यसरी बाँडे मौन अवधिमा संसदवादीहरुले पैसा

प्रकाशित मिति : २०७४ मंसिर २०

काठमाडौं, २० मंसिर । निर्वाचनसम्बन्धी कुनै गतिविधि गर्न नपाइने मौन अवधिमा संसदवादी दलहरु भने पैसा बाँड्नमा व्यस्त बनेको छ । मतदातालाई मतदानका लागि खुला दिमागले दल र उम्मेदवार छान्नका लागि सोच्ने समयको रुपमा रहेको मौन अवधिमा संसदवादी दलहरु भने पैसाले मत किन्न व्यस्त रहेका छन् । मौन अवधि सुरु हुनु अगावै पनि आर्थिक चलखेलका समाचारहरु प्रकाशन र प्रशारणमा आइरहेका थिए ।

पर्सा जिल्लाको पोखरिया नगरपालिकाबाट तीन लाख रुपैयाँसहित वाम गठबन्धनको प्रचार सामग्री बोकेका ३ जना पक्राउ परेका छन् ।निर्वाचनको अधिल्लो दिन मौन अवधिमा तीन लाख नगद र प्रचार सामग्री बोकेका वाम गठबन्धनका ती कार्यकर्ता पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, पोखरीयाका अनुसार पक्राउ परेकाहरुबाट एमालेको चुनाव चिन्हमा स्वास्तिक छाप लागेको २ हजार नमूना मतपत्र र नगद ३ लाख रुपैया बरामद गरिएको जनाएको छ । प्रहरीले पक्राउ पर्नेहरुको नाम भने खुलाएको छैन । जिल्ला प्रहरुी कार्यालय पर्साका डिएसपी प्रकाश सापकोटाले तीन लाख नगद र नमूना मतपत्रसहित तीन जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको जनाएका छन् । उनले थप अनुसन्धान भइरहेको जानकारी दिए ।

पैसा बाँड्दै गरेको अवस्थामा राप्रपाका कोषाध्यक्ष पक्राउ

मौन अवधिमा निर्वाचन आचारसंहिता पैसा बाँड्दै गरेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनका कोषाध्यक्ष प्रेम गैरेसहितका नेता कार्यकर्ता पक्राउ परेका छन् ।

भरतपुर ११ वरपिपल चोकमा स्थानीय सीताराम छतकुलीको घरमा करिव २५ र ३० जनाको महिला भेला गरेरे पैसा बाँड्दै गरेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । अस्थायी प्रहरी चौकी भोजाडका इन्चार्ज उपेन्द्र चौधरीका अनुसार प्रहरी पुगेपछि गैरै गाडीमा भागेको र उनलाई प्रहरीले पछि गर्दै भरतपुर १० सिनर्जी चोकबाट पक्राउ गरेको हो ।

यसैगरी पैसा बाढ्दै गरेको अवस्थामा राप्रपा नेता जगदीश अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी राप्रपाका ११ नम्बरका वडाध्यक्ष समेत हुन् ।

पैसा बाड्दै गरेका कांग्रेस कार्यकर्ता बाम गठबन्धनको नियन्त्रणमा

पर्वतको ठूलीपोखरीमा पैसा बाड्दै गरेको अवस्थामा कांग्रेसका कार्यकर्ता अर्जुन खनाललाई वाम गठबन्धनका कार्यकर्ताले पैसासहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । निर्वाचनमा मतदाता प्रभावित पार्ने गरी रातारात पैसा बाढ्दै हिडेका खनाललाई बामगठबन्धनका कार्यक्रताले मंगलबार साझ ४८ हजार रुपैयाँसहित कब्जामा लिएका हुन् ।

बा ८१ प ५८८५ नम्बरको मोटरसाईकलमा पैसा बितरण गर्दै हिडेको देखेपछि उनलाई कब्जामा लिएको स्थानीय मिलन सुबेदीले जानकारी दिए । पैसा बाड्नका लागि खनालले प्रयोग गरेको मोटरसाईकल अहिले प्रहरी नियन्त्रणमा रहेको छ भने खनाललाई चेतावनीसहित छाडिदिएको वाम गठबन्धनका कार्यकर्ताले जनाएका छन् ।

सोमबार पनि मोदी गाउँपालिकाको देउपुरमा कांग्रेसले बाड्दै गरेको पैसा बाम गठबन्धनका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए । त्यस्तै कांग्रेस कार्यकर्ताले जलजला गाउँपालिकामा बाड्नका लागि लैजाँदै गरेको पाइप पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।