‘हामीले सङ्गठन र सङ्घर्ष दुवै क्षेत्रमा क्रमभङ्ग गर्दै अगाडि बढ्नु पर्दछ’

केसकाे बैठकमा पार्टी महासचिव मोहन वैद्य‘किरण’द्वारा प्रस्तुत तथा पारित तात्कालिक राजनीतिक प्रस्तावको अंश

प्रकाशित मिति : २०७४ पुस २३

(नेकपा (क्रान्तिकारी माओवादी)को ६ देखि १० पौषसम्म बसेको केन्द्रीय समितिको बैठकमा पार्टी महासचिव मोहन वैद्य‘किरण’द्वारा प्रस्तुत तथा पारित तात्कालिक राजनीतिक प्रस्तावको अंशलाई यहाँ प्रस्तुत गरिएको छ । –स.)

१–वर्तमान राजनीतिक परिस्थिति

(क) देशमा हालै पश्चगामी राज्यसत्ता तथा व्यवस्था अन्तर्गत संसदीय निर्वाचनको नौटङ्की मञ्चन गरिएको छ । यस प्रकारको सत्ता तथा व्यवस्थामा आ–आफ्नो पकड बलियो बनाउनका लागि प्रमुख भनिएका संसदवादी राजनीतिक दलहरूद्वारा विभिन्न प्रकारका तिकडमहरू गर्दै आउने काम भएको छ । यस सन्दर्भमा निर्वाचनमा थ्रेसहोल्डको व्यवस्था र कथित गठबन्धनहरूको निर्माण विशेष उल्लेखनीय रहेका छन् ।

(ख) थ्रेसहोल्डको व्यवस्थाले नेपाली संसदवादी राजनीतिमा एकातिर कतिपय राजनीतिक दलहरूका लागि एकाधिकारवाद तथा सिण्डिकेट प्रणालीलाई बलियो बनाउन मद्दत गरेको छ भने अर्कोतिर उनीहरू आफैले स्वीकार गर्दै आएको बहुदलीय व्यवस्था र बहुलवादमाथि गंभीर प्रश्नचिन्ह खडा गरिदिएको छ । यो संसदीय अधिनायकवादी व्यवस्थाको एक कुरूप उदाहरण हो । यसलाई सैद्धान्तिक रूपमा संसदीय व्यवस्थाकै नैतिक पतन र असफलताको निसानीका रूपमा बुझ्नु पर्दछ ।

(ग) संसदीय निर्वाचनको प्रक्रियामा अप्रत्याशित रूपमा दुई प्रकारका राजनीतिक गठबन्धनहरू बनाइएका छन्, ती हुन्–कथित वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन । नेकाको नेतृत्वमा बनाइएको लोकतान्त्रिक गठबन्धन ‘वाम’ गठबन्धनको प्रतिक्रियास्वरूप जन्मिएको हो र त्यसले जनतामा कुनै नयाँ प्रकारको भ्रम दिन सक्तैन । परन्तु, एमालेको नेतृत्वमा बनेको कथित वाम गठबन्धनले भने कम्युनिस्ट नाममा परिवर्तनकामी जनतामा ठूलो भ्रमको सिर्जना गरेको छ । अहिलेको संसदीय निर्वाचनमा ‘वाम’ गठबन्धनको कथित विजय भएको छ । यो नेपाली जनता र क्रान्तिका निम्ति ठूलो चुनौती र प्रतिकूलता हो ।

(घ) साम्यवादको महान् आदर्श परित्याग र प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थालाई स्वीकार गरिसकेका तत्वहरू कम्युनिस्टको नाम र रातो झण्डामा सिँगारिएको देख्दा एकातिर क्रान्तिका विरुद्ध जनतालाई अझै भ्रमित तुल्याउन ठूलो मद्दत पुगेको र अर्कोतिर पुरानाका ठाउँमा नयाँ कठपुतलीहरू तयार भएकोमा साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरू मख्ख परेका छन् ।

