देजमोको “मुठ्ठी” चिन्हमा जनताको सहयोग र समर्थन जुटेको छ

प्रा.डा. ओम गुरुङ, प्रतिनिधिसभाको लागि समानुपातिक उम्मेदबार

प्रकाशित मिति : २०७४ मंसिर १८

 

(नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) केन्द्रीय सल्लाहकार सिमितिका अध्यक्ष, नेकपा (क्रान्तिकारी माओबादी) संबध्द देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको तर्फबाट प्रतिनिधि सभाको लागि समानुपातिक उम्मेदबार तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्ब महासचिव, आदिवासी जनजाति सूचि परिमार्जन उच्चस्तरीय कार्यदलका पूर्व संयोजक, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल तथा संघीय गठबन्धन, नेपालका प्रवक्ता समेत रहनुभएका त्रिभुवन विश्वबिध्यालयका प्राध्यापक डा. ओम गुरुङसँग निर्वाचनसँग सम्बन्धित लिइएको अन्तर्वार्ता–स.)

 

क्रान्तिकारी माओबादी पार्टीले मोर्चामार्फत् निर्वाचन उपयोग गर्ने निर्णय लिएसँगै देजमोको निर्वाचन चिन्ह “मुठ्ठी” मा भोट माग्दै जनताको घर घरमा पुग्नु भएको छ । “मुठ्ठी” को पक्षमा कस्तो बन्दैछ चुनावी माहौल ?

नेकपा (क्रान्तिकारी माओबादी) को पोखरामा सम्पन्न पहिलो राष्ट्रिय भेलाले देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो), नेपाल मार्फत मंसीर १० र २१ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचनमा भागलिने निर्णय गरेपछि देशका आम जनसमुदायबीच नयाँ राजनीतिक तरंग छाएको छ । चुनाव प्रचार प्रसार अभियानमा जनताको घरदैलोमा पुग्दा देजमोका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तक सबै बडो उत्साहित देखिन्छन् भने आम जनसमुदाय देजमोप्रति बडो उत्सुक देखिन्छन् । देजमोको मुठ्ठी चिन्हप्रति जनताको सहयोग र समर्थन जुटेको छ । अहिलेको चुनाबी माहोल पनि देजमोकै पक्षमा विकास भएको देखिन्छ । उनीहरू देजमोले चुनाव जितोस भन्ने चाहन्छन् । अहिलेसम्म ठूला भनिने राजनीतिक दलहरू सरकारमा पालैपालो बसेर जनताका न्यूनतम सेवा सुविधाहरूप्रति समेत उदासिन देखिएपछि जनताहरू देजमोप्रति आकर्षित भएका छन् र देजमोलाई विजयी गराएर देशमा परिवर्तन भएको हेर्न चाहन्छन् ।

समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । आदिवासी जनजाति आन्दोलनकोे एक अग्रणी नेता पनि हुनुहुन्छ । देशैभरिका आदिवासी जनजाति जनसमुदायको मतको के कस्तो अपेक्षा राख्नुभएको छ ?

म नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय सल्लाहकार समितिको अध्यक्ष हुँ । तापनि मलाई सबैले आदिवासी जनजातिको पहिचान र हक अधिकारको लागि आन्दोलन गर्ने नेताकै रूपमा बढी चिन्छन् । अहिले पार्टीले मलाई देजमो, नेपालको तर्फबाट प्रतिनिधिसभाको लागि समानुपातिक उम्मेदवारको रूपमा अगाडि सारेकोले म चुनाबी अभियानको क्रममा देशको बिभिन्न भागमा पुगेर घरदैलो कार्यक्रम गरे र गर्दैछु । चुनावी अभियानको संदर्भमा मलाई नेपालका आदिवासी जनजातिहरूले आफ्नो घरदैलोमा पाउँदा उनीहरू अत्यन्तै खुसी भए । चुनावी अभियानमा म जुन जुन गाउँ क्षेत्रहरूमा पुगँे, त्यहाँका आदिवासी जनजातिहरू सबैले आफ्नो पहिचान र अधिकारका लागि मैले चुनाव जित्नैपर्छ भन्ने मान्यता राखेको पाएँ र उनीहरू सबैले आफु र आफ्ना परिवारका सबै सदस्यहरूले मेरो मुठ्ठी चिन्हमा मतदान गरेर मलाई जिताउने प्रतिबद्धता जाहेर गरेका छन् । म नपुगेको गाउँ ठाउँहरूमा समेत म चुनावमा उठेको छु भनी थाहा पाएका जतिले मेरो मुठ्ठी चिन्हमा मतदान गर्ने प्रतिबद्धता जनाएको जानकारी मैले पाएको छु । यसबाट म अत्यन्त हर्षित र उत्साहित भएको छु ।

संसदीय व्यवस्थाका पक्षधर ठूला भनिएका पार्टीहरुले समानुपातिक तर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिटको थ्रेसहोल्डको प्रावधान राखेका छन् राष्ट्रिय पार्टी बन्न । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले यो मतसीमा कटाउने सम्भावना चाहिं कस्तो देख्नुहुन्छ ?

