सिके राउतको गाउँमा मत खसेन

प्रकाशित मिति : २०७४ मंसिर २१

सप्तरी । सप्तरीको महदेवा गाउँपालिकाको महदेवास्थित प्रावि केन्द्रमा विहीबार मध्यान्हसम्म कुनै पनि मतदाताले मतदान गरेका छैनन् । अलग तराईको माग गर्दै आएका सिके राउतको घर रहेको उक्त महदेवा गाउँमा मत नखसेको निर्वाचन अधिकृत धनेश्वर साहले जानकारी दिएका छन् । मतदान गराउने कर्मचारी र सुरक्षाकर्मीहरु बिहानैदेखि यहाँ तयारी अवस्थामा बसे पनि कुनै मतदाता मत खसाल्न आएका छैनन् ।

यो मतदान केन्द्रमा ९ सय ६० मतदाता रहेका छन् ।स्थानीय एक मतदाताका अनुसार पुरै गाउँलेको निर्णय अनुसार नै कसैले पनि मतदान नगरेका हुन् । यसअघि ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतको गाउँ त्रिकौलमा पनि कसैले मतदान गरेका थिएनन् ।
सिके राउत पक्राउ
यसैबीच, चुनाव विरोधी गतिविधि गरेको आरोपमा सिके राउत पक्राउ परेका छन् । उनलाई बिहिबार बिहान जनकपुरस्थित निवासबाटै पक्राउ गरेको हो । जनकपुरमा उनी भाडाको घरमा बस्दै आएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । सिके राउतले मधेसमा भोट बहिस्कार गर्ने अभियान चलाउँदै आएका थिए ।