महिलाको पहुँच अनुसन्धान केन्द्रले क्रान्तिकारी माओवादीलाई बुझायो ज्ञापनपत्र

प्रकाशित मिति : २०७४ पुस २०

काठमाडौं । महिलाको पहुँच अनुसन्धान केन्द्र, नेपालले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’लाई पार्टी कार्यालय बुद्धनगरमा भेटी ज्ञापन पत्र बुझाएको छ । बिहीबार केन्द्रकी अध्यक्ष शिला योगीको नेतृत्वमा गएको एक टोलीले उक्त ज्ञापन पत्र बुझाएको हो ।
बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, “हात्तीको देखाउने दाँत र चपाउने दाँत फरक हुन्छ भने जस्तै आफूलाई ठूला र लोकतन्त्रका अनुभवी भन्ने पार्टीहरुको भरखरै सम्पन्न चुनावको उम्मेदवारीको प्रक्रिया र संख्याले स्पष्ट पारेको छ । संसदीय व्यवस्था भनेको यही हो– भन्छन् एउटा गर्छन् अर्को ।” केन्द्रले सबै राजनीतिक पार्टीलाई पार्टीको नेतृत्व तहमा तथा राज्य सञ्चालनका सबै निकायमा महिलाहरुलाई जनसंख्याको अनुपातमा प्रतिनिधित्व सुनिश्चित गराउन ध्यानाकर्षण गराउने उद्देश्यले ज्ञापन पत्र बुझाएको जनाएको छ ।