बढ्दो वामपन्थी जनमत, कमजोर कम्युनिष्ट आन्दोलन

प्रकाशित मिति : २०७४ पुस १३
प्रेम सुवेदी

नेपाली जनताको अभिमत वामपन्थी आन्दोलनतर्फ बढ्दै गएको पाईँन्छ । तर, कम्युनिष्ट आन्दोलन झन कमजोर बन्दै गएको कुरा सबैबाट सुन्दा यो आफैमा अन्तरविरोध जस्तो देखिन्छ । यो विषयमा गंभीर वहस र छलफलको आवश्यकता छ । जुन देशका जनताको बढी मत वामपन्थी आन्दोलनको पक्षमा छ त्यही देशमा कम्युनिष्ट आन्दोलन कमजोर अवस्थामा छ भन्ने कुरा कति युक्तिसंगत हुन्छ ? यो प्रश्नको जवाफ सही ढङ्गले खोज्न जरुरी छ । सामान्य रुपमा हेर्दा जनमतद्धारा नै कम्युनिष्ट व्यवस्था कायम गर्न सकिने आँकलन देखिने तर व्यवहारतः साम्राज्यवादी अर्थनीति र पूँजीवादी राजनैतिक प्रणाली कै पक्षमा वकालत गर्ने र त्यसको कार्यन्वयनबाट वाहिर निस्कन नसक्ने कुराले स्वयं कम्युनिष्ट आन्दोलनलाई कमजोर र पूजीवादी राजनीतिलाई बलियो बनाएको कुरा स्पष्ट देखिन्छ ।
नेपाल र विश्व कै कम्युनिष्ट आन्दोलन यतिवेला कमजोर अवस्थामा रहेको कुरा धेरैतिरबाट स्वीकार गरिएको पनि छ । तर त्यसका बावजुद पनि जनताले आफ्नो अभिमतद्वारा चुनौती नै दिएका छन । यो कुरा अहिलेको निर्वाचनसँग मात्र होइन विगतका निर्वाचनले पनि देखाउँछ । त्यसैले जनताको त्यो अभिमतको सम्मान र देशमा कम्युनिष्ट आन्दोलनको नाममा मत प्राप्त गरे । तर, तिनीहरु स्वयंले आफूहरु कम्युनिष्ट नभएको तथा देशमा कम्युनिष्ट व्यवस्था नआउने र आफूले यही व्यवस्था, यही संविधानलाई कार्यन्वयन गर्ने प्रतिबद्धता गरिरहेका छन् । एकातर्फ भोट माग्दा कम्युनिष्टको नाममा माग्ने र यहि संसदीय व्यवस्थालाई बलियो बनाउने भन्नेहरु र अर्कोतर्फ यो व्यवस्थाको भण्डाफोर गर्दै यसको विकल्पमा नयाँ जनवादी क्रान्तिको आवश्यकतामा जोड दिंदै कम्युनिष्ट आन्दोलनका मूल्य मान्यतालाई अगाडि बढाउन पर्दछ भन्ने दुई धारा बीच आन्दोलन विभाजित छ । यो विभाजन आफैमा कम्युनिष्ट र गैर कम्युनिष्ट बीचको विभाजन हो । तर, जनताको कोणबाट यी सबैलाई समान देख्ने जुन चिन्तन छ, त्यो नै छलफलको मूख्य विषय बन्न गएको छ । जनताका चेतना जबसम्म आलोचनात्मक तहमा विकास हुँदैन, तबसम्म यसप्रकारका भ्रमहरु देखिन्छन । हाम्रो गाँउमा पुछाराघरे भन्ने एउटा घर थियो र अहिले पनि छ । पहिले त्यो घर भन्दा तल अरु घर थियनन् । त्यसकारण त्यसलाई पुछाराघरे भन्ने कुरा स्वभाविक र सहि पनि थियो । तर, अहिले त्यो भन्दा धेरै घरहरु त्यो घर भन्दा तल छन् । अहिले त्यो घर गाँउको बीचमा नै पर्दछ तर पनि मान्छेले त्यसलाई पुछाराघरे भन्ने चलन जस्तै यहाँ पनि कम्युनिष्ट आन्दोलनमा हिजो भूमिका खेलेका तर अहिले कम्युनिष्ट नभएकाहरुले वास्तवमा भ्रम सिर्जना गरे । त्यो भ्रमबाट जनतालाई प्रष्ट गर्न नसक्नु कम्युनिष्टहरुको पनि कमजोरी एकातर्फ देखिन्छ भने, आर्कोतर्फ जसले कम्युनिष्ट आन्दोलनका मूल्य मान्यता र आदर्शलाई परित्याग गरेर पूजीवादी व्यवस्थाको पक्षमा खडा भएका छन्, त्यो कुरालाई सही ढङ्गले जनताले बुझ्न नसक्दा पनि यो समस्या हाम्रा अगाडि गंभीर बन्न पुगेको हो ।

