कम्युनिष्ट पार्टीलाई अजयशक्ति कसरी बनाउन सकिन्छ ?

प्रकाशित मिति : २०७४ पुस २१

- रामसिंह श्रीस

‘हामीले कुन कुरालाई नियमको रूपमा लिन सक्छौँ भने जबसम्म बोल्सेभिकहरूले जनताका व्यापक समुदायहरूसित सम्बन्ध कायम राख्छन्, तबसम्म उनीहरू अजय हुनेछन् ।’ क. स्टालिन

हामीले पार्टी सङ्गठनको कुरा गर्दा लेनिनवादी सङ्गठनको कुरा निकै जोडतोडका साथ गर्दछौँ । जनवादी केन्द्रीयता, पार्टी सदस्यता दिने, पार्टी कमिटी निर्माण गर्ने, कमिटी परिचालन आदि विषयमा प्रायः छलफल गरिरहेका हुन्छौँ । तर पार्टी र जनताबीचको सम्बन्ध कस्तो हुनुपर्दछ भन्ने विषयमा धेरै कुरा गर्दैनौँ गरे पनि कम गर्दछौँ । यस लेखमा पार्टी र जनताको बीचमा कस्तो सम्बन्ध हुनुपर्दछ अर्थात् पार्टीले जनतासँग सम्बन्ध राख्न किन जरुरी पर्दछ भन्ने विषयमा प्रकाश पार्ने प्रयास गरिन्छ ।
ऐतिहासिक भौतिकवादले इतिहासको निर्माता जनता हुन् भन्दछ । यसको अर्थ व्यक्ति अथवा नेताको भूमिकालाई पूरै अस्वीकार गर्दछ भन्ने होइन । ऐतिहासिक भौतिकवादले व्यक्ति तथा नेताको महत्वपूर्ण भूमिका हुन्छ भन्ने कुरा स्वीकार गर्दछ तर परिवर्तन र क्रान्तिको लागि जनताको भूमिका नै प्रधान पक्ष हो भन्ने कुरा मान्दछ । पार्टीको राजनीतिक लाइन जति सही भए पनि उसको सङ्गठन जति अनुशासित र मिलिट्यान्ट भए पनि त्यो पार्टीलाई आम शोषित पीडित जनताको ठूलो हिस्साले समर्थन गरेन भने क्रान्ति सफल हुन सक्दैन ।
सोभियत सङ्घको कम्युनिष्ट पार्टी (बोल्सेविक)को इतिहासमा भनिएको छ, ‘पार्टी जतिसुकै राम्रो अगुवा भए पनि र यो जतिसुकै सङ्गठित भए पनि, गैरपार्टी जनतासित सम्बन्ध कायम नगरिकन र सो सम्बन्धलाई नबढाइकन र बलियो नपारिकन यो जीवित रहन र विकिसित हुन सक्दैन । जुन पार्टीले आपूmलाई आफ्नै घेराभित्र बन्द राख्दछ, आफ्नो वर्गसितको सम्बन्धलाई गुमाउँछ वा खुकुलो पार्छ, त्यसले स्वभावतः जनताको.. गुमाउने छ र त्यसको नारा अवश्यंमय हुनेछ । राम्ररी बाँच्ने र विकास गर्ने हो भने पार्टीले जनसाधारणसितको आफ्नो सम्बन्धलाई बढाउनु पर्दछ र आफ्नो वर्गका लाखौँलाख सदस्यहरूको विश्वास प्राप्त गर्नु पर्दछ ।’ पृ.४३
यसबाट के प्रष्ट हुन्छ भने पार्टीलाई जीवित राख्न विकास गर्न र क्रान्ति सम्पन्न गर्नका लागि आम शोषित पीडित जनताको समर्थन पार्टीले प्राप्त गर्नै पर्दछ । यसको लागि पार्टीले के के गर्दा आम शोषित पीडित जनतासँग आफ्नो सम्बन्ध बढ्छ, सम्बन्ध सुदृढ र बलियो हुन्छ त्यसको हरसम्भव उपायहरू खोज्नै पर्दछ । त्यसो गर्न सकिएन भने पार्टी जतिसुकै सङ्गठित भए पनि त्यसले क्रान्ति गर्न सक्दैन किनभने अन्ततः जनताको सहयोग र सहभागिता बिना क्रान्ति सफल हुन सक्दैन ।
लेनिनवादी सङ्गठनात्मक सिद्धान्तले जनतासँग सम्बन्ध बनाउने कुरालाई सङ्गठन निर्माणको नियमभित्र नै राख्नुभएको छ । स्थानीय पार्टी सङ्गठनहरूको व्यापक जाल र लाखौँ श्रमिक जनताको सहानुभूति र समर्थन पाएका पार्टी सदस्यहरूको ठूलो सङ्ख्या हुन आवश्यक छ भन्ने कुरालाई लेनिनले पार्टीको ढाँचा र बनौटअन्तर्गत राख्नुभएको छ । ‘सामाजिक जनवादी पार्टी बन्नका लागि हामीले वर्गकै समर्थन प्राप्त गर्नु पर्दछ ।’ भन्ने लेनिनको भनाइलाई सोभियत सङ्घको कम्युनिष्ट पार्टी (बोल्सेभिक)ले व्यवहारमा उतार्न विशेष जोड दियो । बोल्सेभिक पार्टीको विकास हुनु र क्रान्ति गर्न सफल हुनुमा क्रान्तिका अन्य शर्तहरूको साथै यो शर्तलाई बोल्सेभिक पार्टीले पूरा गरेको थियो ।
