वर्तमान राजनैतिक अवस्था र क्रान्तिकारीहरुको भूमिका

प्रकाशित मिति : २०७४ पुस १३
धनेश्वर पोख्रेल

वर्तमान राजनैतिक अवस्था
लामो समयदेखिको नेपाली राजनीतिमा देखिएको संक्रमणकाल अन्ततः प्रतिक्रान्तिमा गएर टुंगिएको छ । मरणासन्न अवस्थामा पुगेको संसदीय व्यवस्थाले दक्षिणपन्थी संशोधनवादी शक्तिहरु मूलतः दुई खेमामा केन्द्रित हुन आइपुगेका छन् । त्यसमा घोर दक्षिणपंथी र प्रतिकृयावादी शक्तिहरुको यौटा खेमा जसमा नेका, राप्रपा, लोकतान्त्रिक फोरम लगायतको लोकतान्त्रिक गठबन्धन नामको खेमा पर्दछ र जस्को नेतृत्व नेकाले गरिराखेको छ । यो नेपाली जनताको खुन पसिना चुस्दै राणा, पंचायत, बहुदलीय काल हुँदै हालसम्म यो वा त्यो रुपमा सत्तामाम रहँदै र नेपाली जनताको दोहन गर्दै आएको छ । जस्ले सुगौली सन्धि, १९५० को असमान सन्धिलगायत कोशी, गण्डकी संझौता गरेर राष्ट्रघात र जनघात गर्दै आएका छन् । साम्राज्यवाद र भारतीय विस्तारवादको दलाली र चाकडी गर्दै सत्तामा रहदै आएको छ । जस्ले कहिले कथित प्रजातन्त्रको माला जपेर त कहिले लोकतन्त्रको माला जपेर नेपाली जनतामा भ्रम छर्दै लुटको खेती गर्दै आएको छ ।

संसदीय व्यवस्थाभित्रको अर्को खेमाको शक्ति भनेको एमालेको नेतृत्वमा रहेको एमाले–माके सहितको कथित वाम नामको गठबन्धन हो । जो माक्र्सवाद–लेनिनवाद–माओवाद सिद्धान्त, विचार, राजनीति र दर्शनबाट च्यूत भएर कम्युनिस्ट कै नाममा भ्रम छर्दै प्रतिकृयावादी संसदीय आहालमा डुबुल्की मार्न पुगेका छन् । जस्ले २०२८ को झापा विद्रोहदेखि २०५२–२०६२ को दशवर्षे महान् जनयुद्ध र हालसम्मका विविध आन्दोलनमा सहादत प्राप्त गर्ने हजारौं महान् शहीदहरुको रगतमा पौडी खेल्दै उनीहरुको वीरगतिपूर्ण पार्थी शरीरलाई भ¥याङ बनाएर साम्राज्यवाद र विस्तारवाद सामू लम्पसार पर्दै सत्ता आरोहण गर्दै आइरहेका छन् । त्यति मात्र होइन उनीहरु वर्गीय र राष्ट्रिय रुपमा समेत आत्मसमर्पण गरी महाकाली नदी, टनकपुर, अरुण तेश्रो, उपल्लो कर्णाली, विप्पा, २५ बँुदे आदि सन्धि सम्झौता र सहमति गरेर राष्ट्रघात र जनघात गर्दै आइराखेका छन् । जस्ले सर्वहारा वर्ग, उत्पीडित जात, वर्ग, क्षेत्र लिङ्गको विभिन्न चरणमा भएका मुक्ति आन्दोलनहरुलाई आफ्नो स्वार्थ अनुकुल संझौतामा टुङगाएर पटक–पटक उत्पीडित वर्गमाथि अन्तर्घात गरिराखेका छन् । जस्ले सर्वहारा वर्गीय विश्व दृष्टिकोण माथि नै धावा बोल्दै सत्ताको निम्ति साम्राज्यवाद र विस्तारवादको नांगो र निकृष्ट चाकडीमा लिप्त भएका छन् । कथित वाम खोल ओडेका यी दक्षिणपन्थी संशोधनवादी तत्व भनेका अन्ततः साम्राज्यवाद र विस्तारवादका गोटी नै हुन् ।

