४५ जिल्लामा खस्यो मात्र ६७ प्रतिशत मत

प्रकाशित मिति : २०७४ मंसिर २१

 

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको निर्वाचनमा ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा निर्वाचनबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरदर ६७ प्रतिशत मत खसेको दावी गरे । सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खसेको छ ।
निर्वाचन अयाोगका अनुसार १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभा सदस्यका लागि ४५ जिल्लामा रहेका ७ हजार ७५२ मतदान स्थल र १५ हजार ३४४ मतदान केन्द्रमध्ये एक मतदान स्थलबाहेक सबैमा शान्तिपूर्ण मतदान भएको छ ।
अर्घाखाँचीको सन्धीखर्कस्थित नेटा मतदान स्थलमा रहेका दुवै मतदान केन्द्रको मतदान रद्द गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै राजनीतिक दलका कार्यकर्ताले मतदान स्थल तोडफोड गर्नुका साथै मतपेटिकामा आक्रमण गरेपछि मतदान रद्द गरिएको प्रमुख निर्वाचन आयुक्त यादवले जनाए ।
यसैबीच, मंसिर १० मा सम्पन्न चुनावको मतगणना साँझ पाँच बजेबाट सुरु भएको छ भने दोस्रो चरणको निर्वाचनको पनि मतगणना सुरु गरिएको छ ।