तुलसीपुर, १५ मंसिर । बम विस्फोटनमा परि ज्यान गुमाएका २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको परिवारलाई सरकारले २५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठमार्फत सरकारले चौधरीको परिवारलाई २५ लाख दिने सन्देश पठाएको हो । बिहीबार दाहसंस्कारका लागि चौधरीको घर पुगेका प्रजिअ श्रेष्ठले सरकारले दिने ‘सबै सुविधा’ दिन लागेको जानकारी दिए । उनका अनुसार राहतस्वरूप १० लाख र बिमाबापतको १५ लाख रुपैयाँ परिवारलाई दिन लागिएको हो ।
उनी बिहीबार बिहान तुलसीपुर उपमहनगरपालिकाको क्वांगीस्थित चौधरीको निवासमा श्रद्धाञ्जली दिन पुगेका थिए । निर्वाचन प्रयोजनका लागि ९६ हजार म्यादी प्रहरी रहेको सुनाउँदै उनले चौधरी पहिलो मृतक भएको बताए । ‘राज्यका लागि प्राण त्याग गर्ने विनोद पहिलो म्यादी हुन्’, उनले भने, त्यसैले राज्यले र प्रहरी संगठनले पनि यथोचित सम्मान गर्नेछ ।’
राहतस्वरूप १० लाख र बिमाबापतको १५ लाख रुपैयाँ परिवारलाई दिइने स्थानीय प्रशासनले जनाएको छ । उनले प्रहरी र म्यादीबाट स्वेच्छिक रकम संकलन गरी चौधरीका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । मृतककी श्रीमती अञ्जनालाई रोजगारीको व्यवस्था तथा उनकी डेढ वर्षीया छोरी प्रमिसाको शिक्षादीक्षाको व्यवस्थापन सरकारले गर्ने उनको भनाई थियो ।
अञ्चल प्रहरी प्रमुख एसएसपी दिलीपबहादुर चौधरीले कर्तव्य पालनका सिलसिलामा मृत्युवरण गरेका विनोदलाई नियमानुसार पाउने सबै सुविधा प्रदान गर्न लागिपर्ने बताए । प्रदेश प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक मधुप्रसाद पुडासैनीका तर्फबाट किरिया खर्चका लागि २५ हजार र जिल्ला प्रहरी कार्यालय दाङका तर्फबाट एसपी दुर्गा सिंहले २५ हजार गरी ५० हजार रुपैयाँसमेत प्रदान गरिएको थियो । तुलसीपुरका मेयर घनश्याम पाण्डेले उपमहानगरपालिकाका तर्फबाट २५ हजार रुपैयाँ किरियाखर्च उपलब्ध गराउने घोषणा गरे । प्रमिसाको कक्षा १२ सम्मर्को पढाई खर्च उपमहानगरपालिकाले बेहोर्ने उनको भनाइ थियो ।
विनोदको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न प्रजिअ श्रेष्ठ, अञ्चल प्रहरी प्रमुख चौधरी, जिल्ला प्रहरी प्रमुख सिंह, इलाका प्रहरी प्रमुख सुधरिराज शाहीलगायत उच्च प्रहरी अधिकारी पुगेका थिए । प्रहरीले सम्मानस्वरूप सलामी अर्पण गरेको थियो । चौधरीको बिहीबार नै बबई घाटमा अन्त्येष्टि गरिएको छ ।