(ङ) अहिलेको संसदीय निर्वाचनको एउटा मूल विशेषता भनेको पहिलेको भन्दा धेरै ठूलो मात्रामा पैसाको खोलो बगाउनु हो । यसबाट संसदीय निर्वाचन एकातिर क्रयविक्रयको पराकाष्ठाका रूपमा विकृतीकरणको थलो बन्न गएको छ भने अर्कोतिर यसले भ्रष्टचारलाई संस्थागत गर्नका लागि थप आधार प्रदान गरेको छ ।

(च) प्रतिक्रियावादीहरू तथा प्रतिक्रियावादमा पतन भएका दक्षिणपन्थी संशोधनवादीहरूले यस निर्वाचनबाट संक्रमणकालको अन्त्य, लोकतान्त्रिक गणतन्त्रको संविधानको कार्यान्वयन र इतिहासको नयाँ अध्याय तथा नयाँ युगको थालनी, भएको बताएका छन् । वैदेशिक प्रतिक्रियावादीहरूले पनि निर्वाचनको सराहना गरेका छन् र बधाई दिएका छन् । परन्तु, वास्तविक अर्थमा नेपालमा प्रतिक्रान्तिको अर्को अध्यायको थालनी भएको छ । हामीले प्रतिक्रान्तिको यस अध्यायको अन्त्य र नयाँ जनवादी क्रान्तिको नयाँ अध्यायको थालनी गर्नका लागि विशेष परिश्रम गर्न जरुरी छ ।

(छ) यद्यपि आगामी सरकारले सुधारका केही काम र समाजवादको लफ्फाजीका कुरा गरेर आफूलाई विकासवादीका रूपमा पेश गर्न कोशिस गर्नेछ । तर, दलाल पूँजीवाद, नवउदारवाद र वैदेशिक उत्पीडनले जर्जर बन्दै आएको अर्थतन्त्रलाई सुधारको फाटेको जालले कुनै पनि हालतमा थेग्न सक्तैन । त्यसले आमूल परिर्वतनका लागि अपूर्व त्याग, वीरता तथा वलिदानी भावका साथ अनेकौँ जनआन्दोलन र दश वर्षको महान् जनयुद्धमा होमिएका जनताका आशा, अपेक्षा र आवश्यकताको कदापि सम्बोधन गर्न सक्दैन । हुन त माकेको एमालेसितको विलयनले दक्षिणपन्थी अवसरवादको रूपमा नवप्रतिक्रियावादको गढ अझै बलियो बन्न सक्तछ, परन्तु, त्यो अस्थायी कुरा हो । अव माकेले आफूलाई क्रान्तिकारी देखाउने ठाउँ समाप्त भएको छ र पुरानो प्रतिक्रियावादले जस्तै नवप्रतिक्रियावादले पनि दुर्गति भोग्नु पर्ने छ । भावी दिनमा एकातिर राष्ट्रियता, जनतन्त्र र जनजीविकाका साथै वर्गीय, जातीय, क्षेत्रीय तथा लैङ्गिकलगायतका जनताका समस्या थप जटिल तथा गंभीर बन्दै जानेछन् भने अर्कोतिर सत्ताधारी र प्रतिपक्षीका बिचको अन्तर्विरोध पनि नयाँ ढुङ्गले चर्कने छ । देश र जनताको पक्षमा उभिई क्रान्तिको प्रक्रिया अगाडि बढाउन अब मैदान खालि भएको छ । हामीले मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम तथा पिछडिएका क्षेत्रका जनताका आधारभूत तथा जल्दाबल्दा दुवै प्रकारका समस्यालाई लिएर सङ्घर्षको तयारी र विकासमा लाग्नु पर्दछ । यस प्रकारको स्थितिलाई गंभीरतापूर्वक आँकलन तथा नयाँ संभावनाको खोज गरी प्रतिकूलतालाई अनुकूलतामा बदल्ने र हरेक प्रकारका चुनौतीहरूको सामना गर्ने काममा अत्यन्तै परिश्रमका साथ सचेत रूपमा संलग्न हुनु पर्दछ ।

