चुनाव, सुधार, स्थायित्व र समृद्धिबारे एक टिप्पणी

प्रकाशित मिति : २०७४ पुस २२

- चन्द्रहरि सुवेदी

केही समय अगाडिसम्म नेकपा (माके)लाई एमाले बन्दै छ भन्दा ठूलो गाली हुन्थ्यो । अहिले त्यो यर्थाथमा बदलिएको छ । कुनै समय पुष्पकमल दहाललाई संसदवादी भन्दा ठूलो गाली हुन्थ्यो अहिले त्यसलाई तेरो मुखमा ‘दूध र भात’ जस्तै भएको छ । यसपालिको निर्वाचनमा कथित वाम गठबन्धनले सुधार, स्थायीत्व र समृद्धिको नारा लगाएर विजय प्राप्त ग¥यो । यो गठबन्धन नगरिएको भए कथित वामको हालत के हुन्थ्यो भन्ने कुरा २०%मतदाता बढ्दा नेकपा (माके)ले समानुपातिकमा २ लाख भोट घट्यो भनेर समीक्षा गरेको घटनाबाटै उत्तर प्रष्ट हुन्छ । यो पटक (क्रान्तिकारी माओवादी)ले संसदीय व्यवस्थाको भण्डाफोर सहित निर्वाचनको उपयोग गर्दा जित्ने आश नगरेको भएपनि अपेक्षित मत आएन ।

नेपालको इतिहासमा २०७४को निर्वाचन एउटा मोड हो । हरेक मोडमा जनताले एकपटक हेरौं न त भन्ने गर्छन् । २०४८ सालको तुलना गर्दा नयाँ जनवादी क्रान्तिको तयारी र संसदीय व्यवस्थाको भण्डाफोर गर्दा तात्कालिक संयुक्त जनमोर्चाले संसदमा समेत भण्डाफोर गर्ने गरी केही प्रतिनिधि पठाउन सफल भएको थियो । त्यतिखेर नयाँ जनवाद (पूर्ण प्रजातन्त्र)को लक्ष्य लिएर संसदको भण्डाफोर गरे पनि पञ्चायतको विरोधमा संयुक्त राष्ट्रिय जनआन्दोलनको नाममा सङ्घर्ष गरेको र आन्दोलनकारीको एउटा हिस्सा भएकोले केही सफलता मिले पनि अहिले परिस्थिति विल्कुल भिन्न रह्यो । नयाँ जनवाद, दश वर्षको जनयुद्धको नेतृत्व गरेको मुख्य नेतृत्व प्रचण्डको गद्दारी, पश्चगामी संविधान र प्रतिक्रियावादी राज्य व्यवस्थाको पूर्ण विरोधमा उभिएको (क्रान्तिकारी माओवादी)लाई जनताले खासगरी कम्यनिस्ट समर्थक जनताले रणनीतिक मित्र माने पनि पश्चगामी संविधान लागू गर्न गरिएको यो निर्वाचनमा एकपटक हेरौँ न त भन्ने आशयले जनताले अपेक्षित मत दिएनन् । संसदीय व्यवस्था नेपालमा नाङ्गीसकेको व्यवस्था हो । यसको विरोधमा दश वर्षको जनयुद्ध १९ दिने जनआन्दोलन सत्र हजारको वलिदान र जनताको उच्च चेतनाको माझ फेरि त्यही संसदीय व्यवस्थालाई सुधार सहित नेपाली जनतामा लादिएको छ । यो परिवर्तनकारी र क्रान्तिकारी जनता र पार्टीको लागि गम्भीर चुनौती र महान् संभावना हो । एकातिर काङ्ग्रेसले यिनीहरू कम्युनिस्ट अधिनायकवादी हुन् भनेर आरोप लगाइरह्यो भने । गठबन्धनवालाले हामी कम्युनिस्ट होइनौँ लोकतन्त्रवादी हौँ । लोकतन्त्रमा कोही भन्दा कम छैनौँ भनेर जवाफ दिइरहे । एमालेबारे त खासै भ्रम थिएन क्रान्तिकारी जनता र पार्टीहरूमा धेरै पहिले नै मनमोहनले अमेरिकाको ‘न्युजवीक’लाई अन्तर्वार्ता दिएर ‘नेपालमा हामी कम्युनिस्ट भन्छौ बाहिर सामाजिक प्रजातन्त्रवादी हौँ’ भनेर भनिसकेका थिए । अमेरिकी राजदूत आउँदा पार्टी कार्यलयमा माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओको फोटो लुकाइसकेका छन् । (माके)ले हामी क्रान्तिकारी हौँ भन्थे एमालेसम्म पार्टी एकता गरि सकेपछि अब क्रान्तिकारी भ्रम दिन नसक्ने भयो । यो वेग्ला वेग्लै र पटक पटक सुधारवाद, संसदवाद र नवसंशोधन वादसँग लड्नु जरुरी परेन ।

