काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको लागि हुने दोस्रो चरणको निर्वाचनका लागि नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका नेताहरुले अधिकांश जिल्लामा हस्तक्षेपपूर्ण उम्मेदवारी दर्ता गराउनु भएको छ । मूलबाटोलाई प्राप्त जानकारी अनुसार काठमाडौंको १० नं. निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्जको भूमिकामा रहेका युवा नेता सुरेश श्रेष्ठले उम्मेदवारी दिनुभएको छ भने ६ नं. निर्वाचन क्षेत्रबाट नेता खगेन्द्र छन्त्याल उम्मेदवार बन्नुभएको छ । त्यसैगरी दैलेखको निर्वाचन क्षेत्र नं. २ ख) बाट क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समेत रहेका चर्चित युवा नेता दिपक बहादुर शाही प्रदेशसभाको उम्मेदवार बन्नुभएको छ भने उहाँले मुख्यमन्त्रीको उम्मेदवारको रुपमा समेत आफूलाई प्रचार गर्नुभएको छ ।
दाङबाट प्राप्त जानकारी अनुसार ३ नं. निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समेत रहनुभएका जिल्लाका चर्चित युवा नेता, पत्रकार तथा साहित्यकार हिरामणि दुःखीले उम्मेदवारी दिनुभएको छ भने बाग्लुङबाट २ नं. निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि निलबहादुर पुनले उम्मेदवारी दिनुभएको समाचार छ । यता कपिलवस्तुमा प्रतिनिधिसभातर्फ १ नं. निर्वाचन क्षेत्रबाट पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका जिल्लाका जुझारु युवा नेता निरज समिरले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
यता मकवानपुरबाट प्राप्त समाचार अनुसार जिल्लाका चर्चित युवा नेता तथा पार्टीका केन्द्रीय सदस्य फुर्वा तामाङलगायतका नेताहरुले उम्मेदवारी दिनुभएको छ । थप विवरण आउन बाँकी छ ।
देजमोबाट ६ जना पत्रकारकाे उम्मेदवारी
यसैबीच, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जनपक्षीय पत्रकारिता क्षेत्रमा क्रियाशिल रहनुभएका ६ जना पत्रकारहरुले देजमोको तर्फबाट उम्मेदवारी दिनुभएको छ । रोल्पाबाट कुमार शाह, दाङबाट हिरामणि शर्मा दुःखी, नवलपुरबाट नारायण पंगेनी, गुल्मीबाट केशव अधिकारी, बर्दियाबाट लोकराज जैसी र दोलखाबाट गोविन्द काफ्ले प्रतिनिधिसभा तर्फको प्रत्यक्ष निर्वाचनमा होमिनुभएको छ । शाह र शर्मा बरिष्ठ पत्रकार समेत हुनुहुन्छ । शाह क्रान्तिकारी पत्रकार महासंघको पूर्व केन्द्रीय अध्यक्ष समेत हुनुहुन्थ्यो । त्यस्तै पंगेनी क्रान्तिकारी पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष र जैसी प्रदेश नम्बर ५ को संयोजक रहनुभएको छ भने अधिकारी र काफ्ले क्रान्तिकारी महासंघकै पूर्व केन्द्रीय सदस्य रहीसक्नु भएको छ । सबै उम्मेदवारहरु नेपाल पत्रकार महासंघमा आबद्ध भई जनपक्षीय पत्रकारितामा क्रियाशिल हुनुहुन्छ ।