(ज) वर्तमान स्थितिमा हामीले पार्टी पङ्क्तिलाई सुदृढ तुल्याउने, क्रान्तिकारी कम्युनिस्टहरूका बिचको एकीकरण तथा ध्रुवीकरणको प्रकृयालाई अगाडि बढाउन ठोस रूपमा पहल गर्ने र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्यालाई मूर्तीकृत गरी स्वतन्त्र तथा संयुक्त रूपमा सङ्घर्षलाई नयाँ ढङ्गले सङ्गठित तथा विकसित तुल्याउनेतर्फ योजनाबद्ध रूपमा क्रियाशील हुनु पर्दछ र मुख्यतः नयाँ जनवादी क्रान्तिको तयारीको दिशामा दृढतापूर्वक अगाडि बढ्नु पर्दछ ।

२– संसदीय निर्वाचनको समीक्षा

“वास्तविक जीवन तथा वास्तविक क्रान्तिको इतिहासले के देखाउँछ भने ‘श्रमिक जनताको बहुमतको सहानुभूति’ प्रायः कुनै पनि चुनावद्वारा प्रदर्शित हुन सक्तैन ।….. आफ्नो अग्रदस्ता सर्वहारावर्गप्रति श्रमिक जनताको विशाल बहुमतको सहानुभूति र समर्थन बिना सर्वहारा क्रान्ति असम्भव छ । परन्तु, त्यस प्रकारका सहानुभूति र समर्थन एकाएक अभिव्यक्त हुँदैनन् र चुनावद्वारा निर्धारित हुँदैनन् । ती त लामो, कठिन तथा निर्मम वर्गसङ्घर्षका क्रममा प्राप्त हुन्छन् । — लेनिन

लेनिनका उक्त भनाई हाम्रा लागि विशेष मननीय रहेका छन् ।
भर्खरै संसदीय निर्वाचन भइसकेको छ । यस निर्वाचनमा ‘वाम’ गठबन्धन ‘बहुमतले विजयी’ भएको छ । यस निर्वाचनमा पार्टीले देजमोका उमेदवारहरूलाई समर्थन गरी उपयोग गर्ने नीति लिएको थियो । यसमा केही कमी तथा सिमा रहे । यी सबै विषयबारे छोटो समीक्षा गर्न जरुरी छ ।

 अहिलेको निर्वाचनमा नेका पछाडि प¥यो । नेकाले एकातिर पुरानै ढङ्गले आफूलाई प्रजातन्त्रको पर्यायका रूपमा प्रस्तुत गरिरह्यो भने अर्कोतिर अधिनायकवादका रूपमा ‘कम्युनिस्ट’ व्यवस्थाको विरोध गर्नु बाहेक अर्को कुनै नारा दिन सकेन ।

 कथित वाम गठबन्धनले माक्र्सवादको आवरणमा सुधार, स्थायित्व र समृद्धिको नारा पेश ग¥यो । वामपन्थी राजनीतिप्रति आकर्षित हुँदै आएको नेपाली जनताले तत्काल कुनै भरपर्दो विकल्प देखेन र ‘वाम’ गठबन्धनप्रति आकर्षित बन्यो । अथवा भनौ ‘वाम’ गठबन्धन जनतालाई भ्रम दिन सफल रह्यो ।

 अहिलेको निर्वाचनमा थ्रेसहोल्डको व्यवस्था, ‘वाम’ गठबन्धनको प्रचारशैली र आर्थिक चलखेल अत्यन्तै प्रभावी बने ।
 पार्टीद्वारा समर्थित मोर्चाका उम्मेदवारहरूको विजयको अपेक्षा नगरिए पनि कतिपय ठाउँमा सम्मानजनक मत आउने अपेक्षा गरिएकोमा सो हुन सकेन ।

