झर्रोटर्रो : सहिदको चिठी

प्रकाशित मिति : २०७४ पुस १

- कैलुब्राह

प्रिय कैलुब्राह जी,
रक्तमुछेल सलाम !

त्यहाँ तपाइँको गाथगादीमा के कस्तो छ कुन्नी ? हामीलाई त यहाँ बिसन्चै बिसन्चो मात्रै छ । जनयुद्धमा सहिद भएर यता आएदेखि शारीरिक दुःखकष्ट त झेल्नु परेको छैन तर मानसिक बेचैनी भने दिन प्रतिदिन बढेको बढ्यै छ । मनमा कहिल्यै पनि शान्ति सुवेस्था आउँदै आएन । अहँ मरिजाउँ सन्तोषको सास फेरेको कुनै दिन भएन । म जस्ता सबै युद्धका सहिदहरूको हालत एउटै छ । कोही कसैले पनि नेपाल मण्डलको राजनीति देखेर सन्तोष भएका छैनौँ । भोक निद्रा क्यै पनि आएको छैन । बर्षौं भयो भोक र अनिद्रामा दिन बित्न थालेको । अब त यी दुईटा कुरा पनि कस्तो हुन्छ भन्ने भैसकेको छ । यताको खबर यस्तै छ । बरु त्यताको खबर के कसो भएको छ लेख्दै गर्नुहोला भन्ने आशा लिएका छौँ । सत्यतथ्य कुरा जस्ताको तस्तै उतार्ने र प्रकाशित गर्ने तपाइँ र तपाइँको पत्रिका र अनलाइन मात्रै छ भन्ने सुन्दा अलिकता भए पनि सत्यको विऊ बचेकै रहेछ भनेर हामी यहाँ सबै सहिद खुसी छौँ । त्यसैले पनि मैले तपाइँलाई सम्झिएर यो पत्र कोर्दै छु । मेरो पत्र पनि छापिदिनु होला भन्ने आशा लिएको छु ।

प्रिय मित्र,
अचेल नेपाल मण्डलमा देश र प्रदेशको चुनाउ सकिएको छ रे भन्ने खबर सुनेका छौँ । हाम्रो हेडक्वार्टरले पनि चुनाउ जित्नुभएछ । विचरा लिनप्याओवादी कामरेड त जिल्ल पर्नु भएछ । न देश न प्रदेश, न प्रत्येक्ष न समानुपातिक कतै पनि भाग पुगेनछ । कत्रा डल्ला चपाउन पाम्ला र राष्ट्रिय समाजवाद लागू गरम्ला भनेर वैद्य कामरेडलाई अलपत्र पारेर हेडक्वारटरका शरणमा पर्नु भएको थियो त्यो पनि काम लागेनछ । कठै विचरा ! कति अभागी पुम्पुरो । सायद राष्ट्रियसभामा लगेर थान्को लाउँचन् कि ?