आज एकातिर मुलुकको संसदीय राजनीति यिनै कथित लोकतन्त्रवादी र कथित वाम गठवन्धनकारीहरुको सेरोफेरोमा घुमिराखेको छ भने अर्कातिर शासन सत्ता पनि यिनीहरुकै आलोपालोमा चलिराखेको छ । यो स्थितिमा मुलुक विगतका दिनहरुमा भन्दा झन पछि झन संकटको भुमरीमा फस्दै गएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरु झन्पछि झन् जटिल बन्दै गैरहेका छन् । राष्ट्रिय स्वाधीनताको प्रस्न सत्ताधारी दलहरुको दलाली र आत्मसमर्पणवादी चरित्रले गर्दा अत्यन्त गंभिर बन्न गएको छ । त्यतिमात्र होइन सिंगो राष्ट्र गरिबी, बेरोजगारी, भ्रष्टाचार र अराजकताको केन्द्र बन्न पुगेको छ । त्यसका साथै मुलुक आर्थिक, राजनैतिक सबै दृष्टिले साम्राज्यवाद, विस्तारवाद र शक्ति केन्द्रहरुको क्रिडास्थाल बनिराखेको छ । अहिले वाम खोल ओडेका एमाले माके लगायतका दक्षिणपंथी संशोधनवादी र नेका लगायतका प्रतिकृयावादी शक्तिहरु सत्ता लिप्साको लागि साम्राज्यवाद र विस्तारवाद सामू दलालीको होडबाजी गरिराखेका छन् । देशको अर्थतन्त्र एकातिर रेमिट्यान्सबाट चलेको छ भने अर्कोतिर विश्व बैक, अन्तर्राष्ट्रिय मुद्राकोष, बहुराष्ट्रिय कम्पनी लगायतका संघ संस्थाद्वारा मुलुकको आर्थिक दोहन गरी मुलुकलाई परनिर्भरमुखी र कंगाल बनाउँदै लगेका छन्, जसले गर्दा मुलुकको आर्थिक अवस्था कमजोर मात्र बनेको छैन, डामाडोल भएको छ । सत्तासिन ठुला भनाउँदा यी दलहरु र तिनका शिर्षस्थ नेताहरु भ्रष्ट, अनैतिक बन्न पुगेका छन् । सामन्तः दलाल पुँजीपति पर्गको नेतृत्व गरेका यी प्रतिकृयावादी र दक्षिणपंथी संसोधनवादी तत्वहरु अहिले नयाँ कलेवरमा प्रतिक्रान्तिलाई संस्थागत गर्दै संक्रमाणकालको अन्त्य भएको घोषणा गरिरहेका छन् । बहुसंख्यक नेपाली जनताले तिरस्कार गरेको प्रतिकृयावादी र प्रतिगामी संविधान जबर्जस्त लादेर साम, दाम, दण्ड, भेद प्रयोग गरी आफ्नो पक्षमा सम्पन्न गरेको स्थानीय र संसदीय निर्वाचनले कुनै पनि हालतमा राष्ट्र र जनतालाई शान्ति र समृद्धि दिन सम्झैन भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ ।