 निर्वाचनमा कसैसित तालमेल गरिएन र नजिकका कुनै पनि शक्तिसित तालमेल गर्ने स्थिति रहेन । नेका, एमाले, माके एउटै संसदीय ड्याङका मूलाहरू थिए र तिनीहरूसित तालमेल गर्ने कुरै भएन ।

उक्त विषयका साथमा निर्वाचनमा हाम्रो आफ्नै स्थितिबारे ठोस रूपमा समीक्षा गर्न आवश्यक छ ।

सामान्यतः १) सत्ता तथा व्यवस्थाको केही हदसम्म भण्डाफोर गरी पार्टीका विचार जनतामा पु¥याउन, २) मूलतः सङ्गठन परिचालन गर्न र ३) पार्टी तथा क्रान्तिको पक्षमा केही जनाधार तयार पार्न कतिपय उपलब्धि हासिल गरिएको छ । अत्यन्तै प्रतिकूल तथा जटिल स्थितिमा पनि चुनावी सङ्घर्षमा दृढतापूर्वक उभिएर देजमोका उम्मेदवारहरूद्वारा ठूलो साहस प्रदर्शन गर्ने काम भएको छ । सामान्यतः तुलनात्मक रूपमा उपयोगको नीति सफल रहेको छ । साथै, निर्वाचनको क्रममा हाम्रा कमी तथा कमजोरी र सिमा पनि प्रकट हुन गएका छन् । ती मूलतः यी हुन् –क) सङ्गठनको कमजोर अवस्था तथा सिमा राम्रोसित उजागर भए, ख) प्रचारात्मक कार्यमा कतिपय ठाउँमा आफ्नै पङ्क्तिलाई पनि राम्रोसित परिचालित गर्न सकिएन, ग) जनसेवा तथा जनसम्बन्धको क्षेत्रमा ठूलो अभाव खड्कियो घ) प्रचारात्मक कार्यमा आर्थिक समस्या जटिल विषय बन्यो । ङ) प्रत्यक्षतर्फ भन्दा समानुपातिकमा जान खोज्ने तथा पराजयको भयले उमेदवार बन्न हिच्किचाउने प्रवृत्ति पनि देखापरे ।
निर्वाचनको प्रक्रियामा हाम्रा आफ्नै कमी, कमजोरी तथा सिमा बाह्य रूपमा समेत उजागर हुन पुगेका छन् । यी कुराबाट अंशतः केही निराशाका भाव पनि प्रकट भएका छन् । यस क्रममा कतिपय गंभीर प्रकृतिका अनुशासन उल्लङ्घनका घटना पनि घटेका छन् । उक्त सबै परिघटनाबाट पार्टीलाई अगाडि बढ्ने काममा अत्यन्तै मूल्यवान अनुभव तथा शिक्षा प्राप्त भएका छन् र यी मध्ये सबैभन्दा मुख्य शिक्षा सङ्गठनको विस्तार र सुदृढीकरणमा जोड दिनुपर्छ भन्ने नै रहेको छ । यस प्रकारका अनुभव तथा शिक्षालाई राम्रोसित आत्मसात गरी अगाडि बढ्न जरुरी छ ।
हाम्रा कमजोरी तथा सिमा रहे पनि संम्मानजनक मत प्राप्त नभएकोमा निराश बन्नुपर्ने कुनै कारण छैन । वाम गठबन्धनका नाममा दक्षिणपन्थी अवसरवादको वेगवान बाढी आएको, क्रान्तिका कुरा गर्नेहरू स्वयम् प्रतिक्रान्तिका संवाहक बनेको, क्रान्तिकारी शक्ति कमजोर बन्न गएको र जनतामा ठूलो विभ्रम पैदा भएको स्थितिमा निर्वाचनमा यस प्रकारको परिणाम आउनुलाई हामीले बर्बादै भयो भनेर बुझ्नु हँदैन । यो त केवल उपयोग मात्र हो । यस सन्दर्भमा लेनिनका उक्त भनाइहरू हाम्रा लागि विशेष स्मरणीय तथा मननीय रहेका छन् ।