(माके)लाई प्रतिक्रियावादी भन्दा धेरैलाई पच्दैनथ्यो । अहिले त माकेकै नेता प्रचण्डले एमाले फोहोरको डंगुर हो यसलाई आगो लगाएर नडढाएसम्म नेपाली क्रान्ति अगडि बढ्दैन भनेर लेखेको प्रचण्डका विचार भाग १ मा जस्ताको तस्तै छ । त्यसैले पनि कुनै प्रमाण जुटाइ रहनु पर्दैन एमाले, माके गठबन्धन र पार्टी एकता प्रतिक्रियावादी गठबन्धन र प्रतिक्रियावादी पार्टी हुन् भनेर । पश्चागामी संविधान, प्रतिक्रियावादी राज्य व्यवस्थामा जाने प्रतिक्रियावादीहरूले अव क्रान्तिकारी र परिर्वातनकारीहरूलाई कुनै भ्रम दिन सक्ने छैनन् । समयको कुरा मात्र हो । यस हिसावले नेपाली क्रान्तिको महान् संभावनाको क्षितिज पनि उघ्रिदै छ । अब एउटै मट्याङ्ग्राले दुवै चरा मर्ने छन् । मालेमाको आलोकमा भण्डाफोरलाई तीव्रता प्रदान गर्नु क्रान्तिकारीहरूको मुख्य काम हुनु पर्दछ ।

सुधारवाद कम्युनिस्ट आन्दोलनको डरलाग्दो समस्या हो । जनताको जीवनस्तरमा आमूल परिवर्तन नभएसम्म कुनै परिर्वतन हुँदैन । सुधारवाद विष मिसाएको लड्डु हो । नेपाली जनताको गरिवी वेरोजगारी विदेश पलायनताको कारण एउटा भयावह परिस्थिति खडा भएको छ । त्यसबाट छुटकारा पाउन नेपाली जनताले पटक पटक विभिन्न पार्टीहरूलाई परीक्षण गरे । कुनै पार्टीलाई वहुमत दिएर हुन्छ कि भनेर नेपाली काङ्ग्रेसलाई २०१५, ०४८ र ०५२ मा तीन पटक वहुमत दिए । एमालेलाई ०५१मा ठूलो पार्टी बनाए । हामीलाई एक पटक हेर न त भनेर (माओवादी) पार्टीले भन्दा ०६४मा पनि प्रत्यक्षतर्फ (माओवादी)लाई वहुमत दिएर पनि हेरे । प्रतिक्रियावादी राज्य मेशिनरी नफेरी आमुल परिर्वतन नगरी पुरानै प्रतिक्रियावादी राज्य मेशीनरी भित्र जो गए पनि त्यही मेशीनअनुसार आफै वदलिनु पर्ने हुन्थ्यो र भयो त्यही । (माके)को अहिलेको परिवर्तन त्यसैको परिणाम हो । ईट्टा बनाउने साँचोमा जुनसुकै रङ्गको माटो हाले पनि ईट्टा नै बन्छ । गमला बनाउन साँचो फेर्नु पर्छ । जनताको जीवनस्तर फेर्न पनि त्यस्तै प्रतिक्रियावादी राज्य मेशिनरी फेरेर नयाँ जनवादी राज्य मेशिनरी फिट गर्नु पर्दछ । जहाँसम्म स्थायीत्व र समृद्धिको कुरा छ, नेपालमा वहुमत नआएर स्थायीत्व नभएको होइन । ०१५ सालमा दुई तिहाई वहुमत काङ्ग्रेस एक्लैको आएको थियो दुई वर्ष नटिक्दै ध्वस्त भयो र पञ्चायतले खाइदियो । २०४८ सालको वहुमत र २०५६ सालको वहुमत साम्राज्यवाद र विस्तरवाद नेपाली काङ्ग्रेस भित्रै घुसेर फूटाएर ध्वस्त बनाइदियो । साम्राज्यवाद र विस्तारवादले सत्तालाई किनवेच, ६–६ महीनामा फेर्न सक्ने भएनन् भने उनीहरूले मरिचमान, मदन भण्डारी र वीरेन्द्रको वंशनाश जस्तो अप्रिय बाटो अपनाउँछन् । आफू भन्दा ठूलो आएपछि कसैको केही लाग्दैन । तपाइँ हाम्रो अगाडि एक्कासी वाघ आयो भने लौ खा भन्नु वाहेक केही उपाए रहन्न । माओले भनेझैँ साम्राज्यवाद कार्यनीतिक रुपमा साँच्चैको वाघ हो । रणनीतिक रुपमा कागजी वाघ हो । नेपाली जनताको एकतामा अर्थात् किसान र मजदुरको एकतामा सर्वहारा वर्गको नेतृत्वमा साम्राज्यवाद, विस्तारवाद मुक्त नयाँ जनवादी नेपाल नबनेसम्म सुख, स्थायीत्व र समृद्ध नेपाल हुने भए हाम्रा बाबु बाजेले उहिल्यै गरिसक्थे । तपाई हाम्रो हातमा यो काम आइ नै पुग्दैनथ्यो ।