हेडक्वार्टरका पुत्रश्री कालगतिले मरेछन् भन्ने थाहा पायौँ । कठै विच…रा ! लाम्ला र खाम्ला भन्ने उमेरमा मरेछन् । कति चिन्ता परेहोला विचरा हेडक्वाटरलाई । हामी त गरिबगुरुवाका छोराछोरी न थियौँ हाम्रो बारेमा केको चिन्ता भो र आफ्नै सन्तानको त हुनसम्मको पीर पर्छ नि सबैलाई । हामी नमरिदिएको भए हेडक्वाटर दुईदुई पटक पर्धानमन्त्री बन्न काँ पाउँथे र । अझै उनको एक पटक कार्यकारी राष्ट्रपति बन्ने कत्रो धोको छ । आफ्ना टाउकाको मुद्दा फिर्ता गराउन र सके कार्यकारी राष्ट्रपति नभए कार्यकारी पर्धानमन्त्री पाउन पाए समाजवाद आएको घोषणा गर्ने थिए । पाउँचन कि पाउँदैनन् । उनलाई पनि बेचैनी नै छ । कैले चारतारेसँग मिल्चन र सरकार बनाउँचन्, चुनाउ लड्चन, कैले सूर्यछापसँग मिल्चन र चुनाउ लड्चन् । कैले हङकङ र सिङगापुर पुगेर खुफिया भेट्चन्, कैले उत्तर र दक्षिणतिर दूत पठाएर आर्शिवाद थाप्चन्, हैरानी नै छ विचरालाई । जे गर्दा नी सत्ताको उभिन्नो भाँडो कैल्यै भरिएन । सतिदेवीको लास बोकेर भौँतारिएका भोलेनाथ जस्तै कुर्ची बोकेर भौँतारिँदा भौँतारिँदै कार्यकारी नबन्दै लिला सकिने हो कि भन्ने ठूलो पिर छ उनलाई । त्यसैमा कैले पुत्री त कैले पुत्र शोक थपिनु कति अन्याय हो विच…रा । च्वच्वच्व ।
जनवाद ल्याउँचम् भनेर हाम्लाई युद्धमा होमे । हामी बत्तिमा पुतली परेझैँ सेना पुलिससित लडेर म¥यौँ । कोही घर, होटेल, अस्पताल, बाटोघाटो, सेल्टरहरूबाट समातियौँ र तत्क्षण मारियौँ, बेपत्ता पारियौँ । अहिले सबै यतै भेला भएका छौँ र आफ्नो मुलुकको अवस्था टुलुटुलु हेरेका छौँ । त्यता हेडक्वाटर कमरेडले जनवाद आयो भनेर घोषणा गरिदिए तर दोस्रो चुनाउमा तेस्रो स्थानमा झरे । राजनीतिका माहिर खेलाडी भएकाले होला अण्ठसण्ठ गरेर भएपनि पर्धानमन्त्री पड्काई छाडे । भुइँतहको चुनाउले नराम्ररी झस्काइदिएछ र सूर्यछापको पुच्छरले धन्न धन्न बैतरणी तर्न पाएछन् र बल्लतल्ल साख जोगिएछ । नत्र त हरिबिजोगै हुने रैच नि ।

सूर्यछापसँग एकतै गर्ने भनेर वैतरणी तरेका हेडक्वाटर कामरेड फेरी बेचैनीमा परेका छन् रे भन्ने सुन्चु । के हो कुरा खुलस्त पारेर लेखि पठाउनु होला । उखानप्रसाद र उनका हनुमानहरूले तल माथि सबैतिरको सर्खार बनाएर मात्रै एकता गर्ने हो भन्चन् रे । हुन त एकता गरे पनि मुलुक र बाँचेका मनुखेहरूका बारेमा क्यै गर्ने हैनन् क्यारे । आफ्नै दुनो सोझ्याउने त हुन् । अझ हाम्रा लागि त परैको कुरा भयो । हामी सोझा सिधाहरू त मर्नु थियो, मरिदियौँ । जनयुद्धका मुद्दा लागेकाहरू पनि धमाधम मुद्दामा जेल पर्दैछन् रे । हेडक्वाटरलाई त आफ्नो टाउको जोगाउन पाए पुगिहाल्च । उखानप्रसादले अचेल जनयुद्ध सैद्धान्तिक गल्ती थियो, राजा हट्नु र गणतन्त्र आउनुमा जनयुद्धको कुनै साइनो सम्वन्ध छैन भन्न थालेछन् । हाम्रा हेडक्वाटरको दर्शन भनेको लम्पसारवाद हो क्यारे । उनले जबज सर्लक्कै स्वीकार गरेछन् उता उखानेले जनयुद्धलाई अपराधीकरण गर्दैछन् । अब हुने एकता बाम पनि होइन र कम्युनिस्ट पनि हुँदैन भनेछन् । कुरो त ठिकै हो । हेडक्वाटर, सत्तामा रमाएका र सुँगुरको खोरमा पसेर सुँगुरमै परिणत भएका नेताहरूलाई त त्यो कुरा मनासिव होला तर भुइँ तहका अलपत्रे कार्यकर्ताहरूले यो कुरो कसरी स्वीकार्ने होलान् खै । एकजना पे्रmन्चकट डेपुटीले त यो बाम एकताको कोरियोग्राफर मै हुँ भनेछन् । कोरियोग्राफ त डान्समा हुन्च क्यारे उनको यो नङ्गा नाचले डिएनडि प्रथम हुने हो कि होइन कुन्नी ? आगे ज्युँदा मनुखेले जानुन् । बाँकी आगामी पत्रमा लेख्दै गरम्ला ।
उही तपाइँको युद्धकालिन सहयोद्धा
क.विष्फोट
२८ मङ्सिर २०७४

[email protected]