३– आगामी कामको योजना

पार्टीको गत राष्ट्रिय सम्मेलनमा पारित दस्तावेजहरूलाई आधार बनाई तथा नयाँ जनवादी क्रान्तिको तयारीलाई केन्द्रविन्दुमा राखी आगामी कामका दीर्घकालीन तथा तात्कालीन योजना बनाउनु पर्दछ र तिनलाई चरणबद्ध रूपमा संपन्न गर्दै अगाडि बढ्नु पर्दछ । तदनुसार आगामी कामको तात्कालीन योजना यस प्रकार रहेको छ ः

(क) सैद्धान्तिक तथा राजनीतिक काम
-माक्र्सवाद–लेनिनवाद–माओवाद, साम्यवाद, समाजवाद तथा नयाँ जनवादको पक्षमा र वर्तमान पश्चागामी राज्यसत्ता, साम्राज्यवाद, विस्तारवाद तथा दक्षिणपंथी संशोधनवादको विरोधमा प्रचारात्मक तथा आन्दोलनात्मक कामलाई सङ्गठित गर्ने ।
– सम्ंमेलनमा पारित पार्टीका आम तथा विशिष्ट नीति, कार्यक्रम तथा कार्यदिशामा आधारित रही सङ्गठन तथा सङ्घर्षका कार्यलाई विकसित गर्दै जाने ।
– पार्टीको मुखपत्रलाई नियामित तथा व्यवस्थित बनाउने ।
– बाह्य प्रकाशनका कामलाई नियमित तथा व्यवस्थित बनाउने ।
– पार्टी प्रशिक्षण र स्कुलका कामलाई सङ्गठित तथा व्यवस्थित तुल्याउने ।
– आवश्यकता अनुसार केन्द्रीय समितिको कार्यशाला संचालन गर्ने ।

(ख) साङ्गठनिक काम

यो वेला हामीले साङ्गठनिक कामलाई विशेष महत्व दिनु पर्दछ । सङ्गठनको अभावमा पार्टीका कुनै पनि काम अगाडि बढ्न सक्तैनन् । तसर्थ, हामीले विशेष जोड दिनु पर्ने अहिलेको प्रमुख काम हो– सङ्गठन, सङ्गठन र फेरि पनि सङ्गठन । हामीले सङ्गठनका कामलाई निम्नानुसार व्यवस्थित तुल्याउनु पर्दछः
क) साङ्गठनिक संरचना ः पार्टीको साङ्गठनिक संरचना केन्द्र, प्रदेश, जिल्ला, इलाका, स्थानीय तह र शेलका रूपमा निर्माण र सञ्चालन गर्नु पर्दछ । इलाका तहमा नगर र गाउँ पालिका, स्थानीय तहमा वार्ड तथा युनिटहरू र प्रारभिक समितिका रूपमा शेलहरू रहने छन् । आवश्यकता अनुसार विभिन्न तहमा विशेष समितिहरूको निर्माण गरिने छ ।
ख) इञ्चार्ज तथा सचिवको व्यवस्था ः प्रदेशदेखि एरिया तहसम्म सबै सङ्गठनहरूमा सचिवको साथमा इञ्चार्जको पनि व्यवस्था गर्नु पर्दछ । समितिहरूमा सङ्गठनको कार्यकारी भूमिका सचिवको र अभिभावकत्वको भूमिका इञ्चार्जहरूको हुनेछ । इञ्चार्जले केवल बैठकमा रहने मात्र होइन प्रत्यक्ष रूपमा सम्बन्धित तहको सङ्गठनलाई अगाडि बढाउन संरक्षक र सङ्गठकको भूमिका समेत निर्वाह गर्नु पर्दछ ।
ग) विभागहरूको गठन÷पुनर्गठन ः अन्तर्राष्ट्रिय, स्कुल, प्राकृतिक स्रोत तथा साधन, अर्थ लगायतका विभागहरूको गठन पुर्नगठन गर्नु पर्दछ ।
घ) जुझारु मोर्चाको गठन ः जुझारु मोर्चाको केन्द्र तथा प्रदेश तहमा आयोग र विभिन्न तहमा टिमहरूको निर्माण, प्रशिक्षण तथा परिचालनको व्यवस्था मिलाइने छ ।
ङ) संयुक्त मोर्चाको गठन÷पुर्नगठन ः संयुक्त मोर्चाको केन्द्रदेखि तलसम्म गठन÷पुनर्गठन, विस्तार र परिचालन गरिने छ ।
च) जवस, मोर्चा तथा फ्र्याक्सनबारे ः जवस मोर्चाहरूको गठन÷पुर्नगठन, विस्तार र फ्र्याक्सन व्यवस्था सम्बन्धी कामलाई अगाडि बढाउनु पर्दछ ।

