‘जनताले ‘मुठ्ठी’ चिन्हमा भोट हाल्छौ भनेका छन्’

निलबहादुर पुन मगर, बाग्लुङ–२ बाट प्रतिनिधिसभाको उम्मेदवार

प्रकाशित मिति : २०७४ मंसिर ६

वाग्लुङको निर्वाचन २ नं क्षेत्रमा वाम गठबन्धन र काँग्रेस वीचमा नै मुख्य प्रतिस्पर्धामा रहेका छन् भने देजमो, नेपाल निर्णायक मतमा रहेको छ । १६ दिनसम्मको चुनावी अभियान सकिँदासम्म देजमोले ब्यापक जनसमर्थन पाएको छ । जनता देजमोप्रति आशावादी देखिएका छन् । अभियानका दौरानमा प्रत्येक प्रत्येक गाउँ गाउँ जानेक्रममा जनताहरुमा मोहन वैद्य किरण नेतृत्वको माओवादी सही छ, यसले मात्रै क्रान्ति गर्ने विश्वास रहेको पायौं । अहिलेको संविधान जनमुखी छैन, आम शोषित, पिडित जनताको पक्षमा छैन । यो संविधान केही समय पछि नै खारेज हुनेवाला छ ।

त्यसैले आमशोषित उत्पीडित जनताको पक्षमा रहेका हाम्रो पार्टी, मोर्चालाई रोज्नलाई अनुरोध गरेका छौं । प्रतिगामी, प्रतिक्रियावादी, दक्षिणपन्थी अवसरवादीहरुको पुरानै भ्रष्टाचारी, फुस्रा आश्वासन र भ्रम दिने पार्टीहरुको विकल्पको रुपमा देजमोलाई अवसर दिन जनतामा आव्हान गरेका छौं । जनताले हामीलाई ‘मुठ्ठी’ चिन्हमा भोट दिने आश्वासन दिनुभएको छ ।

हामीले जनताको बीचमा गएर स्पष्ट रुपमा भनेका छौं– ‘अहिलेको संसदीय व्यवस्थाबाट जनताको अधिकार प्राप्त हुँदैन । संसदवादीहरुले जितेर संसदमा गएभने उनीहरुले गर्ने भनेको जनघात र राष्ट्रघात नै हो, भ्रष्टाचार र अनियमितता नै हो, महंगी र कालोबजारी नै हो । मुलुकमा जनताको जनवादी राज्यव्यवस्था स्थापित नभएसम्म मुलुकमा दीगो शान्ति र समृद्धि सम्भव छैन । क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल जनताको त्यही जनवादी राज्यव्यवस्था स्थापना गर्नका निम्ति नयाँ जनवादी क्रान्तिको तयारीमा अगाडि बढेको छ ।’ (कुराकानीमा आधारित)