प्याजको मूल्य बढेर प्रतिकिलो १५० रुपैयाँ पुग्यो

प्रकाशित मिति : २०७४ मंसिर १४

१४ मंसिर, काठमाडौं । भारतले प्याजको निकासीमा कडाइ गरेपछि नेपाली वजारमा प्याजको मूल्य अकासिएर प्याजको मूल्य प्रतिकेजी १५० रुपैयाँसम्म पुगेको छ । गत शुक्रबार कालिमाटी तरकारी तथा फलफूल बजारमा प्रतिकिलो ८५ रुपैयाँमा प्याज खरिद गरेका उपभोक्ताले त्यसको भोलिपल्टै ११५ रुपैयाँ तिर्नु प¥यो । त्यसयता मंगलबार फेरि प्याजको भाउ बढेर प्रतिकिलो १२५ रुपैयाँ पुगेको छ भने खुद्रा बजारमा अहिले प्याजको भाउ बढेर प्रतिकिलो १५० रुपैयाँसम्म पुगेको छ ।
मंसिर ७ गते भारत सरकारले प्याजको निर्यातमा कडाइ गरेपछि नेपालमा त्यसको प्रभाव परेको हो । नेपालमा करीव ९५ प्रतिशत प्याज भारतबाटै आयात हुन्छ ।
प्याजको उत्पादन घटेर आन्तरिक बजारमा मूल्य आकाशिन थालेपछि आन्तरिक बजारमा आपूर्ति बढाउन र नियन्त्रण गर्न भारत सरकारले निर्यातमा अंकुश लगाएको छ ।
भारतमा अहिले प्याजको मूल्य दुई वर्षयताकै उच्च विन्दूमा पुगेको छ । भारतले आफ्ना छिमेकी मुलुक नेपाल, पाकिस्तान, भुटानदेखि खाडी मुलुकसम्म ठूलो परिमाणमा प्याज निर्यात गर्छ ।
दुई महिनाअघिदेखि नै भारतमा प्याजको मूल्य बढ्न थालेको हो । दुई महिनाअघि भारतबाट प्रतिकिलो ३५ देखि ४० रुपैयाँ आइसीमा व्यवसायीले प्याज आयात गर्थे । न्यूनतम मूल्य कायम भएपछि अहिले प्याजको भाउ ४० प्रतिशतसम्म बढेको महासंघ बताउँछ । व्यवसायीले अहिले भारतबाटै प्रतिटन ८० हजार रुपैयाँमा प्याज खरिद गरिरहेका छन् । व्यवसायीले भारतका नासिक, इन्दौर, कानपुर, चण्डीगढ लगायतका क्षेत्रबाट प्याज आयात गर्छ ।