झर्रोटर्रोः वाकयुद्ध

प्रकाशित मिति : २०७४ मंसिर १९

- कैलुब्राह

संसदवादी लोकतन्त्र (यथार्थमा ठोकतन्त्र) धरापमा पर्न थालेपछि प्रभुद्वारा निर्मित संविधानसभाबाट आफैँले जारी गरेको संविधान सत्ताधारी सिण्डिकेटेहरूलाई घाँडो भयो । एकातिर संविधान जारी भएकै दिनबाट त्यो सडकमा जल्न पनि सुरु भयो भने अर्कोतिर संविधान जारी गर्ने लाउके तीनदलीय सिण्डिकेटवाला दलहरूले पनि त्यसलाई लगौँटी बनाएर लगाउन थाले । संविधानमा केन्द्र सरकार २५ जना भन्दा माथी नबढाउने भनेको छ यिनीहरूले त्यसको दोब्बर र तेब्बर पु¥याइदिए । ६ जनासम्म उपप्रधानमन्त्री पु¥याएर भागशान्ति विलो लाएर राष्ट्रको ढुकुटी रित्याए । स्थानीय सरकारमा दिइएका कतिपय अधिकार कटौती गरेर संविधान संसोधन गरे । महिलालाई ३३ प्रतिशत संसद र सरकारमा पु¥याउनु पर्छ भनेर लेखे तर सरकारमा लैजाने हैसियतमा कोही पनि महिला देखेनन् । हुँदाहुँदा अहिलेको दुइतले चुनाउमा प्रत्यक्ष उमेद्वार बनाउने हैसियतका महिला नै देखेनन् र जताततै पुरुषैपुरुषको डुङ्गुर उठाइदिए । त्यो पनि गाँठ भएकाहरूलाई मात्रै अघि सारे । एकजना बामपन्थी नामका लाउके दलका दोस्रो बरियताका लाउके नेताले त म पैसा खर्च गर्न नसक्ने भएकै कारण प्रत्यक्ष रूपमा चुनाउमा लडिन भनेर खुलेआम बयान दिए । आफै बोक्सी आफैँ धामी बनेर पनि यिनलाई हाइसन्चो भएन । बजार भाउ महङ्गिएझैँ चुनाउको भाउ पनि महङ्गो भयो । ठूल्ठूला डन, गुप्त ब्यापारी र कर्पोरेट घरानियाँहरूलाई नै टिकेट दिनुपर्ने भयो । या त आजिबन सरकारमा बसेर डकारेका, धनपैसो जोहो गरेका र उद्योगपति, गुप्त ब्यापारी, ठेकेदारहरूलाई पट्याउन सक्नै हैसियत बनाएका हरेक दलका लाउकेहरूलाई मात्रै टिकेट दिनुपर्ने भयो । यसो हुँदा तीनदले लाउकेहरूलाई आआफ्नै दलबाट बागी उठ्ने र परेसान खेलाउने स्थिति पैदा भयो । अर्कोतिर सानासाना दल पनि समानुपातिकको दुलोबाट संसदमा छिर्ने र सरकार बनाउनेबेला परेसान खेलाउने स्थिति यो संविधानले खुला गरिदिएका कारण लाउकेदलहरूलाई गठबन्धनको दाम्लो बाट्नुपर्ने परिस्थिति आइलाग्यो । अनि बाटिए दुईतिर दुईवटा गन्धनका दाम्ला ।

यो चुनाउमा सबैभन्दा ठूलो सकस माकेका सुप्रिमोलाई आइप¥यो । चारतारेसित मिलेर चुनाउ लड्दा पनि पुत्रीलाई जिताउन डुँगा चढेर महासागरको भेल तर्न खोजेजस्तै भयो । अहिले आफ्नो जित्ने आधारै भत्किएपछि बाम गठबन्धनको दाम्लो बाट्नु पर्ने अबस्था आइलाग्यो । अनि बाटियो बाम गठबन्धनको दाम्लो । यो दाम्लोबाट अत्तालिएर रन्फनिएको चारतारेले पनि लोकतन्त्रे दाम्लो बाट्यो । दुबैतिर आआफ्ना थरगोत्रीयहरूलाई जुटाएर दुईवटा दाम्ला बाटिए । गठबन्धनकै दाम्लाका नामबाट चुनाउमा उत्रिए । त्यसपछि यिनीहरूमा वाकयुद्ध सुरु भयो । आआफ्ना दाम्लाका गाँठा समाएर देशदौडाहामा भोट माग्न हिँडे । रैती रिझाउनका लागि यिनीहरूले एकार्कालाई तलैसम्म ओर्लिएर पँधेरे गालि गर्न थाले ।

