संसदीय व्यवस्था फाल्नलाई हामी चुनावमा गएका हौं : महासचिव वैद्य

प्रकाशित मिति : २०७४ कार्तिक २५

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल काठमाडौं जिल्ला समितिले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी मााओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले संसदीय व्यवस्था फाल्नका लागि आफूहरु निर्वाचनमा गएको बताउनु भएको छ । महासचिव किरणले भन्नुभयो, “कांग्रेस, एमाले, माके, राप्रपालगायतका पार्टीहरु पुरानै संसदीय राज्यव्यवस्था र सत्तालाई मजबुत बनाउन चुनावमा गएका छन्, तर हामी यो राज्यव्यवस्थालाई फाल्न चुनावमा गएका हौं ।”

संसदीय व्यवस्थाका विरुद्ध राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको निम्ति दशवर्ष लामो जनयुद्ध भएको स्मरण गर्दै महासचिव वैद्यले महान जनयुद्ध विजयको सन्निकट पुग्दा ठूलो धोका भएको बताउनु भयो । विगतमा जनयुद्ध लड्दा पनि कांग्रेस एमाले नै संसदीय व्यवस्थाको सत्तामा भएको प्रसंग उल्लेख गर्दै महासचिव वैद्यले अहिले पनि त्यही व्यवस्थामा उनीहरु नै सत्तामा रहेकोले मुलुकमा खासै रुपान्तरण र परिवर्तन नभएको विचार व्यक्त गर्नुभयो ।

काठमाडौं–१० बाट उम्मेदवारी दिएका क्रान्तिकारी माओवादीका युवा नेताको निर्वाचन क्षेत्रलाई केन्द्रित गरेर ‘जनभेटघाट तथा अन्तक्र्रिया’ नाम दिइएको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव वैद्यले भन्नुभयो, “संसदवादीहरु पैसाको खोलो बगाएर चुनावी गतिविधिमा लागेका छन् । हामी नयाँ ढंगले क्रान्तिको तयारी गरिरहेका छौं ।”

फेरि दलाल, तस्कर र भ्रष्टाचारीहरुको संसदमा बोलवाला हुने भो : सीपी गजुरेल

त्यसैगरी क्रान्तिकारी माओवादीका बरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै फेरि पनि मुलुकमा दलाल, तस्कर र भ्रष्टाचारीहरुको मात्र संसदमा बोलवाला हुन लागेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । कांग्रेस र एमाले नेतृत्वका दुवै गठबन्धनले तस्कर, गुण्डा र भ्रष्टाचारी, दलालहरुलाई उम्मेदवार बनाएको भन्दै ती दुवै गठबन्धन प्रतिक्रियावादी भएको दावी गर्नुभयो ।

संविधान पश्चगामी भएको र व्यवस्था प्रतिक्रियावादी भएकोले अहिलेको सत्ताबाट जनताको हितमा कुनै पनि काम हुन नसक्ने भएकाले यसको विकल्पमा जनताको जनगणतन्त्रको स्थापना हुनुपर्नेमा जोड दिनु भयो । अध्यक्ष गजुरेलले राष्ट्रियता, जनतन्त्र र जनजीविका मुद्दाहरुको समाधान सही समाधान दिनका लागि र मुलुकमा जनताको गणतन्त्र स्थापना गर्ने उद्देश्य हासिल गर्न पनि देजमोका उम्मेदवारहरुको चुनाव चिन्ह “मुठ्ठी”मा मतदान गर्नुपर्ने कुरा बताउनु भयो ।

कार्यक्रमलाई क्रान्तिकारी माओवादीका पूर्व कार्यालय सदस्य रामसिंह श्रीस, पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं–१० का देजमोका उम्मेदवार सुरेश श्रेष्ठलगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो भने कार्यक्रममा देजमोका कार्यालय सदस्य तथा ३ नंं प्रदेश संयोजक पवनमान श्रेष्ठ, सूर्य ब. नकर्मीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

नेता इश्वरचन्द्र ज्ञावालीले संचालन गरेको कार्यक्रमको अध्यक्षता देजमोका केन्द्रीय सदस्य तथा काठमाडौं संयोजक एवम् काठमाडौं–८ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार किरण शाहीले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय युवाहरु रामकुमार श्रेष्ठ, अशोक श्रेष्ठ र विष्णु दास विभिन्न पार्टी परित्याग गरी देजमोमा प्रवेश गरेका थिए ।

कार्यक्रममा स्थानीय जनताका साथै देजमोका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सगरमाथा टेलिभिजनले लाइभ प्रसारण गरेको थियो ।