क्रान्तिका लागि अन्ततः बलप्रयोगको भूमिका अनिवार्य नै हुन्छ

प्रकाशित मिति : २०७४ पुस २१

- मोहन वैद्य‘किरण’, महासचिव - नेकपा (क्रान्तिकारी माओवादी)

(नेकपा (क्रान्तिकारी माओवादी) र यसका नेतृत्व मोहन वैद्य‘किरण’तर्फ देशभित्र र बाहिरका सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुको ध्यान केन्द्रित भएको छ । रणनीतिक प्रत्याक्रमणको चरणमा पुगेको दशवर्ष लामो जनयुद्धले तत्कालीन पार्टी नेतृत्वमा आएको विचलन, धोका र गद्दारीका कारण सेटब्याक खाएपछि अबरुद्ध बनेको नेपाली नयाँ जनवादी क्रान्तिलाई अगाडि बढाउने तयारी गरिरहेको क्रान्तिकारी माओवादीप्रति आमूल परिवर्तनका पक्षधर जनताले आशाको नजरले हेरिरहेका छन् । नयाँ जनवादी क्रान्तिका विविध विषयमा केन्द्रित रहेर ‘वर्गबोध’ म्यागेजिनले केही समय अघि महासचिव किरणसँग लिएको अन्तर्वार्ता सामयिक रहेकाले यहाँ प्रस्तुत गरिएको छ ।– स.)

नेपाली कम्युनिस्ट आन्दोलनमा क. पुष्पलालपछि सादा र सिद्धान्तनिष्ठ व्यक्तिको पङ्क्तिमा तपाइँको नाउँ आउँछ । आफ्नो जीवनकालमा पुष्पलाल घेराबन्दीमा परेझैं तपाई पनि पर्नु भएको छ । क. पुष्पलालले तोड्न नसकेको घेराबन्दी तपाईंले कसरी तोड्नु हुन्छ ?
म कसैको घेराबन्दीमा परेको छैन, पर्दिनँ र कसैले पार्न खोजे पनि त्यसलाई तोड्न सक्छु । घेराबन्दी तोड्न विचार, साहस र सतर्कताको आवश्यकता पर्दछ । ती कुराबारे म गम्भीर छु । 

तपाईंले कम्युनिस्ट आन्दोलनमा ५०÷५५ वर्ष बिताउनु भयो । पार्टी अन्तरसंघर्षका बीचबाट पार्टीको मुख्य नेतृत्वमा पनि पुग्नुभयो । पार्टीलाई सधैं सैद्धान्तिक तथा वैचारिक नेतृत्व गर्नुभयो । स्वेच्छाले नेतृत्व हस्तान्तरण पनि गर्नु भयो । सयौं कमरेडप्रति आशा विश्वास पनि गर्नु भयो । तर अहिले ती साथीहरु तपाईंका बाटोमा छैनन्, कस्तो अनुभूति गर्नु भएको छ ?

यहाँले निकै मार्मिक प्रश्न गर्नु भयो । मैले पार्टी जीवनमा विश्वास र भरोसा गरेका कैयौं कमरेडहरु थिए र ती अझै पनि छन् । ती मध्ये कैयौं विचलित भए र केही ठीकै ठाउँमा छन् । विचलित भएका पात्रहरुलाई हेर्दा मलाई दुई ओटा कुराको अनुभूति हुन्छ । पहिलो, कसैप्रति विश्वास र भरोसा गर्दा अलिकति शंका पनि गर्नु पर्दछ । माक्र्सले पनि यस्तै भन्नुभएको थियो । त्यो सही हो, विश्वास र शंकाका विच द्वन्द्वात्मक सम्बन्ध हुन्छ । विश्वास नभए शंका हुन्न र शंका नभए विश्वास हुन्न । यसको अन्तिम हल व्यवहारबाटै हुन्छ । वस्तुतः यो हुँदै पनि आएको छ । तर मैले कतिपय पात्रहरुलाई चाहिने भन्दा बढी विश्वास गरें जस्तो लाग्छ । दोस्रो, हरेक चिज जस्तै मान्छे पनि बदलिने गर्दछ । कुनै कालविशेषमा असल मान्छे अर्को कालविशेषमा खराबमा बदलिन्छ । त्यस्तै खराव पनि असलमा बदलिन सक्तछ । यसरी हेर्दा मान्छेलाई स्थिरतामा होइन गतिमा बुझ्नु पर्दछ । मैले जुन पात्रहरुलाई एउटा काल विशेषमा असल ठानेको थिएँ, ती अर्को कालविशेषमा बदलिए । यो कुरा द्वन्द्ववादकै नियमभित्र पर्दछ । यसरी समग्रमा हेर्दा हामीले चित्त दुखाएर होइन द्वन्द्ववादलाई बुझेर अगडि बढ्नु पर्दोरहेछ भन्ने लाग्दछ ।

दसवर्ष जनयुद्धमा लागेका साथीहरुको सिमिततामा अब कार्यदिशा कार्यान्वयन गर्न कत्तिको सहज वा असहज महसुस गर्नु भएको छ ?

