शान्तिमान प्रतिक्रियावादी र घोर दक्षिणपन्थी अवसरवादी गुटसँग आत्मसमर्पण गर्न पुगे :

‘१० लाख लिएर वाम गठबन्धनलाई समर्थन गरेको उनीहरुले नै हल्ला चलाएका छन्’ 

प्रकाशित मिति : २०७४ मंसिर १८

- लोकेन्द्रबहादुर कार्की, देजमोको तर्फबाट सिन्धुली–१ मा प्रतिनिधिसभाको उम्मेदवार

सिन्धुलीको १ नं. निर्वाचन क्षेत्रमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारहरुको पक्षमा राम्रो चुनावी माहौल बनिरहेको थियो । प्रतिनिधिसभामा मैले जित्ने स्थिति बनेर गएको थियो । प्रदेशमा पनि राम्रै स्थिति थियो । वाम गठबन्धनका उम्मेदवारहरुले हार्ने स्थिति प्रवल बनेर गएको थियो । हामी चुनावी प्रचार प्रसारमा गाउँ गाउँमा हिडिरहेका थियौं, सहिद परिवार, वेपत्ता परिवार, घाइते योद्धाहरुसँग भेटघाट गर्दै गरिब किसान, दलित आदिवासी सबै समुदायमा पुगेर आफ्नो निर्वाचन चिन्ह मुठ्ठीमा भोट मागिरहेका थियौं । दशवर्षे जनयुद्धमा यही क्षेत्रमा बढी काम गरेको हुनाले सबैसँग म परिचित थिएँ र सबैको सहानुभूति मप्रति बढेर गएको थियो । कांग्रेस र वाम गठबन्धनका उम्मेदवारभन्दा नैतिकता, इमान्दारिता, त्याग र निष्ठाको राजनीति गरेर आएको हुनाले जनताले मेरो उम्मेदवारीलाई रुचाएका थिए । म संसदवादीहरुका जस्ता टुरिस्ट उम्मेदवार होइन, जनताको सुखदुःखमा सँधै सँगै रहँदै आएको छु । जनताको पीडासँग सँधै उठबस गरिरहेको मान्छे हुँ । त्यसैले जनताले मलाई रुचाएका छन् । हाम्रो यही स्थिति देखिसकेपछि रातारात षड्यन्त्रपूर्वक प्रदेशसभा क) का उम्मेदवार शान्तिमान कार्कीलाई उम्मेदवारी फिर्ता गर्न गराउन माके र एमालेहरु कम्मर कसेर लागे । र, उनीहरु अन्ततः सफल भए ।

शान्तिमान क्रान्तिकारी आन्दोलन र सच्चा कम्युनिष्टको यो धारामा टिक्न सकेनन् र अन्ततः उनले प्रतिक्रियावादी र घोर दक्षिणपन्थी अवसरवादी गुटसँग आत्मसमर्पण गर्न पुगे । उनले वाम गठबन्धनसँग १० लाख रुपैयाँ लिएर आफ्नो उम्मेदवारी फिर्ता लिएर समर्थन गरेको भन्ने हल्ला उनीहरुले नै चलाइरहेका छन् । जे भएपनि शान्तिमानले क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, आमूल परिवर्तनका पक्षधर सहिद परिवार, वेपत्ता परिवार र सिंगो श्रमजीवी जनतालाई धोका दिए । यो अत्यन्तै खेदजनक अनैतिक र अराजनीतिक कार्य भएको मैले ठानेको छु । शान्तिमानको यो कदमलाई लिएर मेरो र अरु साथीहरुको समेत नाम जोडेर वाम गठबन्धनलाई समर्थन गरी चुनावी प्रचार प्रसार स्थगन गरेको भन्ने हल्ला विभिन्न मिडियाहरुमा चलाइएको रहेछ । यसको म खण्डन गर्न चाहन्छु । र, दुधौली नगरपालिका, फिकल गाउँपालिका, गोलन्जर गाउँपालिका र तीनपाटन गाउँपालिकाका मेरा आदरणीय मतदाताहरु दाजुभाइ दिदीवहिनीहरुमा वाम गठबन्धनका अवसरवादी तत्वहरुको कुनै पनि भ्रममा नपरी मुठ्ठी चिन्हमा मतदान गरी अत्यधिक मतले मलगायत सबै देजमोका उम्मेदवारलाई विजयी गराउन हार्दिक अनुरोध, अपील गर्दछु ।

दशवर्षे जनयुद्धमा बगेको रगत, सहिद वेपत्ता र जनताले देखेको आमूल परिवर्तनको सपना पूरा गर्ने महान अभिभाराबाट दायाँबायाँ नभई क्रान्तिकारी आन्दोलनमा अडिग रहने प्रतिबद्धता व्यक्त गर्दै म फेरि पनि आदरणीय मतदाता दाजुभाइ दिदीवहिनीहरुसमक्ष आफ्नै गौरवशाली इतिहासलाई न्याय र सम्मान गर्न पनि मुठ्ठी चिन्हमा मतदान गर्न पुनः अपील गर्दछु । (कुराकानीमा आधारित)