पत्रकारहरुलाई तत्काल रिहा गर्न क्रान्तिकारी महासंघको जोडदार माग

प्रकाशित मिति : २०७४ मंसिर २१

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी पत्रकार महासंघले एक वक्तव्य जारी गर्दै गिरफ्तार गरिएका जनपक्षीय पत्रकारहरुलाई तत्काल रिहा गर्न सरकारसँग जोडदार माग गरेको छ । महासंघका अध्यक्ष इन्द्र राउतको हस्ताक्षरमा बिहीबार जारी प्रेस वक्तव्यमा यस्तो माग गरिएको हो ।

महासंघको वक्तव्यमा भनिएको छ, “विगतको निरंकुश पञ्चायती व्यवस्था तथा शाही राजतन्त्रकालीन शासकहरुलाई बिस्र्याउनेगरी जनपक्षीय श्रमजीवी पत्रकारहरुलाई समाचार लेखेकै कारण तथा विचार अभिव्यक्त गरेकै कारण अपराधीलाई जसरी गिरफ्तार गरेर लामो समयदेखि प्रहरी थुनामा राखिएको छ । लोकतन्त्रको ठेकेदार ठान्ने कांग्रेस नेतृत्वको सरकारको यो कदमलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि संविधानले प्रदत्त गरेको अधिकारमाथिकै हमलाको रुपमा लिंदै क्रान्तिकारी पत्रकार महासंघ यसको कडा शब्दमा निन्दा एवम् भत्र्सना गर्दछ र गिरफ्तार गरिएका सबै जनपक्षीय पत्रकारहरुलाई विना शर्त तत्काल रिहा गर्न जोडदार माग गर्दछ ।
श्रमजीवी पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले समेत पटक पटक गिरफ्तार गरिएका पत्रकारहरुको रिहाइका लागि दबाब दिंदा सरकारले सुनुवाइ नगर्नु र अदालतको ढोका ढकढक्याउन पुग्नुपर्ने परिस्थिति सिर्जना हुनु अझ विडम्बनापूर्ण र खेदजनक छ । यो भनेको राज्य र शासकहरुको फासिवादीकरणको अभिव्यक्ति हो । यसप्रति सिंगो प्रेसजगत सचेत र सतर्क रहदै गिरफ्तार पत्रकारहरुको रिहाइका लागि दबाब सिर्जना गर्न सम्बद्ध सबैमा हाम्रो महासंघ अनुरोध समेत गर्दछ ।”