कथित ठूला भनिने राजनीतिक दलहरूले साना दलहरूको राजनीतिक अस्तीत्व मेटाउन र उनीहरूको राजनीतिक सहभागिता निषेध गर्न प्रतिनिधि सभामा ३ प्रतिशत र प्रदेशसभामा कम्तिमा १ सिट जित्नै पर्ने प्रावाधान राखेको छ । यो अत्यन्तै अलोककान्त्रिक पद्धति हो । यस्तो अलोकतान्त्रिक पद्धतिको घोर बिरोध गर्नु पर्दछ र हाम्रो पार्टीले त्यसको जोडदार बिरोध गरेको छ । तथापि आमुल परिवर्तनका पक्षधर नेपाली जनताले देजमो, नेपाललाई दिएको सहयोग र समर्थनको आधारमा देजमोले प्रत्यक्षतर्फ १ सिट र समानुपातिक तर्फ ३ प्रतिशत मत ल्याउन कुनै समस्या हुँदैन भन्ने बिश्वास लाग्छ ।

अन्य पार्टीहरुभन्दा यहाँहरु अलि फरक तरिकाले निर्वाचनको प्रतिस्पर्धामा हुनुहुन्छ । अहिलेको व्यवस्था र संविधानको विरोध र भण्डाफोर चाहिं किन गर्नुभएको हो ? संक्षिप्तमा चर्चा गरिदिनुस् न ।

प्रतिक्रियावादी र प्रतिगामी शक्तिहरूले बाजागाजा र तामझामका साथ होहल्लागर्दै ठूला ठूला रंगीचंगी ब्यानर, उम्मेदबारहरूको रंगीन फोटासहितका पोस्टर तासेका गाडीका लावा लस्करसहित चुनाव प्रचार गरिरहेका छन् । धनबल र बाहुबलको अत्यधिक प्रयोग गरिरहेका छन् । सिधासाधा जनताहरूलाई विकास र बिभिन्न खालका प्रलोभन देखाएका छन् । ठूला ठूला आमसभाहरू गरिरहेका छन् । निर्वाचन आचारसंहितालाई लत्याएका छन् । तर हामीले त्यसो नगरीकन निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अन्तर्गत रहेर शान्त, सालिन र सामान्य किसिमले जनताको बस्ति बस्ति र घर घर पुगेर, कोणसभाहरू गरेर आफ्नो चुनाबी प्रचाररप्रसार गरीरहेका छौ । हामीले चुनावमा भाग लिनुको अर्थ अहिलेको प्रतिक्रियावादी संसद, राज्यसत्ता र प्रतिगामी संविधानलाई मानेर होइन । हाम्रो पार्टीले चुनावमा भाग लिनुको अर्थ संसदीय मोर्चाबाटै प्रतिक्रियावादी र प्रतिगामी तत्वहरूको जनबिरोधी र राष्ट्रघाति कुकृत्यहरूको भण्डाफोर गर्न, राष्ट्र र राष्ट्रिय स्वाधीनताको सवालहरू उठाउन, उत्पीडित जातिरजनजाति, वर्ग, लिंग र क्षेत्रहरूको अधिकार स्थापित गर्न, जनताका आधारभूत सेवा सुविधा पूरा गर्न, जनतालाई प्रतिक्रियावादी शक्तिहरूका राष्ट्रघाति र जनविरोधी क्रियाकलापबारे सचेत बनाउन र त्यसका बिरूध्द संगठितगर्दै मुलुकमा जनवादी राज्यसत्ता निर्माणको तयारी गर्न यो संसदीय चुनाबको क्रान्तिकारी उपयोग गरेका हौ । यसबाट प्रतिक्रियाबादीहरू तर्सेका पनि छन् ।

के अहिलेको संविधान संशोधन गरेर आदिवासी जनजाति लगायतका उत्पीडित जनसमुदाय तथा श्रमजीवी वर्गको अधिकार स्थापित गर्न सकिन्न र ?