पार्टीको कार्यदिशा कार्यान्वयनको प्रश्न जनयुद्धमा लागेका मान्छे सिमित हुँदै गए भनेर मात्र हुँदैन । किनभने जनयुद्धमा लागेका कैयौं मान्छे विचलित भइसके, कैयौं मान्छे प्रतिक्रियावादी कित्तामा गइसके । तरपनि जनयुद्धमा लागेका कैयौं क्रान्तिकारी र इमान्दार कमरेडहरु हामीसित हुनु हुन्छ । तर त्यतिले मात्र क्रान्तिलाई पुग्दैन । नेपाली कम्युनिस्ट आन्दोलन र नयाँ जनवादी क्रान्तिमा रगत पसिना बगाएका अनेकौं त्यागी र कर्मठ कमरेडहरु पनि हामीसित हुनुहुन्छ । जनयुद्ध महान् ऐतिहासिक अभियान हो । त्यस अभियानमा संलग्न र त्यसलाई सकारात्मक अर्थमा ग्रहण गर्ने कमरेडहरुको विशाल हिस्सा हामीसित छ । त्यसैले हामी चिन्तित हुनुहुँदैन ।

हालै सम्पन्न ने.क.पा. (क्रान्तिकारी माओवादी) को प्रथम राष्ट्रिय सम्मेलन भव्यतापूर्वक सम्पन्न भएको छ । पार्टीको कार्यदिशालाई कसरी अगाडि बढाउनु हुन्छ ?

 हो, यहाँले भन्नु भएजस्तै पहिलो राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न भयो र यसको आफ्नै ऐतिहासिक महत्व रहेको छ । जहाँसम्म पार्टीको कार्यदिशालाई अगाडि बढाउने अथवा भनौं कार्यान्वयन गर्ने प्रश्न हो, यसमा नेतृत्व पङ्क्ति गतिशील एवम् क्रियाशील बन्नुपर्ने हुन्छ । यस दिशामा पनि हामीले विशेष जोड दिनेछौं ।

पार्टीको भरखरै सम्पन्न राष्ट्रिय सम्मेलनमा प्रतिक्रियावादी चुनाव बहिस्कार र क्रान्तिकारी उपयोगको तात्कालिक कार्यनीतिबारे प्रशस्त बहस भएको सुनिन्छ । अन्ततः चुनावलाई क्रान्तिकारी उपयोग गर्ने क्रममा पार्टीलाई अग्रगमनको दिशामा लैजान कसरी सक्नुहुन्छ ?

 

माेहन वैद्य ‘किरण’

राष्ट्रिय सम्मेलनमा वर्तमान पश्चगामी संसदीय निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चाका उमेदवारहरुलाई सघाएर निर्वाचनको उपयोग गर्ने नीति लिइयो । संसदीय निर्वाचन राजनीतिक कार्यनीतिको प्रश्न हो । यसलाई पार्टीले निरपेक्ष उपयोग र निरपेक्ष बहिष्कार दुवै चिन्तनलाई गलत ठान्दै आएको छ । साथै, उपयोग र वहिष्कारको प्रश्न पुरानै ढंगले बुझ्नु पनि हुँदैन । परिस्थितिमा आएको परिवर्तन अनुसार उपयोग र वहिष्कार दुवै नीतिलाई परिमार्जित गर्दै लैजानु पर्दछ । प्रतिगामी राज्यसत्ता र संसदवादी राजनीतिक दलहरुद्वारा निर्वाचनमा सत्ताको दुरुपयोग र पैसाको खोलो बगाउने काम हुँदै आएको छ । अहिले त्यो चरम सिमामा पुगेको देखियो । थ्रेसहोल्डको व्यवस्थाले अब एकातिर संसदीय बहुदलीय व्यवस्था बहुदलीय रहेन र त्यो आफ्नै मान्यतावाट पछाडि हट्दै एकाधिकारी तथा फासिवादी बन्दैगयो भने अर्कोतिर पैसा र सत्ताको भर नपर्ने र इमान्दारीपूर्वक चुनावमा लाग्न वा उपयोग गर्न चाहनेहरुका लागि कुनै ठाउँ नरहेको कुरा पनि छर्लङ्ग हुन भएको छ । हामीले उक्त कुराको भण्डाफोर गर्ने, जनतामा जाने र जनाधार बलियो बनाउने उद्देश्य अनुसार चुनावको क्रान्तिकारी उपयोग गर्ने नीति लिएका थियौं । यसबाट अहिलेका लागि अग्रगमनतर्फ जान सापेक्ष रुपमा फाइदा नै पुगेको छ ।

दक्षिणपन्थी संशोधनवादी नै भए पनि कथित कम्युनिस्ट पार्टीहरुले समाजवादी क्रान्तिको नारा लगाइरहेका सन्दर्भमा ने.क.पा (क्रान्तिकारी माओवादी) ले नयाँ जनवादी क्रान्तिको कार्यभार कसरी पुरा गर्न सक्छ ?

