संसदीय निर्वाचन र देशको भविष्य

प्रकाशित मिति : २०७४ मंसिर २

- मोहन वैद्य‘किरण’

माेहन वैद्य ‘किरण’

दोस्रो संविधान सभाद्वारा पुरानै संसदीय बहुदलीय व्यवस्थाको आंशिक सुधारसहित पुनःस्थापना भएको छ । यसै व्यवस्थाअन्तर्गत स्थानीय निर्वाचन भइसकेको छ र अहिले प्रतिनिधि तथा प्रदेश सभाहरुको निर्वाचन हुन गैरहेको छ । यो वेला सकारात्मक र नकारात्मक दुबै दृष्टिले चुनावी माहोल तातिएको छ । ठीक यसै प्रसङ्गमा संसदीय व्यवस्था, निर्वाचन र देशको भविष्यबारे हाम्रा सामु कतिपय गंभीर प्रश्नहरु उपस्थित भइरहेका छन् । 

     सबैभन्दा पहिलो कुरा त निर्वाचनमा थ्रेसहोल्डको व्यवस्था गरिएको छ । यसले साना र उदीयमान नयाँ पार्टीहरुको अस्तित्वका लागि जटिल समस्या पैदा गरिदिएको छ । अनावश्यक रुपमा धेरै पार्टीहरु बन्ने प्रक्रियामा यसले छेकबार लगाएको छ र यसलाई सकारात्मक पनि भन्न सकिएला, तर को आवश्यक र कोे अनावश्यक भनेर कुन मापडण्डका आधारमा निर्धारण गर्ने ? यो पनि एउटा समस्या नै हो । 

    अहिले देशमा कतिपय राजनीतिक दलहरु मिलेर दुई ओटा गठबन्धन पनि बनिसकेका छन् “लोकतान्त्रिक” गठबन्धन र “वाम” गठबन्धन । यी दुई गठबन्धनको बेग्लै स्वतन्त्र पहिचान र औचित्यबारे पनि अनेकौं प्रश्न उठ्न थालिसकेका छन् । वर्तमान सत्ता, व्यवस्था तथा संविधान, खुलाबजार अर्थतन्त्र, नव–उदारवाद– यी सबै दुवै गठबन्धनका लागि स्वीकार्य छन् । साथै, यी दुवैले साम्राज्यवादी तथा विस्तारवादी प्रभुहरुलाई रिझाउन पनि कुनै कसर बाँकी राखेका छैनन् । अनि यी गठबन्धनका बिच तात्विक अन्तर के रह्यो त ?     वर्तमान संसदीय व्यवस्थाको दार्शनिक आधार बहुलवाद हो भने राजनीतिक आधार बहुदलीय व्यवस्था । यदि यो कुरा साँचो हो भने थ्रेसहोल्डको व्यवस्था तथा गठबन्धनको प्रक्रियाले सत्ता र संसदमा प्रभावशाली पार्टी केवल दुई वा बढीमा तीनसम्म बन्न सक्लान् । अनि यस स्थितिमा बहुलवाद र बहुदलीय व्यवस्थाको औचित्य कसरी कायम रहन सक्तछ ? यो एउटा गंभीर सैद्धान्तिक प्रश्न हो । 

     संसदीय व्यवस्थाको चुनावी राजनीतिबारे सबैलाई थाहा भएकै कुरा के हो भने सत्ता र पैसा यस राजनीतिका दुई अनिवार्य तŒव हुन् । अहिले सत्ताको दुरुपयोग र पैसाको खोलो बगाउने काममा अत्यन्तै तिब्रता आएको छ । त्यसो हो भने यो व्यवस्था जनताको व्यवस्था हो कि सत्ताधारी र पैसाधारीहरुको व्यवस्था ? यो पनि एक गंभीर आत्मसातीकरणको प्रश्न हो । 