अहिलेको संविधानले आदिवासी जनजातिहरूको पहिचान मेटाउने र अंधिकार हनन गर्ने काम गरेको छ । नेपाल सामाजिक विविधको देश हो, तर संविधानले नेपालको विविधता र बहुलतालाई मानेको छैन । राज्यसत्ता अझैपनि एकात्मक छ । जाति, भाषा, धर्म, लिंग, बर्ग र क्षेत्रको आधारमा हुने उत्पीडन र बिभेदलाई संबिधानले यथावत कायम राखेको छ । त्यसैले आदिबासी जनजाति लगायत मधेसी, दलित, महिला, आदिबासी खस, मुस्लिम समुदायका जनताहरूले यो संबिधानलाई स्वीकार गरेका छैनन् । उनीहरूको दृष्टीकोणमा यो संविधान, प्रतिगामी, प्रतिक्रियाबादी र यथास्थितिबादी भएकोले यसका बिरूध्द उनीहरूले संयुक्त रूपमा देशब्यापी आन्दोलन गर्दै आएका छन् । आदिबासी जनजाति, मधेसी, दलित, खसहरूो आन्दोलनलाई मत्थर पार्न नेपाली का‘ग्रेस र नेकपा (माओबादी केन्द्र) ले संबिधान संशोधन गरेर आदिबासी जनजाति, थारू र मधेसीहरूको माग संबोधन गर्छौ भन्ने झूठ्ठा आश्वासन दिईरहेका छन् । तर उनीहरू संबिधान संशोधन गरेर आदिबासी जनजाति, मधेसी, दलित, थारू, महिला, मुस्लिम, खस लगायतका बहिष्कृत र सिमान्तकृत समुदायका जनताहरूलाई अधिकार सम्पन्न बनाउन चाहदैनन् । उनीहरूले कथम् कदाचित संबिधान संशोधन गरीहाले पनि पनि संशोधनले मात्र उनीहरूको माग पूरा गर्न सक्दैन । त्यसैले नेपालका आदिबासी जनजाति लगायत उपेक्षित उत्पीडित वर्ग समुदाय र क्षेत्र लिंगको पहिचान स्थापित गर्न र उनीहरूको हक अधिकार सुनिश्चित गर्नका लागि बर्तमान संविधान खारेजी गरेर नयाँ खालको जनगणतान्त्रिक संविधान लेखिनु पर्दछ ।

गठबन्धनका दलहरुले आफूलाई निर्विकल्प भनेर दावी गरिरहेको अवस्थामा देशभक्त जनगणतान्तिक मोर्चा, नेपालले ५२८ जना उम्मेदवारहरुलाई चुनावी मैदानमा उतारेको छ । जनताले देजमोलाई वैकल्पिक शक्तिको रुपमा हेरेको पाउनुभयो ?

अहिले निर्वाचनको बेलामा आएर लोकतन्त्रको सुदृढिकरण, राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको खोल देखाएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले बाम एकता र नेपाली कांग्रेस र राप्रपाले लोकतान्त्रिक गठबन्धन गरेर नेपाली जनतालाई भ्रम दिने प्रयास गरेका छन् । तर उनीहरूको बाम एकता र लोकतान्त्रिक गठबन्धन चुनाव जित्ने, सरकार बनाउने र देशलाई हरीकंगाल बनाउने रणनीतिमात्र हो भन्ने कुरा नेपाली जनताले बुझिसकेका छन् । त्यसैले अवसर, चुनाब, सरकार र सत्ताको लागि गरिएको बाम एकता र लोकतान्त्रिक गठबन्धनको कुनै अर्थ छैन । यस्ता एकता र गठबन्धनले नेपाली जनताको मुक्ति संभबै छैन । अहिलेको निर्बाचनको अभियानमा हामीले बाम एकता र लोकतान्त्रिक गठबन्धनको पनि चिरफार गर्दै यसबारे नेपाली जनतालाई थप सचेत र सजग बनाएका छौ र हामीले हाम्रो गौरबशाली पार्टी नेकपा (क्रान्तिकारी माओबादी) लाई नेपाली जनताबीच नेपालको वैकल्पिक राजनीतिक शक्तिको रूपमा प्रस्तुत गर्न सफल भएका छौ भने नेपाली जनताले पनि यसलाई स्वीकार गरेका छन् ।

यतिखेर राष्ट्रियता, जनतन्त्र र जनजींविकाका मुद्दाहरु निकै नै जटिल बनेर गएका छन् । यी समस्याहरुको वास्तविक समाधान के अहिलेको व्यवस्था र संसदवादी पार्टीहरुले गर्ने देख्नुहुन्न ?

