युरोपमा पेस्कोको निर्माण र विश्वमा नयाँ ध्रुवीकरण

प्रकाशित मिति : २०७४ कार्तिक ३०

- इन्द्रमोहन सिग्देल 

युरोपका २३ वटा देशले युरोपियन युनियनको मातहतमा रहने गरी एउटा स्थायी संरचित सहयोग (Permanent Structured Cooperation) अर्थात PESCO (पेस्को) नामको साझा सैन्य संगठन निर्माण गर्न युरोपेली संघीय परिषद (Council of the European Union) लाई संयुक्त सुझाव दिएका छन् । अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, क्रोएसिया, साईप्रस, ईस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, ईटली, लाटभिया, लिथुआनिया, लक्जेमवर्ग, नेदरल्याण्ड, पोल्याण्ड, रोमानिया, स्लोभेनिया, स्लोभाकिया, स्पेन र स्वेडेनका रक्षा एवं विदेश मन्त्रीहरुले एउटा संयुक्त सूचनापत्र (Joint Notification) मा हस्ताक्षर गरेर त्यसलाई वैदेशिक मामिला तथा सुरक्षा हेर्ने युरोपियन युनियनका उच्च प्रतिनिधी फेडेरिका मोघेरिनीको हातमा बुझाएका हुन् । यो कुरा युरोपेली संघीय परिषदले यही नोभेम्बर १३, २०१७ का दिन प्रकाशित गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसरी विश्वमा छिटै अर्को एउटा नयाँ सैन्य गठबन्धन पेस्को जन्मिने भएको छ ।

दोस्रो विश्वयुद्धमा समाजवादी रुस, अमेरिका र बेलायत सम्मिलित फासिवादविरोधी मोर्चाले जर्मन, जापान र इटलीको विश्व कव्जागर्ने फासिवादी अभियानलाई पराजित गरेपछि संसारभरी समाजवादी क्रान्तिको लहर चलेको थियो । चीन लगायत अन्य देशमा चलेको सर्वहारा क्रान्तिको त्यो लहर र विस्तारलाई रोक्नका लागि साम्राज्यवादीहरुले अप्रिल ४, १९४९ का दिन उत्तर एटलान्टिक सन्धी संगठन NATO (नेटो)को गठन गरेका थिए । बेल्जियम, क्यानडा, डेन्मार्क फ्रान्स, आईसल्याण्ड, ईटली, लक्जेम्वर्ग, नेदरल्याण्ड्स, नर्वे, पोर्चुगल तथा बेलायत लगायतका १२ वटा देशहरु अमेरिकी नेतृत्वमा निर्माण गरिएको नेटोका संस्थापक सदस्य हुन् । पछि १९५२ मा ग्रीस र १९५५ मा जर्मनी नेटोमा जोडिए । नेटोमा थपिने यो क्रम धेरै पछिसम्म पनि जारी रह्यो । अहिलेसम्म आईपुग्दा नेटोमा जम्मा २९ वटा देशहरु सम्मिलित छन् । यी २९ मध्ये अमेरिका र क्यानडा उत्तर अमेरिकामा, टर्की युरेसियामा र अरु सबै युरोपमा पर्दछन् । तर, अहिले नेटो अन्तर्गत रहेका युरोपका २३ वटा देशहरुका बीचमा अर्को सैन्य संगठन पेस्को निर्माण हुने भएको छ । आज पेस्को किन आवश्यक भयो, अब नेटोको भविष्य के होला र यसले विश्वमा कस्तो राजनीतिक ध्रुवीकरण ल्याउला भन्ने एउटा महत्वपूर्ण प्रश्न खडा भएको छ । यो छोटो लेख यही विषयको सेरोफेरोमा केन्द्रित रहने छ ।

शीतयुद्धको समयमा साम्राज्यवादी विश्व दुई ध्रुवमा विभाजित थियो । एउटा ध्रुवको नेतृत्व नेटो मार्फत अमेरिकी साम्राज्यवादले गरेको थियो भने र अर्को ध्रुवको नेतृत्व वार्सा सैन्य गठबन्धन मार्फत रुसी सामाजिक साम्राज्यवादले । सन् १९५५ मा सोभियत संघको नेतृत्वमा वार्सा सन्धी (WARSAW PACT) गरिएको थियो र अल्वानिया, पोल्याण्ड, रोमानिया, हंगेरी, पूर्वी जर्मनी, बुल्गेरिया र चेकोस्लोभाकिया त्यो सैन्य गठबन्धनमा समाबेश थिए । तर, १९९१मा रुसी सामाजिक साम्राज्यवादको विघटन भए पछि वार्सा सन्धी र यसले निर्माण गरेको सैन्य गठबन्धन समेत सबै विघटित अवस्थामा पुगे । परिणामतः साम्राज्यवादी खेमामा अमेरिकाको एकलौटी हैकम स्थापित हुने स्थिति बन्न गयो । यहीनेर १९९३मा युरोपियन युनियनको निर्माण गरियो । यो सारतः अमेरिकाका कारण ओझेलमा परेको युरोपको साम्राज्यवादी विरासतलाई कायम राख्नका लागि निर्माण गरिएको युनियन थियो । तर, त्यो तत्कालै अमेरिकी हैकम तोड्न सक्षम थिएन । सेप्टेम्बर ११, २००१मा अमेरिकाको न्युयोर्क स्थित जुम्ल्याहा–भवन (Twin Tower) माथि आक्रमण भएपछिको पुरै एक दशक अमेरिकी दादागिरीको उत्कर्षको अवधी रह्यो ।

