झर्रोटर्रो : समानुपातिके बल्छी

प्रकाशित मिति : २०७४ पुस २०

- कैलुब्राह

समानुपातिक भनेको सम र अनुपातको मिलन हो । सम भनेको बराबर र अनुपात भनेको तुलना हो । सम, अनुपात र इक मिलेर समानपातिक हुन्छ । संसदको भाषामा यसको संयोजन बेग्लै प्रकारले बनेको हुन्छ । सम भनेको लाउकेका अनुपात भनेको स्वास्नीहरू र इक भनेको झिक हुन्छ । लाउकेका स्वास्नीहरू झिक भन्नु नै समानुपातिक हो । यसोगर्दा लोग्ने स्वास्नी बराबर भन्ने हुन्छ । संसदीय दलका लाउके नेताहरू प्रत्यक्षमा जितेपछि तिनका स्वास्नी समानुपातिकमा पर्नै प¥यो । नत्र पार्टी चल्नै सक्दैन । समानुपातिक पदावलीको अक्षरस अर्थवोध हुने अर्को परिभाषा पनि छ । यो विशेषतः प्रभुहरूको इसारामा तयार भएको दोस्रो संविधानसभाबाट पास भइआएको हो । जसअनुसार संसदको भाषामा यसको संयोजन बेग्लै प्रकारले बनेको छ । समानुपातिकको अक्षरको क्रमानुसार छनोटको मापदण्ड र क्रमागत रोलनम्बर बनाइएको हुन्छ । जो यसप्रकार छ ।
 स = श्रीमतिहरू (पार्टीका लाउके नेताहरूका स्वास्नीहरू पहिलो नम्बरमा छनोट गर्ने ।)
 मा = माहाजनहरू (पार्टीलाई सहयोग गर्ने, लाउकेका गोजी भर्ने । अर्थात् चन्दादाता दोस्रो नम्बरमा छनोट गर्ने ।)
 नु = नुनको सोझो गर्ने (लाउके नेताहरूको चाकडी गर्नेहरू तेस्रो नम्बरमा छनोट गर्ने ।)
 पा = पारिवारिक सम्बन्धभित्रका । (यसमा लाउकेहरूका छोरीबुहारी, सालासाली, भाइभतिजा आदि पर्दछन्, यिनलाई छनोट गर्दा चौथो नम्बरमा पारिन्छ ।
 ति = तिगडमबाज (छलछाम, खुराफात, ध्रुत्याइँ गर्नमा खप्पिस भएको र यस्तो कार्यमा लाउकेहरूलाई साथ दिनसक्ने खुवि भएको । यिनीहरू पाँचौमा पर्दछन् ।)
 क = कमाईको एक हिस्सा पार्टी र लाउके नेताहरूलाई दिन मन्जुर भएको । यिनीहरू छनोटको छैटौँ अर्थात् अन्तिममा पारिन्छ ।
यसरी समानुपातिकको अर्थ र छनोटको क्रमागत सूची बनाइएको हुनाले सोहीअनुसार समानुपातिक निर्वाचन सम्पन्न हुन्छ । यसपटक संविधान कार्यान्वन गर्ने प्रमुख दायित्व भएकाले सोही अनुसार लाउके दलहरूले छनोट गरेको सूचना झर्रोटर्रो कार्यालयमा प्राप्त भएको छ ।
यो जिनिस विशेष खासमा गरेर गणितको हिसाब किताव निकाल्नमा प्रयोग हुन्छ । नेपाल मण्डलमा भने यो जिनिस देश र प्रदेशको चुनाउमा राम्रोसँग प्रयोग भइआएको छ । अहिलेको जमानामा चुनाउ पनि हिसाव किताबकै रूपमा प्रयोग भइआएकाले समानुपातिक पनि चुनाउमा प्रयोग भएको हो । आखिर चुनाउ पनि नाफा घाटाकै व्यापार न हो । लोकतन्त्रे राजनीतिमा यी चुनाउ, सरकार, संसद भनेका धनपैसो आर्जन गर्ने र पुस्ता दरपुस्ताका लागि जोहो गर्ने जिनिस बनेका छन् । चुनाउ र संसद भन्ने जिनिस लोकतन्त्रका क श्रेणीका ठेकेदार खैरे कुइरेका मुलुकबाट विस्तारित भएर छिमेकी गुज्जर भैय्याका मुलुक हुँदै नेपाल मण्डलमा फुत्त छिरेको हो । सरकार त यो मुलुकमा पहिला भुरे टाकुरेपालादेखि नै थियो । लोकतन्त्रे जिनिस छिरेपछि लोकतन्त्रे दलका लाउके नेताहरूलाई राम्रोसँग फलिफाफ भएको छ । कसै कसैले त आफू कति पटक मन्त्री पर्धानमन्त्री बन्छु भन्दै बनारसी पण्डा र उनीहरूबाट दीक्षित जोतिषहरूकोमा गएर हात हेराउने गरेका पनि छन् । त्यसैले यो लोकन्त्रे जिनिस जोतिषहरूका निम्ति पनि काइदाको व्यापार बनेको छ । क्या वात लोकतन्त्र ।
