अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढ्यो

प्रकाशित मिति : २०७४ कार्तिक २२

लण्डन (बेलायत) । अन्तरर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल ६४ डलरभन्दा माथि पुगेको छ । अघिल्लो दिन ६ हप्तायताकै उच्च दरले बढेको तेलको भाउ मङ्गलवार झिनो वृद्धिसहित प्रतिब्यारेल ६४ डलर ६५ सेण्टमा पुगेको हो । यो साढे २ वर्षकै उच्च हो । विश्वकै ठूलो तेल निर्यातकर्ता साउदी अरबमा क्राउन प्रिन्सले आफ्नो शक्ति बढाएको र इरान–साउदीबीचको तनाव भड्काउने अभिव्यक्ति दिएपछि तेलको भाउ बढेको हो । मङ्गलवार लण्डनस्थित आईसीआई फ्युचर्सको कोमेक्स डिभिजनमा ब्रेण्ट क्रुडको भाउ प्रतिब्यारेल ६४ डलर ६५ सेण्टमा पुगेको थियो । यो साढे २ वर्षकै उच्च हो ।

यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार साँझ ४ः४० बजेको अन्तरराष्ट्रिय बेञ्चमार्क प्रतिब्यारेल शून्य दशमलव २३ प्रतिशतको वृद्धिसहित ६४ डलर ४० सेण्टमा किनबेच भइरहेको थियो । सोमवार ब्रेण्टको भाउ साढे ३ प्रतिशत बढेको थियो । उता, न्यूयोर्क मर्कण्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा यूएस क्रुडको भाउ प्रतिब्यारेल ५७ डलर ६९ सेण्टसम्म पुगेको थियो । यो समाचार तयार पार्दा अमेरिकी बेञ्चमार्क प्रतिब्यारेल ५७ डलर ३० सेण्टमा किनबेच भइरहेको थियो ।

साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानले ११ जना राजकुमार, ४ जना बहालवाला मन्त्री र दर्जनौं पूर्वमन्त्री तथा प्रभावशाली व्यक्तिहरूलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेका थिए । सलमानको यस आक्रामक कदमले त्यहाँको तेल नीति पनि परिवर्तन हुन्छ कि भन्ने आशङ्कामा सोमवार तेलको भाउ बढेको थियो । यसैबीच इरानले यमनमा सशस्त्र समूहलाई रकेट आपूर्ति गरेको सलमानको आरोपले रियाद र तेहरानबीच तनाव बढाएको छ ।

यसले भूराजनीतिक तनाव बढाउनुका साथै प्रमुख पेट्रोलियम निर्यातकर्ता देशको सङ्गठन (ओपेक)को उत्पादन कटौतीको सम्झौता जोगाउन कठिन हुने पेट्रोम्याट्रिक्सका रणनीतिज्ञ ओलिभर ज्याकोबले भने । साउदी अरबको नेतृत्वमा ओपेक र ओपेकबाहिर रूसलगायत अन्य १० देशहरूले तेल उत्पादनलाई सन् २०१८ को मार्चसम्म दैनिक १८ लाख ब्यारेल घटाउने सम्झौता गरेका छन् । ओपेकको बैठक यसै महीनाको अन्त्यतिर बस्दै छ । सो बैठकले उत्पादन कटौतीसम्बन्धी सम्झौता थप लम्ब्याउने अपेक्षा गरिएको छ ।

साउदी अरब र इरानको संयुक्त तेल उत्पादन दैनिक करीब १ करोड ४० लाख छ । यी दुई देशको सम्बन्धमा आएको चिसोपनले तेलको भाउ बढेमा छक्क नपर्दा हुने पीभीएम आयल एशोसिएट्सका तमास भर्गाले बताएका छन् । मध्यपूर्वको कच्चा तेल आपूर्तिमा बाधा आउन सक्ने सङ्केतले पनि तेलको भाउलाई टेवा दिने विश्लेषकहरू बताउँछन् ।

यमनको तनाव बढेन भने ब्रेण्ट क्रुडको भाउ नोभेम्बरमा ओपेकको बैठकपछि फेरि ६० डलरमा आउन सक्ने यूबीएसले एक नोटमा भनेको छ । साउदीको राजनीतिक उथलपुथलका कारण तेलको भाउ ७० ब्यारेलसम्म पुग्ने अर्काथरीको अनुमान छ । एजेन्सी