क्रान्तिकारीहरुको भूमिका
एमाले, माकेहरुको अपवित्र गठबन्धनले नेपाली जनतामा ठुलो भ्रम छर्न सफल भएको छ । कम्युनिस्ट प्रतिको नेपाली जनताको मनोविज्ञानलाई वुझेर यसबाट नकारात्मक फाईदा लिन र उनीहरुको ढाडमा टेकेर सत्तामा जान कथित वाम गठबन्धनको नाटक रचे वामपंथीको नेतृत्वमा स्थायी सरकार गठन गरी मुलुकलाई शान्ति र समृिद्धतिर लैजाने ढ्वाङ पिटीरहेका छन् । साथै नेपालमा अव कम्युनिस्ट शासन ल्याउछौं भनेर जनतालाई वेवकुफ बनाई राखेका छन् । जो वास्तविक रुपमा कम्युनिस्ट नै होइनन्, हुनै सक्तैनन् र कम्युनिस्ट नीति सिद्धान्त विचार राजनीतिबाट च्यूत भएर प्रतिकृयावादमा पतन भएका छन् । तिनीहरुले जनतामा यत्रो भ्रम छर्नु र जनता त्यसको भ्रममा पर्नु ठुलो दुर्भाग्यको कुरा हो । उनीहरुको यो अफवाहले कम्युनिस्ट जनतामा भ्रम मात्र छरेको छैन त्यसले सिंगो कम्युनिस्ट आन्दोलनलाई समेत समाप्त पार्ने षड्यन्त्रमा लागेको छ । साम्राज्यवाद र विस्तारवादको हण्डी खाएर नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने जिम्मा लिएका प्रचण्ड–ओली एण्ड कम्पनीलाई नेपाली जनताले अझै पनि ०२८ र ०५२÷०६२को आँखाले कम्युनिस्ट कै नेताको रुपमा देख्नु र तिनीहरुबाट कम्युनिस्ट शासनको अपेक्षा राख्नु साउनमा आँखा फूटेको गोरुले सँधै हरियो देख्नु जस्तै हो । जनतामा परेको भ्रमलाई साफ नगरी नेपालको कम्युनिस्ट आन्दोलन अगाडी वढन सक्तैन । त्यसको निम्ति सच्चा क्रान्तिकारीहरु एकढिक्का भएर एमाके जस्ता दक्षिणपंथी संसोधानवादीको भण्डाफोर कार्यमा लाग्नु अनिवार्य हुन्छ । त्यतिमात्र हैन आजसम्म यिनीहरुले गरेका राष्ट्रघात, जनघातका कुकृत्यहरलाई जनतासामू लैजाने र त्यसका विरुद्ध जनतालाई संगठित र आन्दोलित गर्नु आजको अपरिहार्य आवश्यकता हो । दक्षिणपंथी संसोधनवादको भ्रमबाट जनतालाई मुक्त गरेर वर्गीय र राष्ट्रिय मुक्ति आन्दोलनमा संगठित नगर्दासम्म मुलुकमा शान्ति, समृद्धि र विकासको संभावना रहन्न । अहिले संकटको घेरामा परेको कम्युनिस्ट आन्दोलनलाई घेरामुक्त गर्ने वर्ग संघर्षलाई नयाँ उचाईमा उठाउने एकमात्र उपाय क्रान्तिकारीहरु बिचको एकता र ध्रूविकरणबाट मात्र संभव छ । अर्कोतिर क्रान्तिप्रतिको निष्ठा, त्याग, वलिदान र पार्टी र जनताप्रतिको जिम्मेवारीबोध अर्को महत्वपूर्ण कडी हो । आत्मगत अवस्थालाई सुदृढ गरी वर्ग संघर्षको माध्यमबाट दलाल, भ्रष्ट, राष्ट्रघाती र जनघातीमाथि जाई लाग्नु र संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी सत्ता स्थापना गर्नु क्रान्तिकारीहरुको अहं दायित्व हो । अवको क्रान्ति यथास्थितीवादी चिन्तन शैली र सोचाइबाट संभव छैन । प्रतिक्रान्तिले जुन उचाईमा टाउको उठाएको छ । त्यो भन्दा कैयौं गुणा माथीबाट क्रान्तिकारीहरु उठ्नु, जुट्नु र जाईलाग्नु पर्छ । यो नै अहिले अपरिहार्य आवश्यकता हो । यो वेला कुनै पनि खेमामा रहेका नेता कार्यकर्ताहरुले राष्ट्र र जनताको मुक्तिको निम्ति गंभिर भएर नसोच्ने हो भने नरहे बाँस नवजे बाँसुरी हुने छ ।

तसर्थ आउनुस सच्चा क्रान्तिकारी योद्धाहरु राष्ट्र र जनताको मुक्तिका लागि दक्षिणपंथी हावाहुरीका विरुद्ध क्रान्तिकारीहरुको बलियो मोर्चा निर्माण गरौं र मुलुकमा नयाँ जनवादी क्रान्तिको तुफान श्रृष्टि गरौं । संसदीय व्यवस्थाको चिहानमाथि नयाँ जनवादी राज्यसत्ता स्थापना गरौं । अन्तिम जित क्रान्तिकारीहरु कै हुनेछ । मालेमावादले हामीलाई दिएको शिक्षा यहि हो । हजारौं सहीद, वेपत्ता, घाइते अपांग योद्धाहरुको रगत र वलिदानमा अट्टहास गर्ने क्रान्तिका खलनायकहरुलाई उचित सजाय नदिएसम्म यिनको दादागिरी रोकिने छैन । क्रान्तिकारीहरुको सचेत पहल र प्रयत्नमा हुने जनविद्रोहको आँधीबेहरीले यी कुडा कर्कटहरुलाई अन्ततः किनारा लगाएर छाड्ने छ ।