नेपालको यो परिवेशलाई दोस्रो अन्तराष्ट्रियताकाको रुस र जर्मनको पार्टीसँग जोडेर हेर्नु पर्ने देखिन्छ । त्यतिवेला पार्टी संगठनका दृष्टिकोणले रुसको पार्टी भन्दा कयौं गुणा शक्तिशाली जर्मनको पार्टी थियो । तर कमजोर अवस्थामा रहेको रुसको पार्टीले पहिलो विश्व युद्धको अन्तरविरोधलाई कुशलता पूर्वक प्रयोग गरेर अक्टुवर क्रान्ति सम्पन्न ग¥यो । तर, शक्तिशाली जर्मनको पार्टी साम्राज्यवादको गोटी बन्यो र अन्ततः कम्युनिष्ट आन्दोलन नै ध्वस्त बनायो । त्यो घटनाबाट हामीले शिक्षा लिन जरुरी छ । नेपालको कम्युनिष्ट आन्दोलनमा पनि ती दुबै प्रवृत्ति विद्यमान रहेको देख्न सकिन्छ । कम्युनिष्ट आन्दोलनको नाममा जनमत प्राप्त गरेका पार्टीहरु एमाले र माकेले हामीले कुनै पनि हालतमा कम्युनिष्ट व्यवस्था ल्याउदैन, अहिलेकै संविधानको कार्यन्वयन र त्यसैको रक्षा नै आफ्नो उद्देश्य भएको कुरा गर्दै आएका छन् भने क्रान्तिकारीहरुले यसको विकल्प नयाँ जनवादी क्रान्ति गर्दै समाजवादमा जाने कुरा गरिरहेका छन । यसरी अहिलेको कम्युनिष्ट आन्दोलन प्रति दुई अलग अलग दृष्टिकोणहरु रहेको कुरा प्रष्ट छ । नयाँ जनवादी क्रान्तिको पक्षमा रहेका सबै शक्तिहरुलाई गोलबन्द गर्ने विषयलाई केन्द्रमा राखेर कम्युनिष्ट आन्दोलनलाई पुर्नगठित गर्नुपर्ने आवश्यकता छ । तसर्थ, शब्दलाई होइन, उद्देश्य र कार्यक्रमलाई प्राथामिकतामा राख्ने क्रान्तिकारी शक्तिहरु एकजुट हुनु पर्ने समयको माग हो । समयको यो माग र आवश्यकतालाई आत्मसात गर्ने कुरामा यदि कम्युनिष्ट क्रान्तिकारीहरुले ध्यान नदिने हो भने सर्वहारा वर्गको आन्दोलनको पक्षमा रहेको भावना र अभिमत अरु विसर्जन तर्फ जाने खतरा बढ्दै गएको छ । तसर्थ, नेपालको कम्युनिष्ट आन्दोलनमा क्रियाशिल वामन्थी शक्तिहरु जो नयाँ जनवादी क्रान्तिको पक्षमा छन ती सबैले आ–आफ्ना ठाँउमा आत्मासमिक्षा गर्दै एकीकृत हुनुपर्ने देखिन्छ ।

कम्युनिष्ट आन्दोलनका विरुद्ध चलेका र चलाइएका साम्राज्यवादी नीति, त्यसले पारेको नकारात्मक प्रभाव र त्यो नीतिसँग आत्मसमर्पण गर्न पुगेका दक्षिणपन्थी संसोधनवादीहरुले कम्युनिष्ट आन्दोलनमा जसरी हमला गरेका छन । त्यसलाई परास्त गर्न र देशमा रहेको दलाल नोकरशाही पूजीपति तथा सामन्तवादी राज्य सत्ताको उन्मुलन र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादमा पुग्ने उदेश्यलाई केन्द्रविन्दुमा राखेर छलफल गर्न जरुरी छ । विगतमा भएका जनयुद्ध, जनआन्दोलन र ऐतिहासिक संघर्ष प्रति रहेका आ–आफ्ना दृष्टिकोणलाई मात्र आधार बनाएर होईन, आजका चुनौति र संभावनालाई हेरेर कार्यक्रम र उद्देश्यलाई केन्द्रमा राखेर छलफल अगाडि बढाउनु पर्ने देखिन्छ । कुनै घटना विशेषलाई केन्द्रविन्दु बनाउने दृष्टिकोणले आम कार्यदिशा निर्माणमा कतिपय समस्याहरु उत्पन्न हुन सक्दछन । ती विषयमा पनि मूल्यांकन गर्ने स्पष्ट ढोका खुला राख्दै कम्युनिष्ट क्रान्तिकारीहरुले मुख्यतः सर्वहारावर्गको मूक्ति र आन्दोलनलाई केन्द्र भागमा रोखेर छलफल गर्नु पर्ने आवश्यकता छ ।

नेपालको कम्युनिष्ट आन्दोलनको स्थापनादेखि जसरी सामन्तवाद र साम्राज्यवादको अन्त्य गरेर देशमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवादको दिशा अगाडि बढ्ने कुरा उठ्दै आएको छ त्यसलाई साकार पार्न मूख्यतः कम्युनिष्ट क्रान्तिकारीहरु अनिवार्य रुपमा एकीकृत हुनैपर्छ । तर वेग्ला वेग्लै ठाँउबाट त्यो उद्देश्य प्रति व्यक्त गरिने सद्भाव वा प्रचारले समग्र एकीकृत आन्दोलनको निर्माण हुन सक्दैन । यो वास्तविकतालाई जबसम्म आत्मासात गरिदैन तबसम्म कम्युनिष्ट आन्दोलनले ठोस गति र दिशामा अगाडि बढ्न सक्दैन । जबसम्म सहि ढङ्गले संगठन संघर्ष र कार्यक्रम बीच अगाडि आउदैन तबसम्म संसोधनवादी हावी हुने र जनतालाई भ्रम दिन सफल हुनेछन । जनमतले देखाएको कम्युनिष्ट आन्दोलन प्रति सद्भाव र जनमतलाई पनि क्रान्तिकारी आन्दोलनद्धारा विश्वासमा लिन सकिन्छ र त्यसले मात्र आजको कमजोर कम्युनिष्ट आन्दोलनलाई शक्तिशाली बनाउन मद्दत मिल्ने छ ।