     अहिलेको चुनावी प्रक्रियामा के कुरा बुझिन आएको छ भने सत्ता र पैसामा आधारित दुई गठबन्धनहरुको प्रचारात्मक शैलीले साना र उदीयमान राजनीतिक दलहरु मात्र होइन जनतामा पनि ठुलो मनोवैज्ञानिक आतंककको सिर्जना गरिरहेको छ । यी दुई गठबन्धन बाहेक अरु दलहरुको चुनावी कार्यक्रम र प्रचारात्मक कामलाई हेय दृष्टिले हेर्ने, ती दुई गठबन्धन बाहेकका अन्य दलहरुलाई समर्थन गर्न खोज्ने जनतालाई भयभीत, त्रसित तथा आतंकित तुल्याउने काम भइरहेका छन् । त्यति मात्र होइन, उक्त गठबन्धन बाहेकका कतिपय राजनीतिक दलका उमेदवारहरुलाई अनेकौं धम्की दिई तर्साउने गरिएको छ । यस कार्यमा सत्ताको स्वाद चाख्न पल्केका नयाँ जोगीहरु नै बढी लागिपरेका छन् । के संसदवादी दलहरुले भन्ने गरेका स्वतन्त्रता, समानता र भ्रातृत्वका मान्यता यस्तै हुन्छन् ?  

   अहिलेको निर्वाचनमा लोकतान्त्रिक र वाम गठबन्धनका नेताहरु बिच वाक्युद्ध पनि चर्किदै गएको छ । एकातिर नेपाली कांग्रेसका नेताहरुले आफूलाई लोकतन्त्रको मसिहाका रुपमा पेशगर्दै वाम गठबन्धनलाई साम्यवादी शासनका पक्षधर भनेर विरोध गरेका छन् भने अर्कोतिर वामगठबन्धनका नेताहरुले अब नेका पछि परिसक्यो संसदीय लोकतन्त्रका नयाँ मसिहा त साँच्चै हामी पो हौं भनेर जबाबी हमला बोलिरहेका छन् । वस्तुतः नेपाली कांग्रेसले वाम गठबन्धनलाई साम्यवादी शासनका पक्षपाती भनेर विरोध गर्नु व्यर्थ छ । किनभने वाम गठबन्धनका दलहरुले साम्यवादी विचारलाई परित्याग गरेर संसदीय लोकतन्त्रलाई अंगालो हालेको धेरै भइसकेको छ । जेहोस्, यो वाक्युद्ध संसदीय व्यवस्थाका सत्ताधारी र प्रतिपक्षीहरुका बिच चियाका कपभित्र चल्ने तुफानी संग्राम बाहेक अरु केही होइन । सारमा यी दुवै गठबन्धनको मूल उद्देश्य आलोपालो गरी सरकारमा जानु, पुरानो सत्ता तथा व्यवस्थाको संरक्षण गर्नु र देश तथा जनताको उत्पीडनमा लागिरहनु नै हो ।     संसदीय व्यवस्थाभित्र सत्तापक्ष र प्रतिपक्षका बिचको संघर्षमा सो व्यवस्था मान्ने दलहरुका बिच दलीय विकल्प त हुन्छ र भएकै पनि छ, तर विचारधारात्मक र राजनीतिक विकल्प भने हुँदैन । संसदवादी दलहरु संसदीय शासनको परिधि बाहिर जानै सक्दैनन् । हिजो पञ्चायती व्यवस्थालाई निर्विकल्प भन्ने गरिन्थ्यो र आज संसदीय व्यवस्थालाई निर्विकल्प भन्ने गरिन्छ । फरक त्यत्ति मात्र हो । आज देशलाई राजनीतिक विकल्प रहिएको छ ।

      इतिहास पुराना र नयाँ राजनीतिक शक्तिका बिचको संघर्ष हुँदै अगाडि बढ्दछ र विकसित हुन्छ । कुनै समयमा नयाँ मानिने शक्ति अर्को समयमा पुरानो बन्दछ र त्यसको ठाउँमा अर्को नयाँ राजनीतिक शक्ति आउँछ । त्यसैगरी इतिहासमा कुनै जमानाका ठुला शक्ति सानामा साना शक्ति ठुलामा बदलिने द्वन्द्वात्मक प्रक्रिया पनि चलेकै हुन्छ । इतिहासमा निर्विकल्प र सदाका लागि स्थायी भन्ने कुनै पनि चीज हुँदैन । आज संसदीय व्यवस्थाका पक्षधर उक्त दुई गठबन्धनले आफूलाई सदाका लागि निर्विकल्प, स्थायी र अजम्मरी ठानेर निकै ठुलो भ्रमको खेती गरिरहेका छन् ।  