अहिले नेपालको जनतन्त्र र जनजीबिका अस्तब्यस्त अबस्थामा छ । महंगी, कालाबजारी, घुसखोरी, भ्रष्टाचार, दण्डहीनता, हत्या हिंसा, बलत्कार आदि जस्ता जघन्य अपराधहरूबाट नेपाली जनता दिनप्रतिदिन प्रताडित बनेका छन् । देशको सामाजिक, आर्थिक, शैक्षिक, उधोग धन्दा, बन्द ब्याबसाय, वातावरण सबै क्षेत्रहरू अस्तब्यस्त छन् । देशका सबै क्षेत्रहरूमा माफियाहरूको बिगबिगी छ । बैदेशिक हस्तक्षेप दिन परदिन बढेकोले नेपालको राष्ट्र र राष्ट्रिय स्वाधिनता खतरामा परेको छ । तर देशको यस्तो हालतप्रति अहिलेको राज्यसत्ता र कथित ठूला भनिने राजनीतिक दलहरू उदासिन छन् । उनीहरूको मुख्य ध्यये भनेको देशको स्वतन्त्रता, भोगोलिक अखण्डता, र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने भन्दा मुलुकको हकहित बिरूद्धका राष्ट्रघाती सन्धिहरू गर्ने, विदेशी शक्तिहरूको दलाली गरेर उनीहरूको भरमा सत्तामा पुग्ने, शक्ति हत्याउने र त्यसैमा आफुहरू टिकिरहने मात्र हो । त्यसैले यस्ता जनविरोधी र राष्ट्रघाती राज्यसत्ता र राजनीतिक दलहरूबाट न जनतन्त्र र जनजीविका सुनिश्चित गराउन सकिन्छ न त नेपालको राष्ट्र र राष्ट्रिय स्वाधीनता नै जोगाउन सकिन्छ ।

नेपालमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लैंङिगक अन्तरविरोधहरु हल गर्न फेरि पनि नयाँ जनवादी क्रान्ति गर्नुपर्ने आवश्यकता औल्याउँदै आउनुभएको छ । र, निर्वाचन उपयोगलाई पनि क्रान्तिको तयारीसँग जोडेर व्याख्या गर्ने गरिएको छ नि ?

अहिले नेपालका ठूला भनाउँदा बाम शक्ति र नेकपा (माओबादी केन्द्र) र केही बाम बुद्धिजीबिहरूले समेत नेपालमा जनबादी क्रान्ति पूरा भैसकेको हल्ला पिटाउने गरेका छन् । बास्तवमा यो गलत हल्ला मात्र हो । नेपालमा जनवादी क्रान्ति पूरा भएको छैन । यदि जनवादी क्रान्ति पूरा हुँदो हो त नेपालका शोषित र पीडित र उत्पीडित र उपेक्षित जाति, वर्ग, लिंग र क्षेत्रका जनताहरूको सामाजिकरसास्कृतिक, आर्थिक तथा राजनीतिक जीवनमा केही न केही परिबर्तन आउनु पथ्र्यो, तर देशमा निरंकुश राजतन्त्र ढालेर संघीय गणतन्त्र स्थापना भएको एक दशक नाघीसक्दा पनि शोषित र पीडीत जनताको जीवनस्तरमा कुनै परिवर्तन आएको छैन । त्यसैले नेपालमा विद्ययमान वर्तमान जातीय, बर्गीय, लिंगीय र क्षेत्रीय अन्तरबिरोध हल गर्न जनवादी राज्य व्यवस्था स्थापना आजको ऐतिहासिक आवश्यकता बनेको छ र त्यस्तो ब्यबस्थाको साथापना नया जनवादी क्रान्तिबाट मात्र संभब छ । निर्वाचन अभियानको दौरानमा हामीले संसदीय राज्यसत्ताका बिबिध बिकृति र बिसंगतिहरूको पनि भण्डाफोर गर्दै प्रतिक्रियावादी राज्यसत्ताको बिरूद्ध जनतालाई सचेत र संगठित गर्न निर्वाचनको क्रान्तिकारी उपयोगमा जोड दिदै आएका छौ ।

निर्वाचन उपयोगले क्रान्तिको तयारीलाई चाहिं कसरी सहयोग पु¥याइरहेको छ ? संक्षिप्तमा चर्चा गरिदिनुस् न ।