अर्को कुरा समृद्धिको कुरा छ, के कम्युनिस्टहरूले समृद्धिको मात्रै नारा लगाउने हो ? विश्वको एक सय पन्ध्र नम्बरको समृद्ध विनोद चौधरी हाम्रै नेपालमा छन् । मुख्य शहरका केही प्रतिशत मानिस अहिले पनि युरोपियन जीवन शैलीमा बाँचिरहेका छन् भने गरीव जिल्ला वाजुराका जनता ७१.५% मानिस गरिवीको रेखामुनि छन् । सबैभन्दा गरीव गा.पा.कैलालीको मोहन्याल गाउँ पालिकामा ८१.५% मानिस गरिवीको रेखामुनि छन् । ओली, प्रचण्ड र देउवालाई किन चाहियो समृद्ध ? उनीहरू यसै पनि समृद्ध छन् । के एउटा कम्यनिस्ट भन्नेले समृद्धिको मात्र नारा लाउन मिल्छ ? समानता चाँहिदैन ? समृद्धिको नारा मात्र लाउन कम्युनिस्ट पार्टी भनि रहनु पर्दैन । एउटै काङ्ग्रेस काफी छ । समृद्ध अमेरिकाको नारा लाउने पार्टी जहाँ धनीहरूले नखाएको मुला र गाजरको टाउको कण्टेनरबाट उठाएर खाने मानिस पनि छन् र विल गेट्स जस्ता संसारका धनी मानिस पनि । तपाई हाम्रो घर अगाडि ६ लेनको बाटो आए पनि के भयो ? ‘काम सक्यो पैसा सक्यो हाम्रो खल्ती रितै, सामन्तका मोटरले चढाउँदैनन् सितै’ भनेझैँ गरीबले त त्यहाँ पनि हिडनु पर्ने त खालिखुट्टा नै त हो ।

नेपाली जनता महान् राष्ट्रवादी छन् । विस्तारवादका थींक ट्याङ्क भारतीय एस.डी. मुनी र राकेश सुदले ठीकै समीक्षा गरेछन् ‘नेपालमा साम्यवादले जितेको होइन राष्ट्रवादले जितेको हो’ भनेर । अहिले नेपाली जनतालाई भित्रभित्र एउटा सपना वाँडिएको छ । भारतीय एकाधिकार तोडिदै छ, चीनसँग ब्यापार र पारबहन गरिँदै छ भनेर । नेपालको वार्षिक व्यापार घाटा ७ खरब छ । त्यो व्यापार घाटा भारतबाट सरेर चीनतर्फ गए पनि नेपालीलाई के फरक पर्छ । नेपाललाई त दुवै देशहरूसँग सन्तुलन राखेर व्यापार घाटा समाप्त पार्ने राष्ट्रवादी नेता चाहिएको छ । दुवै साम्राज्यलाई ज्वाई बनाएर नेपालको समृद्धि प्राप्त गर्ने राजा जनक र अंशु वर्मा जस्ता राष्ट्रवादी पार्टी र राजनेता चाहिएको छ । त्यसको लागि साम्राज्यवाद–विस्तारवाद–दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवादका जरा काटेर साम्राज्यवाद–सामान्तवाद मुक्त नेपाल, त्यो बाहेक नेपाली जनताले चुनावमार्फत् पाँच–पाँच वर्षमा शोषक वर्गका जुनसुकै प्रतिनिधिलाई छानेर शासन सत्तामा पु¥याए पनि आफैलाई शोषक वर्गका प्रतिनिधि वाहेक अरु केही पाउने छैनन् । नेपाली जनताप्रति सम्मान गर्दै लुसुनले भनेझैँ वुढो गोरुझैँ लुरुलुरु नेपाली जनताको हकहितको लागि नेपाल कम्यनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले जोतिइ रहने छ । साम्राज्यवाद–विस्तारवाद र घरेलु प्रतिक्रियावादको विरुद्ध बहर गोरुझैँ ह्वाक्का गरि रहने छ ।