पहिला लोग (लोकतन्त्रे गठबन्धन)ले आमसभामा वाक्यो ‘बामेहरूको सरकार आयो भने रैती मनुखेहरूले रुन पनि पाइन्न । बोल्न पनि पाइन्न । क्यै गर्न पानि पाइन्न ।’ त्यसपछि बाग (बामगठबन्धन)ले जवाफ दिँदै आमसभा गरेर वाक्यो ‘हाम्रो सरकारमा पनि रैतीहरूले मज्जासित रुन पाइन्छ । युवाजति विदेश जान्छन् फर्किंदा बाकसमा फर्किन्छन् । त्यसपछि त तिनका घरपरिवार जति पनि रुन पाउँछन् । बाटाघाटाहरू अहिलेको भन्दा पनि झन् बढि बिग्रँदै जान्छन्, त्यसले गाडि दुर्घटना बढ्छन् र मनुखे मर्छन् त्याहाँ पनि रुन पाइन्छ । भ्रष्टाचार, महङ्गी हाम्ले पनि बढाउँछम् त्यसको विरोध गर्दा जति बोले पनि भयो ।’

अर्को आमसभामा ‘लोग’ले भन्यो ‘बामेहरूले लोकतन्त्र समाप्त पार्छन् । कम्निस्ट अधिनायकवाद ल्याउँछन् ।’ त्यसपछि ‘बाग’ले जवाफ दियो ‘होइन होइन, हामीले लोकतन्त्रै मान्छम् । अधिनायकवाद ल्याउन्म् । अधिनायकवाद त सरकार आफैँ हुने हो । लोकतन्त्रेहरू र हाम्रो वर्ग एउटै हो । हाम्रो वर्गलाई अधिनायकवाद हुँदैन । अधिनायकवाद त गरिवगुरुवा, हरूवाचरुवा, भोका नाङ्गाहरूलाई हुने हो । हामी यो संविधान लेख्ने र मान्नेहरूलाई अधिनायकवाद हुँदैन । अधिनायकवाद त यो संविधान नमान्नेहरूलाई हुने हो । त्यत्रो जनयुद्ध छोडेर लोकतन्त्र मानेर आएको हुनाले बहुदल मानेको हुनाले हाम्रो बाग बनेको हो । अब हामीले क्रान्ति श्रान्ति क्यै पनि गर्दैनम् । समाजवाद त संविधानमै लेखिसक्या छ । हाम्रो समाजवाद भनेको त्यही त हो । लोकतन्त्रेहरू हामीसँग डराउनु पर्दैन ।’

‘लोग’ले फेरि भन्यो ‘बाग ले उत्तरतिर बढि सम्वन्ध बढाउँछ दक्षिणतिरको गतिविधि रोक्छ । उनीहरूलाई चिढाउँछ । यहाँ फेरि नाकावन्दी हुन्छ ।’ अनि ‘बाग’ ले जवाफ दियो ‘हाम्रो रोटी र बेटीको सम्वन्ध दक्षिणतिरै हो । बेलाबेलामा हाम्रो सरकार बनाइदिने, नियम कानून बनाइदिने, सरकारी नोकरचाकर भर्ना गर्दा कस्लाई बनाउने भनेर सुझाव सल्लाह उतैतिरबाट आउँछ । हामीले उनीहरूलाई टाढा राख्दैनम् । पुराना सन्धी सम्झौता जस्ताको तस्तै राख्छम् । बाँकी टाँकी नदीनाला पनि दक्षिणतिरैकालाई दिन्छम् ।’ यसरी दोहारी वाकयुद्धमा लोग र बागले आमसभा गरिरहेका छन् ।
१७ मङ्सिर २०७४
[email protected]