     आज देशमा लामो समयदेखि असमाधेय बन्दै आएका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या झनै जटिल र असमाधेय बन्दै गएका छन् । देशको झण्डै तीन करोड जनसंख्यामा एक करोड जति रोजगारीका लागि विदेशिएका छन् । देशैभरि ग्रामीण क्षेत्रमा जग्गा दिन प्रतिदिन बाँझिदै गएका छन् । कृषिप्रधान मानिदै आएको देशमा अरबौंको खाद्यान्न, तरकारी, फलफुल आयात गर्नु परेको छ । देश विप्रेषणले धानिन बाध्य छ । सरकार किसानहरुलाई आवश्यक अनुदान दिने, देशमा रोजगारीको सिर्जनागर्ने, अपार जलसम्पदा विदेशलाई नसुम्पिई स्वदेशमै उपयोगमा ल्याउने लगायतका कामबाट पन्छिदै उदारीकरण र खुल्ला अर्थतन्त्रको धुनमा लाग्दै आएको छ । राष्ट्रिय अर्थतन्त्रलाई ध्वस्त पारिदै छ । पश्चिमा शक्तिहरु उदारवादबाट पछि हटेर संरक्षणवादतर्फ जानथालेको यथार्थ बुझ्ने र स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको विकास गर्नेतिर गठबन्धनका नेताहरुको ध्यान गएको देखिदैन र जान पनि सक्तैन । 

    राष्ट्रियता, जनतन्त्र र जनजीविका समस्याको समाधानका लागि देशमा जनयुद्ध लगायत विभिन्न प्रकारका ठुलठुला संघर्ष भए । यी संघर्षहरुमा जनताका असंख्य छोराछोरीहरुको रगत बगेको छ । कैयौं सहिद बनेका छन् । कैयौं वेपत्ता पारिएका छन् र कैयौं घाइते अपाङ्ग बनाइएका छन् । परन्तु, जनताले त्याग, समर्पण र बलिदानको प्रतिफल प्राप्त गर्न सकेका छैनन् । देश र जनताको भविष्य अझै अन्धकारमय बनाइएको छ । तर पनि सत्ता र पैसाको बलमा चुनावी माहोल तताउने गरिएको छ । अहिले चुनाव विरोधी घटना पनि घटिरहेका छन् ।

      देश एवम् जनताको पक्षमा गर्नुपर्ने दीर्घकालीन तथा रणनीतिक महत्वका कामहरु धेरै छन् । परन्तु, तात्कालिक रुपमा अहिलेको स्थितिमा हामीले सर्वप्रथम पुरातन सत्ता, व्यवस्था र राजनीतिक शक्ति निर्विकल्प बन्नै सक्तैनन् भन्ने कुरालाई स्थापित तुल्याउनका लागि जोडदिनु पर्दछ । दोस्रो, देश तथा जनताको समुज्ज्वल एवं सुन्दर भविष्यको निर्माणका लागि सही विकल्पका रुपमा वैज्ञानिक समाजवादी विचारधाराको आलोकमा संघीय जनगणतन्त्रको स्थापना गर्ने कार्यभारलाई अगाडि बढाउनु पर्दछ र त्यसै उद्देश्यमा समर्पित राजनीतिक शक्तिलाई निर्वाचनमा सघाउनु पर्दछ । तेस्रो, नयाँ समाजको निर्माणका लागि विकल्पका रुपमा प्रस्तुत हुन चाहने शक्तिले स्वयं आफ्ना कमी, कमजोरी तथा सिमाहरुको पहिचान गरी आफूलाई बदल्ने, जनताको बिचमा जाने र जनताको सेवागर्ने कामलाई आफ्नो प्राथमिक कार्यसूचीमा राख्नु पर्दछ । यसरी नै नयाँ जनवादी क्रान्तिको तयारी गर्दै समाजवाद र साम्यवादको महान् ऐतिहासिक यात्रामा अगाडि बढ्न सकिन्छ र बढ्नु पर्दछ । 

  २०७४ मंसिर २ गते