(ग) जनपरिचालन तथा सङ्घर्ष सम्बन्धी काम ः

सङ्गठन र सङ्घर्षका बीच घनिष्ट सम्बन्ध हुन्छ । सङ्गठन बिना सङ्घर्ष हुँदैन र सङ्घर्ष विना सङ्गठन हुँदैन । अहिले सङ्गठनका कामलाई प्राथमिकता दिँदै सङ्घर्ष र जनपरिचालनका कामलाई पनि अगाडि बढाउनु पर्दछ ।

(घ) आर्थिक क्षेत्रमा काम ः

आर्थिक समस्या अहिलेको एउटा प्रमुख समस्या हो । कार्यालय सञ्चालन, प्रकाशन, साङ्गठनिक व्यवस्थापन लगायतका कामहरूमा गंभीर समस्या पैदा भएका छन् । यी समस्यालाई राम्रोसित आत्मसात् गरी समाधान गर्नेबारे ठोस व्यावहारिक र उपयुक्त निर्णय लिन जरुरी छ । यस सन्दर्भमा सर्वप्रथम केन्द्रीय सदस्यकै लेवीलाई बढाउनु तथा नियमित बनाउनु पर्दछ । दोस्रो, तलसम्म लेवी तथा कोटा प्रणालीलाई व्यवस्थित बनाउनु पर्दछ । तेस्रो, आर्थिक उत्पादनको काममा विशेष जोड दिनु पर्दछ । तत्काल केन्द्र, प्रदेश र जिल्लाहरूमा कम्तीमा पनि एउटा योजना बनाई कार्यान्वयनमा जानु पर्दछ ।

(ङ) एकीकरण तथा ध्रुवीकरण सम्बन्धी काम ः

पार्टीको एकीकरण तथा ध्रुवीकरणको काममा तत्काल विशेष पहलकदमी लिई अगाडि बढ्नु पर्दछ ।

(च) कार्यगत एकताबारे ः

सङ्घर्षका एजेन्डाहरू अर्थात् विषयवस्तुमा समान धारणा राख्ने राजनीतिक शक्तिहरूसित कार्यगत एकता गरी सङ्घर्ष संचालन गर्नु पर्दछ ।
सङ्गठन र जनपरिचालनका कामलाई व्यवस्थित तुल्याउनका लागि केन्द्रित तथा घनीभूत रूपमा तीन महिने अभियान चलाउनु पर्दछ । त्यसै क्रममा पार्टी, संयुक्त मोर्चा, जवस मोर्चाका इलाका, जिल्ला र प्रदेश तहमा सम्मेलनहरू गर्नु पर्दछ । त्यसपश्चात् संयुक्त मोर्चा, जवस मोर्चाहरूका केन्द्रीय स्तरका भेला वा सम्मेलनहरूको आयोजना गर्नु पर्दछ । अन्ततः हामी सङ्गठन र सङ्घर्ष दुवै क्षेत्रमा क्रमभङ्ग गर्दै अगाडि बढ्नु पर्दछ ।