वैदेशिक रोजगारमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम

प्रकाशित मिति : २०७४ कार्तिक २४

काठमाडौं, २४ कात्तिक । सरकारले यो वर्ष पनि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विदेश जान चाहाने युवालाई विभिन्न १३ किसिमका सीपमूलक तालिम दिने तयारी गरेको हो ।

बोर्डले निर्माण, होटल, सेक्युरिटी लगायतका विधाका तालिमहरु सञ्चालन गर्ने तयारी गरेको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेल जानकारी दिए ।

अदक्ष र अर्धदक्ष युवा जनशक्तिले विदेशमा बेर्होनुपरेको दुःख र पीडालाई ध्यान दिएर तालिम सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । ‘तालिम नलिई विदेश जाने युवाको आम्दानी राम्रो हुँदैन । सीप भएका युवालाई ठूलो दुःख भोग्नु नपर्ने अवस्था छ । त्यसैले यो वर्ष पनि १० हजार युवालाई तालिम दिने योजना ल्याएका हौं,’ बोर्डका कार्यकारी निर्देशक काफ्लेले भने ।

युवाहरुलाई निर्माण तर्फ सहयक इलेक्ट्रिसियन, प्लम्बर, मेशन, स्टिल फिक्चर, सटरिङ कार्पेन्टर, स्काफोल्डिङ र हाउस वायरिङको तालिम निशुल्क दिइनेछ ।

हेटलतर्फ कुक, वेटररवेट्रेस, हाउस किपिङ, र कफी मेकरको तालिम सञ्चालन हुनेछ भने टेलरिङ र सेक्युरिटी गार्डको तालिम पनि इच्छुक युवाले पनि अवसर पाउने छन् ।

बोर्डले तालिम सञ्चालन गर्न आशयपत्र माग गरेर तालिम प्रदायक संस्था छनोट अघि बढाएको छ । केही समयपछि नै तालिम सञ्चालन गर्ने संस्थाको छनौट गरिने काफ्लेले बताए । देशभरका १० हजार युवाहरुलाई एक महिने तालिम दिने योजना छ ।

केही विशेष तालिम लिन चाहने युवालाई निःशुल्क आवासीय सुविधा पनि दिइने छ । झण्डै १५ सय युवालाई खाने बस्ने सुविधासहितको तालिम दिने योजना छ । ग्रामीण तथा विकट क्षेत्रका युवाहरुलाई ध्यानमा राखेर देशका प्रमुख शहरहरुमा निःशुल्क खाने तथा बस्ने सुविधा दिइने बोर्डले जनाएको छ ।

तालिम सञ्चालनमा विभिन्न दातृ निकायले पनि आर्थिक तथा प्राविधिक सहयोग गर्नेछन् । अघिल्लो आर्थिक वर्ष ०७३ र ०७४ मा पनि बोर्डले १० हजारलाई तालिम प्रदान गरको जनाएको छ ।