अब रह्यो मुख्य कुरो समानुपातिक जिनिसको अर्थात् बल्छीको । लोकतन्त्रे संविधान बनाउने बेलादेखि नै नेपाल मण्डलका लाउके दलका लाउके नेताहरूले समानुपातिक जिनिस घुसाए । यो जिनिसलाई उनीहरूले बल्छीका रूपमा प्रयोग गरेका छन् । किनकि लोउके दलका लाउके नेताहरूले प्रत्यक्षमा चुनाउ जितेपछि तिनका स्वास्नीहरूलाई पनि संसद र सरकारमा अनिवार्य छिराउनुपर्ने भयो । भाले पोथी दुबै बराबर भन्ने नारा लोकतन्त्रे जिनिसले भित्र्याएको हुनाले भाले पोथी दुबैको बराबरी हक कायम गर्न यो नीति ल्याउनु परेको हो । त्यसपछि आआफ्ना छोराछोरी, बुहारी, सालासाली, भाइभतिजा, नाता कुटुम्बलाई पनि भागपुग्दो स्थान दिनु प¥यो । यसका साथै पार्टीलाई धनधान्य बनाउने धनकुवेरहरूलाई पनि स्थान सुरक्षित गरिदिनु प¥यो । उनीहरू त झन् पार्टीका अन्नदाता, मुक्तिदाता भैगए । तिनलाई स्थान नदिए त लाउके नेताहरूलाई प्रत्यक्ष चुनाउ लड्न माहाभारतको चक्रब्युह तोड्नु जत्तिकै मुसिफत पर्छ । यसरी जन्मिएको होे समानुपातिक जिनिस । लाउके नेतादेखि उनका धर्मपत्नी हुँदै नाताकुटुम्ब र पार्टीका अन्नदाता प्रभुहरूलाई समेत बराबरी हिस्सेदार बनाएर संसद र सरकारमा भागविलो लाउने जिनिस भएकाले यसलाई समानुपातिक भनिएको हो ।
यतिखेर देश र प्रदेशको चुनाउ सकिएको छ । चुनाउ सकिए लगत्तै लाउके दलका लाउके नेताहरूले हात हातमा समानुपातिक बल्छी समाएर बसेका छन् । उनीहरूले बल्छी हानेर निर्वाचन आयोगको पोखरीमा उफ्रिरहेका समानुपातिक जातका हाइब्रीड माछालाई फुत्त फुत्त तानिरहेका छन् । प्रत्यक्ष चुनाउमा होमिएर हारेका र जितेका दुवैथरी हनुमामनहरूका धर्मपत्नी, आफ्ना छोरी बुहारीहरूलाई टप्प टप्प बल्छीबाट तानेर समानुपातिक कोटामा छिराइरहेका छन् । यसरी बल्छीबाट नतानिएका र नेताका कोपभाजनमा पारिएकाहरूले फेसबुके पानामा रुवावासी गरेर ख्वामितका अगाडि सके विन्तिभाऊ, जीहजुरी र हारगुहार नभए सत्तोसराप गरिरहेका छन् । यो समानुपातिक नामको जिनिसले संसदमा छिर्न पाउने लाइसन पाएका दलहरूमा निकै कोकोहोलो मच्चाएको छ । उता तिनै लाउके दलका लाउके नेताहरूले आफ्नो कोटरी बलियो बनाउने मौका यहि हो भन्दै आपूmलाई सुमेरु मानेर परिक्रमा गर्ने गणेशको जमात बनाएर समानुपातिकको बरदान दिएका छन् ।
लाउके नेताहरूले आआफ्ना हनुमानहरूको कोटरी बलियो पार्न समानुपातिकको बल्छी प्रयोग गरेपछि ती दलहरूमा निकै ठूलो रडाको मच्चिएको छ । केही दलमा त कुटाकुट भकुराभकुर र तोडफोड पनि चलेछ । भकुर्न जानेहरूले पनि किन कुरा नबुझेको होला, यो समानुपातिक भनेकै लाउकेहरूले आआफ्ना स्वास्नी, छोराछोरी र अन्नदाताहरूलाई छिराउने जिनिस हो भन्ने कुरा । त्यसमा पनि अहिलेको पटक त लाउकेहरूको दोस नै के छ र भकुर्नु प¥यो ? निर्वाचन आयोगले नै आआफ्ना स्वास्नीहरूलाई पठाऊ, यदि स्वास्नी नभए छोरी बुहारीहरूलाई पठाऊ भनेर तोकी पठाएको छ । एउटा दलले त तिनै आयोग प्रमुखको बुहारीलाई पनि छिराएछ । कन्या कुमारीहरू लिष्टमै थिएनन् होला । महिला जति कसै न कसैका स्वास्नी नै थिए । तिनलाई तोक्दा स्वास्नी परे भनेर रिसाउनु जरुरी पनि छैन । झगडा गरेर दलभित्र रडाको मच्चाउनु भन्दा बरू अहिलेदेखि नै लाउकेहरूको गोडामा तेल लगाउने, बेलाबखत नजराना चढाएर तृप्त पार्दै जाने र उनीहरूको वरिपरि परिक्रमा गर्नतिर लागेमा आर्कोचोटीको चुनाउमा भागविलो पर्न सक्छ । नपाएकाहरूले यसो गर्नु नै मनासिव होला भन्ने यो कैलुब्राहको ठहर छ ।
१५ पुस २०७४