‘नयाँ जनवादी क्रान्ति छोड्ने र संसदीय व्यवस्था मान्ने कम्युनिष्ट हुन सक्दैनन्’

प्रकाशित मिति : २०७४ पुस २२

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले नयाँ जनवादी क्रान्ति छोड्ने र संसदीय व्यवस्था मान्ने कम्युनिष्ट हुन नसक्ने बताउनु भएको छ । क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको सचिवालयको बैठकलाई सम्बोधन गर्दै महासचिव किरणले यस्तो बताउनु भएको हो ।

बैठकलाई सम्बोधन गर्दै महासचिव किरणले एमाले, माओवादी केन्द्र लगायतका पार्टीहरुले नयाँ जनवादी क्रान्ति परित्याग गर्दै संसदीय व्यवस्थालाई मानेर गएको हुनाले उनीहरु कम्युनिष्ट हुनै नसक्ने दावी गर्नुभयो । जनताको परिवर्तनको आकांक्षा चुनावबाट पूरा हुन नसक्ने भन्दै महासचिव किरणले प्रतिक्रियावादी व्यवस्थाको भण्डाफोर गर्न, संशोधनवादी तथा अवसरवादी तत्वहरुले जनतामा पारेको भ्रम चिर्न र जनसंगठनको आधार निर्माण गरी जनसम्बन्ध सुदृढ गर्ने उद्देश्यले मात्र निर्वाचनको क्रान्तिकारी उपयोग गरेको स्पष्ट पार्नुभयो ।

युवा विध्यार्थीहरु क्रान्तिका संवाहक शक्ति भएको भन्दै महासचिव किरणले क्रान्तिकारी विध्यार्थीहरुलाई शिक्षा क्षेत्रमा व्याप्त माफियाकरण, व्यापारिकरण र निजीकरणका विरुद्ध सशक्त रुपमा आवाज उठाउँदै विध्यार्थी आन्दोलनलाई नयाँ शिराबाट संगठित गर्न संगठन विस्तार तथा सुदृढीकरणको अभियान चलाउँदै गतिशिल रुपमा अगाडि बढ्न पनि निर्देशन दिनुभयो । अखिल (क्रान्तिकारी)का अध्यक्ष सेवन्त राज भण्डारीको अध्यक्ष तथा सञ्चालनमा जारी बैठकमा फ्र्याक्सन इन्चार्ज हरिभक्त कँडेल‘प्रतिक’ लगायत नेताहरुको उपस्थिति रहेको छ । बैठकमा विध्यार्थी नेताहरुले संगठनभित्र रहेका निराशा, निष्क्रियता र पलायनतालाई पराजित गर्दै क्रान्तिकारी आशा र उत्साहका साथ एकीकृत र केन्द्रिकृत रुपमा गतिशिल ढंगले विध्यार्थी आन्दोलनलाई अगाडि बढाउनु पर्ने सुझाव दिएका छन् ।