संघर्षमय देजमोको निर्वाचन उपयोग

प्रकाशित मिति : २०७४ मंसिर १८

- विनोद सहयात्री

नेपालमा नयाँ जनवादी क्रान्तिको तयारीमा रहेको नेकपा (क्रान्तिकारी माओवादी)ले आफ्नो वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको ब्यानरमा स्थानीय तह निर्वाचन, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन उपयोग गरेको छ । रणनीति प्रत्याक्रमणको दोस्रो चरणसम्म पुगेको तत्कालीन जनयुद्धले नेतृत्वले गरेको विश्वासघात र धोकाका कारण जनयुद्धले धक्का खाएर प्रतिक्रान्ति हावी भएको वस्तुगत अवस्था, टुट, फुट र विभाजनका कारण आन्तरिक स्थिति कमजोर रहेको स्थिति र आमूल परिवर्तनको आन्दोलनमा नेतृत्वले पटक पटकको धोका र गद्दारी गरेका कारण आम जनता र क्रान्तिकारी पंक्तिमा समेत निराशाको बादल मडारिरहेको अवस्थामा आफ्नो शक्ति सञ्चय गर्ने, गतिशिल र जुझारु बनाउँदै आत्मगत अवस्थालाई सुदृढ गरेर जानुपर्ने विश्लेषणका आधारमा क्रान्तिकारी माओवादीले वर्तमान दलाल तथा नोकरशाही पुँजीवादमा आधारित संसदीय व्यवस्था वा सत्ताले आयोजना गरेको निर्वाचनको उपयोग गरेको हो । संसदीय व्यवस्था, सत्ता र संविधानको राष्ट्रविरोधी तथा जनविरोधी चरित्रको भण्डाफोर गर्ने, पार्टी तथा मोर्चाका नीति कार्यक्रमहरुलाई जनतामाझ पु¥याउने, संसदीय व्यवस्थाका पक्षधर दलहरुले जनतामा फैलाएको भ्रमलाई चिर्ने र आमूल परिवर्तनका पक्षधर जनतालाई क्रान्तिकारी आन्दोलनमा संगठित गर्ने उद्देश्यलाई केन्द्रमा राखेर संघर्षकै एउटा मोर्चाको रुपमा निर्वाचन उपयोगको कार्यनीतिमा सिंगो पार्टीपंक्ति वा मोर्चापंक्तिलाई परिचालन गरिएको छ ।

कतिपयले सोचे वा अड्कलबाजी गरेभन्दा व्यापक र हस्तक्षेपपूर्ण तरिकाले देजमोको तर्फबाट दिइएको उम्मेदवारी, चुनावी प्रचार प्रसार तथा भण्डाफोर सभाहरुको व्यापक मात्रामा गरिएको आयोजना, जनताबीचमा गरिएका क्रान्तिकारी विचारहरुको प्रस्तुतीले संसदवादी पार्टी र तिनका नेताहरुका त्रास पैदा भएको छ भने देशी तथा विदेशी प्रतिक्रियावादीहरुको पनि पार्टी र मोर्चाप्रति सोधीखोजी बढेर गएको छ । देजमोबाहेक निर्वाचनमा भाग लिएका सबै राजनीतिक पार्टीहरु वर्तमान संसदीय व्यवस्था, सत्ता र संविधानलाई मान्दछन् । संसदीय व्यवस्थाका पक्षधरहरु लोकतान्त्रिक र वाम गठबन्धन बनाई दुईवटा ध्रुवमा ध्रुवीकृत भएका छन् भने देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले कुनै पार्टी वा शक्तिसँग तालमेल, सहकार्य तथा गठबन्धन नबनाई एकल रुपमा उम्मेदवारी दिएको छ । तालमेल वा गठबन्धनमा सरिक भएर जाँदा संसदवादी पार्टीहरुले राष्ट्रिय पार्टी बन्नका लागि तय गरेको मापदण्ड सजिलै पूरा गर्न सकिने पर्याप्त अवसर र आधार हुँदा हुँदै पनि मोर्चाले किन एक्लै उम्मेदवारी दिएको हो भनेर धेरैले आश्चर्य पनि मानेका छन् । तर मोर्चाका नेताहरु पटक पटक दोहो¥याएर भनिरहेका छन् कि हामी संसदीय व्यवस्था, सत्ता र संविधान मान्दैनौं, त्यसको खारेजी चाहन्छौं, यो व्यवस्थालाई जरैदेखि उखेलेर फालेर नयाँ जनवादी राज्यव्यवस्थाको स्थापनाका निम्ति नयाँ जनवादी क्रान्तिको तयारीमा अगाडि बढेका छौं, निर्वाचन उपयोगको माध्यमबाट जनसम्बन्ध सुदृढ पारिरहेका छौं ।

देशलाई भारतीय विस्तारवादी तथा साम्राज्यवादी हस्तक्षेपबाट मुक्त नपारी स्वाधीन रुपमा अर्थतन्त्रको विकास गर्न नसकिने र आर्थिक समृद्ध पनि कोरा नारामा मात्र सीमित हुने बताउँदै आएको क्रान्तिकारी माओवादी तथा मोर्चाले मुलुकमा आर्थिक क्रान्ति तथा समृद्धिका लागि पहिले नयाँ जनवादी क्रान्तिको कोर्स पूरा गर्नुपर्ने निष्कर्षमा आफूलाई उभ्याउँदै आएको छ । चौतर्फी संसदवादी, अवसरवादी र संशोधनवादी शक्तिहरुको घेराबन्दी, एक हिसाबले आर्थिक नाकाबन्दी गरिएको अवस्थामा चरम अभाव र समस्याबीच सिंगो पार्टीपंक्तिमा देखिएको गतिशिलता र चुनावी प्रतिस्पर्धामा आफ्नो हार प्रायः निश्चित जस्तो हुँदा पनि पूरै आत्मविश्वास र उत्साहका साथ उम्मेदवारी दिनु र सानै शक्ति किन नहोस् एकजुट भएर जनताको घरदैलोमा पुग्नुले देशैभर पार्टी र मोर्चालाई स्थापित मात्रै गरेको छैन, ठाउँ ठाउँमा वैकल्पिक नेतृत्वहरु पनि स्थापित भएका छन् । यसर्थमा साँच्चै संघर्षमय बनेको छ क्रान्तिकारी माओवादी र देजमोका लागि निर्वाचन उपयोगको कार्यनीति । र, यसले क्रान्तिको तयारीका लागि ठोस रुपमा अर्को कार्यनीतिक स्टेप चाल्न क्रान्तिकारी माओवादी तथा मोर्चाको नेतृत्वलाई ठूलो शिक्षा तथा अनुभव पनि प्राप्त भएको छ ।