 दक्षिणपन्थी संशोधनवादीहरुले जुन समाजवादको कुरा गरेका छन्, त्यो क्रान्तिकारी तथा वैज्ञानिक समाजवाद होइन । उनीहरुले भन्ने गरेको समाजवाद पश्चगामी र सुधारवादी समाजवाद हो । उनीहरुले जनतालई भ्रमित तुल्याउनका लागि समाजवादको नारा दिएका हुन् । उनीहरुले भन्ने गरेको समाजवाद एउटा साइनबोर्ड भन्दा बाहेक अरु केही होइन । नयाँ जनवादी क्रान्तिको कार्यभार एकातिर सबै खाले प्रतिक्रियावाद तथा संशोधनवादको विरोध एवम् भण्डाफोर गरेर र अर्कोतिर तयारीका काममा जनतालाई साथ लिदै दृढतापूर्वक अगाडि बढेर नै संवहन गर्न सकिन्छ ।

वामगठवन्धनका नाउँमा दक्षिणपन्थी संशोधनवादीहरु एकताबद्ध हुँदै गएका छन् । यस सन्दर्भमा प्रतिक्रियावादको सामना गर्न र क्रान्तिकारीहरुलाई अघि बढाउन को कससंग क्रान्तिकारी ध्रुवीकरण तथा एकीकरण गर्ने सोच बनाउनु भएको छ ?

 

अहिले कतिपय राजनीतिक दलहरुले वाम नाममा जुन गठबन्धन बनाएका छन् त्यो दक्षिणपन्थी संशोधनवादी गठबन्धन हो । अहिले वाम नामधारीहरुको पश्चगामी गठबन्धन बनाइएको छ र यो दक्षिणपन्थी संशोधनवादीहरुको एकीकरण हुने प्रक्रिया पनि हो । हामीले यस प्रकारको गठबन्धन नबन्दै क्रान्तिकारी कम्युनिस्टहरुको एकता र धुवीकारणवारे आफ्नो नीति स्पष्ट पार्दै आएका छौं । केही समय अगाडि हामीले एकीकरणका लागि आवश्यक सैद्धान्तिक तथा राजनीतिक मान्यता सार्वजनिक रुपमा प्रस्तुत गरेका थियौं । ती मान्यता मूलतः माक्र्सवाद– लेनिनवाद–माओवाद, नयाँ जनवाद, बलप्रयोगको सिद्धान्त तथा जनवादी केन्द्रीयतालाई स्वीकार गर्ने र प्रतिगामी राज्यसत्ता, संविधान तथा संसदीय व्यवस्थाको विरोध गर्नुका साथै यस प्रकारको सत्ता अन्तर्गत सरकारमा सम्मेलन नहुने भन्ने हुन् । सामान्यतया यी मान्यतालाई मानेर चल्ने शक्तिहरुसित एकताका लागि छलफल चलाउँदै जान्छौं । हामीले सामान्यतः दुई ओटा नेकपा र नेकपा (मशाल) लगायतका नजिकका शक्तिहरुसित अनौपचारिक कुराकानी चलाउँदै र मिल्न सकिने विषयमा कार्यगत एकता गर्दै अन्ततः पार्टी एकताका लागि प्रयास गर्ने भनेर सोचेका छौं ।

क्रान्तिको स्वरुपबारे केही बताइदिनु हुन्छ कि ?

अर्ध–सामन्ती, अर्ध–औपनिशिक र मुख्यत नव–औपनिवेशिक अवस्थामा रहेको नेपाल जस्तो मुलुकमा दलाल नोकरशाही पुँजीवाद, सामन्तवाद र साम्राज्यवाद तथा विस्तारवादका विरुद्ध गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति नै हो । यस प्रकारको क्रान्तिका लागि अन्ततः बलप्रयोगको भूमिका अनिवार्य नै हुन्छ । हामी संघर्षका सबै रुपहरुबारे खुल्ला छौं र व्यावहारिक जीवनमा प्रयोग र संघर्षका बिचबाट अगाडि बडेर नै बाँकी कुराहरु स्पष्ट तथा निर्धारित हुँदै जान्छन् ।