत आयात हुन थालेपछि देशको ठूलो धनराशी विदेशिएको छ, भारतसँगको मात्र व्यापारघाटा पाँच÷छ सय अर्बभन्दा बढी छ, देशका सबै नदीनालामा भारतीय एकाधिकार बढेर गएको छ, सीमा मिचिएको मिचियै छ, जनताको जीवनस्तर झन् माथि झन् खस्कदो छ । धनी र गरिबबीचको खाडल अझ बढेर गएको छ । यो सबैको लागि जिम्मेबार भनेको यही दलाल तथा नोरशाही पुँजीवादमा आधारित संसदीय व्यवस्था नै हो र यो व्यवस्थाका शासकहरु ।

समाजमा विभेद, शोषण, उत्पीडन रहुन्जेल कसैले चाहे नचाहे पनि संघर्ष चलिरहन्छ । यो वर्गसमाजको नियम नै हो । नेपालमा कम्युनिष्ट पार्टी स्थापना गरेदेखिका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरु अझैसम्म ज्युका त्युँ छन्, अझ विकराल र भयावह बनेर गएका छन् । उल्लेखित सबै समस्याको समाधान भनेको फेरि पनि यो संसदीय व्ययवस्था फालेर मुलुकमा नयाँ जनवादी राज्यव्यवस्था स्थापित गर्नु हो । त्यसका लागि नयाँ जनवादी क्रान्ति अपरिहार्य छ । यो क्रान्तिमा फेरि पनि क्रान्तिकारी युवाहरुको भूमिका प्रमुख बनेर गएको छ । माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक हतियारले लैस, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका सकार र नकार अनुभवबाट खारिएको, अत्याधुनिक सूचना तथा सैन्य प्रविधिबाट दीक्षित र बलिदानी भावनाबाट ओतप्रोत भएको क्रान्तिकारी युवाहरुको गतिशिल दस्ताको निर्माण नयाँ जनवादी क्रान्तिको बाँकी कोर्स पूरा गर्न अनिवार्य बन्न गएको छ । भावी सन्ततीको सुन्दर भाग्य र भविष्यका निम्ति वर्तमानका युवा पुस्ताले एउटा लडाइँ नलडी नहुने स्थिति पैदा भएको छ । संसारभर छरिएर रहेका श्रमजीवि, शोषित–उत्पीडित वर्गका युवाहरुले गम्भीर भएर सोच्ने, संगठित हुने र क्रान्तिका निम्ति पहलकदमी लिनुपर्ने आवश्यकता अझ बढेर गएको छ । यो नै इतिहासले युवाहरुमाथि सुम्पेको युगीन कार्यभार बनेर खडा भएको छ ।