उत्तर एटलाण्टिक सन्धी मार्फत नेटो गठबन्धनको निर्माण भएको हो । उक्त सन्धीको दफा ५मा नेटो गठबन्धन भित्रको कुनै एउटा देशमाथि अन्य कुनै देशले सैन्य आक्रमण ग¥यो भने वाँकी सबै देशले त्यसलाई आनै देशमाथि भएको आक्रमण ठान्ने छन् र त्यसको संयुक्त प्रतिकार गर्नेछन् भन्ने कुरा उल्लेख गरिएको छ । नेटो अन्तर्गतका स–साना देशहरुले यसमा आनो सुरक्षाको आधार देखेर त्यसको समर्थन गर्दै आएका छन् । तर, अमेरिकाले उक्त दफामा उल्लिखित मर्मको कहिल्यै सम्मान गरेन र गरेको पनि छैन । स्वयं अमेरिकाको हैकम र युरोपका ती स–साना देशमाथि खासगरी रुसबाट हुने हस्तक्षेपका विरुद्ध अमेरिकी मौनता लगायतका कारण अमेरिका र ती देशका बीचमा पहिल्यै देखि अन्तरविरोध रहेको थियो र अहिले पनि त्यो कायमै छ ।

तर, त्यति नै बेला अमेरिकी साम्राज्यवाद र युरोपियन युनियनका नेतृत्वदायी देशका बीचको अन्तरविरोध सतहमा आईसकेको थिएन । गत मे २५, २०१७मा आयोजित ब्रसेल्स शीखर सम्मेलनमा ट्रम्पले अन्य देशहरुलाई नेटोको खर्च नबेहोरेको भनेर जसरी हप्काए त्यसबाट जर्मन, फ्रान्स र ईटली जस्ता साम्राज्यवादी देशको “प्रतिष्ठा”मा गहिरो चोट प¥यो । उनीहरु अमेरिकामाथि विश्वास गरेर आनो विरासतको रक्षागर्न नसकिने अन्तिम निस्कर्षमा पुगे । ट्रम्पबाट व्यक्त भएको त्यो दम्भ र दादागिरी युरोपियन युनियन र अमेरिकी साम्राज्यवादका बीचमा रहेको अन्तरविरोधलाई सतहमा ल्याउने एउटा निमित्त कारण बन्यो । पेस्कोको निर्माण हुनुका पछिको एउटा प्रमूख कारण यही हो ।

जर्मन साम्राज्यवादको नेतृत्वमा रहेको युरोपियन युनियनले आफुलाई रुसबाट खतरा भएको ठान्दछ । युरोपमा रुसी प्रभावलाई कमजोर पार्न र अमेरिकासंग प्रतिस्पर्धा गर्न बेलायतलाई युरोपियन युनियनमा ल्याउन जोड गरिएको थियो । तर, अहिले बेलायतले युरोपियन युनियनबाट अलग हुने निर्णय गरिसकेको छ । नेटो निस्प्रभावी बनेको र बेलायत पनि युनियनबाट अलग हुने स्थितिमा युरोपियन युनियनले आनै सैन्य क्षमताको निर्माण गरेर त्यसैको आधारमा आनो साम्राज्यवादी हैकम पुनस्र्थापित गर्न खोजेको देखिन्छ । पेस्को गठन गर्नुका पछाडिको अर्को महत्वपूर्ण कारण यो हो ।

युरोपमा लामो समयदेखि थुप्रै राष्ट्रियताहरुले अलग राज्य र स्वशासनको अधिकारका लागि लडाई लडिरहेका छन् । यही अक्टोबर १ मा भएको जनमत संग्रहमा ९० प्रतिशत मतदाताले क्याटालोनियालाई स्पेनबाट स्वतन्त्र राज्य घोषणा गर्नु पर्छ भन्ने पक्षमा मतदान गरे । अहिले मेड्रिड सरकारले त्यो राष्ट्रिय मुक्ति आन्दोलनका नेता कार्लस पिजमन्टलाई राज्यद्रोहको मुद्दा लगाएको छ । यो बाहेक युरोपमा वालोनिया, वाभारिया, बास्क, सिलेसिया, ईस्ट्रिया लगायतका दर्जनौ जातिहरुले राष्ट्रिय मुक्ति आन्दोलन चलाईरहेका छन् । युरोपेली देशहरु विभिन्न जातीय राज्यमा विखण्डन हुने खतरा रहेको छ । यो स्थिति युरोपका निमित्त एउटा ठूलो टाउको दुखाईको विषय हो र यो समस्यालाई अलग–अलग देशले सजिलै सल्ट्याउन सक्नेमा उनीहरु विश्वस्त छैनन् । यसका साथै यतिबेला युरोपमा युरोपियन युनियन विरोधी अन्ध–राष्ट्रवादी तथा जनप्रिय (Populist) देखिने राजनीतिक पार्टीहरु पनि अगाडि आईराखेका छन् । यी र यस्तै चुनौतिका विरुद्ध संयुक्त रुपमा लड्न र आनोे साम्राज्यवादी विरासत जोगाउनका लागि युरोपियन युनियनले पेस्को गठन गरेको कुरा सहजै बुझ्न सकिन्छ ।