जनतासँग पार्टीको सम्बन्धलाई कसरी बलियो र विस्तार गर्ने ? यसको लागि पार्टीले के–के गर्नु पर्दछ ? यस सम्बन्धमा पार्टीमा प्रष्टता हुनु पर्दछ । पहिलो कुरा, पार्टीले जनताको बीचमा स्थानीय सङ्गठनको जाल फैलाउनु पर्दछ । हरेक कारखाना, विद्यालय, गाउँ टोलहरूमा पार्टीको कमिटीहरू हुनु पर्दछ । अहिले हामीले यस प्रकारको स्थानीय सङ्गठनको जालो बनाउन सकिरहेका छैनौँ । त्यस कारण हाम्रो पहिलो ध्यान यस विषयमा जानु पर्दछ ।
दोस्रो कुरा, स्थानीय सङ्गठनहरूले राष्ट्रियता र जनजीविकाका राष्ट्रिय मागहरूको साथै स्थानीय जनताका स्थानीय समस्याहरूलाई पनि उठाएर आन्दोलन गर्न पहलकदमी लिनु पर्दछ । जनता खास गरेर शोषित उत्पीडित वर्ग र समुदायको समस्याहरू हल गर्न स्थानीय पार्टीले विशेष ध्यान दिनु पर्दछ । आम शोषित पीडित जनताको समस्यालाई हल गर्न स्थानीय पार्टीहरू अग्रिम पङ्क्तिमा उभिएर मात्र पार्टीले जनताको समर्थन र सहानुभूति लिन सक्छ ।
तेस्रो, जनताको समर्थनलाई भरपर्दाे र बलियो बनाउनका लागि उनीहरूलाई सङ्गठित गर्न आवश्यक हुन्छ । जनताको समर्थनलाई सङ्गठनमा रूपान्तरण गर्न सकिएन भने त्यो समर्थन बलियो र दिगो हुन सक्दैन । त्यसकारण हामीले पार्टी सङ्गठनको साथसाथै मोर्चा र जनवर्गीय सङ्गठनहरूको निर्माण र विस्तारमा विशेष जोड दिनु पर्दछ । जनवर्गीय सङ्गठनको विस्तृत रूपमा विस्तार गर्न सकिएपछि मात्र पार्टीलाई आम शोषितपीडित जनताको समर्थन र सहयोगलाई सङ्गठित रूपमा विश्वासिलो बनाउन सकिनेछ ।
गैरपार्टी जनताको सहयोग र समर्थन जुटाउन पार्टी सदस्यहरूका आचरण र व्यवहारले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । जब पार्टी सदस्यहरूको आचरण र व्यवहार आम शोषित पीडित जनताको पक्षमा हुन्छ र शोषण र दमनको विरुद्धमा हुन्छ हरेक अन्याय र अत्याचारको विरुद्धमा हुन्छ । नितान्त व्यक्तिगत र पारिवारिक स्वार्थभन्दा माथि शोषित पीडित जनताको पक्षमा हुन्छ, त्यसबेला आम श्रमिक जनताले त्यस्तो पार्टी सदस्यलाई आफ्नो अभिभावक, नेता ठान्दछन् र उसको पछि लाग्छन् । उसको पछि लाग्ने भनेको पार्टीको वरिपरि गोलबन्द हुने हो । यदि पार्टी सदस्यको आचरण व्यवहार आम श्रमिक जनताको पक्षमा छैन, उसको बोली र व्यवहारमा तारतम्य छैन, जनताको हितमा भन्दा आफ्नो व्यक्तिगत हित र पारिवारिक हितलाई अगाडि राख्छ भने त्यस्ता व्यक्तिहरूको व्यवहारले गर्दा जनता पार्टीहरूको नजिक पर्न चाहँदैनन् । त्यसकारण पार्टी सदस्यहरूको आचरण र व्यवहार आम श्रमिक जनताको पक्षमा, शोषण दमन र उत्पीडनको विरुद्धमा हुनुपर्दछ र मात्र पार्टीले जनताको व्यापक जनसमुदायसँग सम्बन्ध कायम राख्न सक्छ । त्यसकारण पार्टी सदस्यहरूले यो कुरालाई गम्भीरतापूर्वक लिनुपर्दछ ।
पार्टी अजय शक्ति बन्नका लागि स्टालिनले भनेझैँ पार्टीले जनताका व्यापक समुदायसित सम्बन्ध कायम राख्न निरन्तर प्रयत्न गर्नु पर्दछ । र, यो कुरालाई एउटा नियमकै रूपमा लिनुपर्दछ ।