अहिलेको निर्वाचनमा जनतामा खासै उत्साह र उत्सुकता पनि देखिदैन । निर्वाचनका बेला ठूला भनिने राजनीतिक दलहरूले दिने विकासे नाराहरूबाट जनताहरू वाक्क र दिक्क भएका छन् । वर्तमान संसदीय राज्यसत्ताप्रति नेपाली जनताको आस्था र विश्वास हराइसकेको छ । यो व्यवस्थाले नेपाली जनतालाई निराशा बाहेक अरू केही दिएको छैन । पहिलो चरणको निर्बाचनमा कम प्रतिशतमा मत खस्नु संसदीय ब्यबस्थाप्रति नेपाली जनताको आस्था र विश्वास हराउँदै जानुको परिणाम हो । संसदीय राज्सव्यवस्थाप्रति विकास भएको नेपाली जनताको निराशा, कुण्ठा र अविश्वासलाई निर्वाचन अभियानको अवसरमा हामीले धेरै हदसम्म क्रान्तिकारी जोश र शक्तिमा रूपान्तरण गर्न सफल भएका छौ । अतस् अहिलेको निर्बाचनबाट हाम्रो सहभागिताले जनताबीच हाम्रो पार्टीको पहिचान स्थापित गराउन, हामीले उठाएका जनजीबिका, जनतन्त्र, राष्ट्र र राष्ट्रिय स्वाधीनता, आदिवासी जनजातिका पहिचान र हक अधिकारका सवालहरू जनताबीच पु¥याउन, पार्टीको संगठन निर्माण र बिस्तार गर्न तथा अन्ततः जनवादी क्रान्ति तयारी गर्न ठूलो मद्दत पुगेको छ ।

अन्तमा, उत्पीडित जनसमुदाय तथा श्रमजीवि वर्ग समुदायमा के अपील गर्न चाहनहुन्छ ?

अहिले देशको राजनीति र राज्यसत्ता प्रतिक्रियावादी र प्रतिगामी शक्तिहरूको नियन्त्रणमा भएकोले नेपालका आदिबासी जनजातिहरूको पहिचान गुमेको छ, उत्पीडित र उपेक्षित र शोषित पीडित जनताहरूको स्तन्त्रता र अधिकार कुण्ठित भएको छ । देशको सार्बभौमिकता र राष्ट्रिय स्वाधिनता खतरामा परेको छ । जातीय, बर्गीय, भाषिक, धार्मिक, लैगिक र क्षेत्रीय बिभेद यथावत कायम छ । देशको मूल राजनीति, श्रोत, शक्ति र राज्यसत्तामा उत्पीडित जातिरजनजाति, बर्ग, लिंग र क्षेत्रका जनताहरूको पहुच र प्रतिनिधित्व छैन । गरीब किसान मजदुर र श्रमजीवि वर्गहरू राज्यको सेवा सुबिधाहरूबाट बंचितिकरणमा परेका छन् । यी सबै बिभेद र उत्पीडनको अन्त्य गरी नेपाली जनतालाई श्रोत शक्ति र अधिकार सम्पन्न गराई स्वाभिमान, स्वाधीन र सार्बभौम सम्पन्न नागरिकको रूपमा बाच्न पाउने राजनीतिक ब्यबस्था र समतामूलक समाजको निर्माण गर्न प्रतिक्रियाबादी, प्रतिगामी, जनबिरोधी र राष्ट्रघाती राजनातिक दलहरूलाई पराष्ट गरौ । उनीहरूले देखाएको भुलभलैया र लोभ लालचमा कोही नलागौ । निर्बाचनका बेला उनीहरूबाट पटक पटक ठगिएका छौ । उनीहरू यसपाली पनि बिकासको झूठा पोकोहरू लिएर जनतालाई ठग्न आईरहेका छन् । त्यसबाट सबै होसियार होऔ । अहिलेको निर्बाचन उनीहरूलाई पराष्ट गर्ने सुनौलो अवसर हो । यो अवसर गुम्न नदिउँ ।
त्यसैले, अन्तमा नेपालका आदिबाली जनजाति, मधेसी, दलित, खस र मुस्लीमहरूको पहिचान र अधिकारको लागि अलिकति पनि बिचलित नभैकन आजीवन संघर्ष गर्दै आईरहेको तथा नेपालका गरीब, किसान, मजदुर तथा श्रमजीबि बर्गहरूको स्वतन्त्रता र हकहीतको लागि प्रतिबद्ध र सदा समर्पित म र म जस्ता देजमो, नेपालका क्रान्तिकारी उम्मेदबारहरूलाई मुठ्ठी चिन्हमा तपाईहरूको अमूल्य मत प्रदान गरेर बिजयी बनाउनुस् भनी म यसै पत्रिकामार्फत् आम नेपाली न्यायप्रेमी जनसमुदायहरूलाई हार्दिक अपिल गर्दछु ।