अन्तिम ओभरमा २० रन जोडेको ललितपुरले भैरहवालाई दियो १३३ रनको लक्ष्य

प्रकाशित मिति : २०७४ पुस १३

काठमाडौं, १३ पुस । एभरेष्ट प्रिमियर लिग अन्तर्गत बिहीबार जारी दोस्रो क्वालिफायर्समा ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडियटर्सलाई १३३ रनको लक्ष्य दिएको छ ।

खेलको विजेताले शनिबार हुने फाइनलमा विराटनगर वारियर्ससँगको भेट पक्का गर्नेछ । विराटनगरले यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनायो ।

अन्तिम ओभरमा २ छक्का र २ चौका प्रहार गर्दै ललितपुरका भारतीय खेलाडी दिनेश भण्डारीले २० रन जोडेपछि ललितपुर सो स्कोरमा पुगेको हो । ९ बलको सामना गरेका उनले २२ रन जोडे ।

त्यसअघि ललितपुरका ओपनर जयकिसन कोल्सावाले सर्वाधिक ४२ रनको पारी खेले । ३७ बलको सामना गरेका उनले ५ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै, उसका सन्नी पटेलले २४, ज्ञानेन्द्र मल्लले २०, शंकर रानाले १२ रन जोड्दा सोनु तामाङ १० रनमा नटआउट रहे । भैरहवाका पुनित मिश्राले २ तथा हरिशंकर साह, भुवन कार्की र आरिफ सेखले समान १ विकेट लिए ।