संयुक्त सूचनापत्रमा “युरोपियन युनियनका सदस्य राज्यहरुको बढेको सूरक्षा क्षमताबाट नेटोलाई पनि फाईदा हुनेछ” भनिएको छ । यो भनाईबाट पेस्कोको निर्माण नेटोका विरुद्ध होईन बरु त्यसको सहयोगका लागि हो भन्ने अर्थ पनि निकाल्न सकिन्छ । तर, यो कुटनीतिक कुरा मात्र हो । एउटा गठबन्धनमा रहेका सदस्य राष्ट्रहरुबाट त्यहि प्रकृतिको अर्को सहयोगी गठबन्धन बनाउने कुरा तर्कसंगत नै हुदैन । या त त्यो नयाँ गठबन्धन पहिलो गठबन्धनको विरुद्धमा हुन्छ, या पहिलोलाई परिमार्जन सहित त्यसको विकास गरिन्छ । एउटै उद्देश्यका लागि उनै शक्तिहरुबाट समानान्तर गठबन्धन बनाईंदैन, बनाउनु आवश्यक नै हुदैन । यसरी पेस्को आनो साम्राज्यवादी विरासतको रक्षागर्न युरोपियन युनियनले नेटोको ठाउंमा निमार्ण गरेको एउटा भिन्न सैन्य गठबन्धन हो नेटोको सहयोगी गठबन्धन होईन ।

पेस्कोको निर्माण भैसके पछि अब पुरानो नेटो रहने देखिंदैन । अमेरिकाले नेटोका पुराना सहयात्री वेलायत, क्यानडा तथा टर्की सहित ईजरायल, दक्षिण कोरिया र साउदी अरेविया लगायतका आना नजिकका देशलाई समेटेर अर्को सैन्य गठबन्धन बनाउन पनि सक्छ । तर त्यो त्यति सजिलो छैन । जे होस विश्व साम्राज्यवादी मञ्चमा आउने दिनमा अर्को सैन्य गठबन्धन बने पनि या नबने पनि अमेरिकाको नेतृत्वमा एउटा साम्राज्यवादी ध्रुव भने कायम नै रहने छ । 

वर्तमान विश्वमा अर्को एउटा गठबन्धन आक्रामक ढङ्गले अगाडि बढिरहेको छ । त्यो हो चिनीया नेतृत्वमा निर्माण भएको BRICS (व्रिक्स) । यद्यपि यसले अहिलेसम्म आफुलाई सैन्य गठबन्धन भनेको छैन, तर रुसको विद्यमान सैन्य क्षमता, लडने मात्र होईन जित्ने सेना निर्माण गर्नेे चीनको सामरिक महत्वाकांक्षा, व्रिक्स क्षेत्रमा रहने विश्वको ४० प्रतिशत जनशक्ति र चीन सहित यस गठबन्धनमा रहेका देशहरुको आर्थिक तथा सामरिक विकास आदिका कारण यो आउने दिनमा विश्वको सबैभन्दा बलियो सैन्य गठबन्धन बन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।

उपरोक्त विश्लेषणका आधारमा वर्तमान साम्राज्यवादी विश्व निम्नानुसार प्रमूख तीनवटा ध्रुवमा विभाजित भएको  निस्कर्षमा पुग्न सकिन्छ । ती हुनः चिनीया ध्रुव, अमेरिकी ध्रुव र युरोपेली ध्रुव । यी मध्ये अमेरिकी ध्रुव रक्षात्मक बन्दै गएको हुनाले तत्काल यसले साम्राज्यवादी विश्वको नेतृत्व गर्ने हैसियत गुमाउंदै गएको छ । युरोपेली ध्रुवले भर्खर बामे सर्न थालेको छ, गति पक्डिसकेको छैन । व्रिक्स आक्रामक र योजनावद्ध ढङ्गले अगाडि बढेको छ र यसरी आउने दिनमा पूंजीवादी विश्व चिनीया ध्रुवको नेतृत्वमा अगाडि बढ्ने कुरा छर्लङ्ग छ । विश्व सर्बहारा क्रान्तिको नेतृत्व गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीले वर्तमान विश्वको त्री–ध्रुवीय अन्तरविरोधको विश्लेषणका आधारमा क्रान्तिका रणनीति र कार्यनीतिको विकास तथा विन्यास गर्नु वस्तुवादी हुने देखिन्छ ।

कार्तिक ३०, २०७४