माकेको एमालेकरण माओवादीहरुलाई मान्य छैन, ‘मुठ्ठी’ सच्चा माओवादीहरुको साझा चुनाव चिन्ह बन्दैछ

लक्ष्मी मुड्भरी, नुवाकोट–२, देजमोको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार

प्रकाशित मिति : २०७४ कार्तिक १५

वाम र लोकतान्त्रिक गठबन्धनलाई चुनौती दिंदै आफ्नो उम्मेदवारी दिनुभएको छ । गठबन्धन र जनताबाट के कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

गठबन्धनको जनाधार र हाम्रो जनाधार एउटै भएकोले मेरो उम्मेदवारीले उहाँहरुलाई केही हदसम तरंगित बनाएको छ । त्यो स्वाभाविक हो तर जनताको बीचमा हाम्रा मुद्दाहरुले कस्तो प्रभाव पार्न सक्छ, कसले जनताका भावना र मनोविज्ञानलाई नेतृत्व गर्न सक्छ, त्यसले जित्ने हो । खेलको मैदनमा बाम वठबन्धन र हाम्रो बीचको प्रतिस्पर्धा निकै पेचिलो हुनेछ । किनकि, नेपाली कम्युनिष्ट आन्दोलनको संसदवादमा पतन गराउने क्रम लामो समय देखि चल्दै आएको छ । पछिल्लो एमाले र माके गठबन्धनसम्म आइपुग्दा महान जनयुद्धको धाराबाट आएको एउटा हिस्सा पनि त्यसमा समाहित भएर पतनको उत्कर्षमा पुग्दैछ । देशैभरका जनयुद्ध लडेर आएका माओवादीहरुलाई माकेको एमालेकरण मान्य छैन, उनीहरुका बीचमा अहिले ‘मुठ्ठि’ चुनाव चिन्ह निर्विकल्प बन्दै गएको छ । नुवाकोटको हकमा पनि यही हो । यस्तो अवस्थामा क्रान्तिकारी धाराको नेतृत्व गर्दै हामीले दिएको उम्मेदवारीले देशी, विदेशी प्रतिक्रियावादीहरुको निन्द्रा भंग गरिदिएको छ । त्यसैले यो निकै पेचिलो हुनेछ । जनता आज पनि परिवर्तनको आशामा छन् । हामी एउटा परिवर्तनका निम्ति हाम्रा पुरा शक्तिको साथ जनतामा जाँदै गर्दा जनतामा एउटा उत्साह पैदा भएको छ । मलाई विश्वास छ, चुनावी मैदानमा हामी खरो उत्रन सक्दा जनताले हामीलाई आफ्नो भरपर्दाे शक्तिको रुपमा पहिचान गर्ने छन् र हामीलाई साथ दिनेछन् ।

जसरी पनि चुनाव जित्न ठूल्ठूला गठबन्धन भइरहँदा कसैसँग पनि चुनावी तालमेल नगरी दिएको उम्मेदवारीलाई लिएर जनतामा जिज्ञासा पनि छ, तपाईको उम्मेदवारी किन ?

आजको नेपाली राजनीतिमा संसदवादी पार्टीहरुले आफूलाई निर्विकल्प बताइरहेको तर दुनियामै र नेपालमा पनि आजभन्दा अगाडी नगरिएको भद्दा चुनावी अभ्यास, सत्ता अभ्यास छ । यसबाट आम जनतामा ठूलो निराशा पैदा भएको छ । जनता आजित र वाक्क भएका छन् । यो बेला नेपाली राजनीतिमा अर्को एउटा जनताको प्रतिनिधित्व गर्ने धारा जीवितै छ भन्ने सन्देश दिनलाई हो– मेरो उम्मेदवारी । त्यसैगरी यी संसदवादी पार्टीहरुले जनतालाई हेपेर गरेको मनोमानीको भण्डाफोर गर्न, यो संसदीय व्यवस्था वास्तवमा जनताको व्यवस्था होइन भनेर जनतामा स्थापित गर्न, नेपाली राजनीतिमा आज मूल्य र आदर्शको राजनीतिमाथि कालो धनको राज चलिरहेको छ, त्यसलाई चुनौति दिन र त्यसलाई परास्त गर्न नै हो मेरो उम्मेदवारी ।

मूल्य र आदर्शको राजनीति हराएको अवस्थामा राजनीतिमा यसलाई पुनस्र्थापित गर्ने सम्भावना देख्नु हुन्छ ?

मूल्य र आदर्शको राजनीति स्थापित गर्न सकिन्छ, सक्नु पर्छ । यदि समाजमा, देशमा यो मान्यता बिलाएर जान्छ भने त्यो बेला देशमा एउटा ठुलो अराजकता फैलिन्छ । राजनीतिक नेतृत्वमा कसैलाई कमाण्ड गर्ने नैतिकता रहँदैन र यसले बाह्य शक्तिहरुको चलखेललाई अत्यन्त अनुकुल वातावरण पैदा गराउँदछ । लामो समय यस्तै रहने हो भने देशहरु राष्ट्रहरुको अस्तित्व नै गुम्न सक्छ । त्यसैले हामीले नैतिक मूल्य र आदर्शले ओतप्रोत राजनीतिलाई बलियो बनाएर मात्र समाज र राष्ट्रलाई विघटन हुनबाट बचाउन सकिन्छ । यो कुरा राजनीतिक बृत्तिमा अरु धेरै उठ्ने विषय हो, यसको लागि राजनीतिक नेतृत्वमा उठेका आम नेता, कार्यकर्ताहरुलई डटेर संघर्ष गर्न पनि म अपिल गर्छु ।
लामो समयदेखि त्याग, बलिदान गरेर आएका नेता, कार्यकर्ताहरु आर्थिक अभावकै कारण पार्टीहरुमा टिकट पाउनबाट बञ्चित रहेका छन् । कालो धन होस् कि सेतो धन होस्, जोसँग पैसा छ, टिकट उसले पाइरहेको छ । यसले के देखिन्छ भने देशको नीति निर्माणको तहमा देश र समाजलाई दिशानिर्देश गर्न सक्ने शक्ति बाहिर बसेर असन्तुष्टि पोखी रहने तर राजनीतिक नेतृत्वमा नितान्त गैरराजनीतिक चरित्र भएका देशलाई अघि बढाउने कुनै सोच, भिजन नभएका, कुनै मूल्य र आदर्श पनि नभएका अराजनीतिक नेतृत्वको हातमा देशलाई सुम्पने काम हुँदैछ । यसले देशलाई अराजकतामा नलगेर कहाँ लान्छ ? नेपालमा बौद्धिक समुदायले पक्कै यो कुराको महसुस गर्ने छन् र यसको विकल्प खोज्ने छन् ।

जनताले वैकल्पिक राजनीतिको खोजी गर्न थालेका छन् । तपाईहरुले त्यो विकल्प दिन सक्नु हुन्छ ?

वैकल्पिक राजनीतिको आवश्यकता बोध जनताको तहमा हुँदै भएको छ । इतिहासमा देश र जनताको स्थितिमा आमूल परिवर्तन ल्याउनको लागि जनताले ठूला ठूला बलिदादनहरु गरेका छन् । तर पटक पटक जनचाहना माथि धोकाधडी हुँदै आएको छ । त्यसले जनतामा ठूलो निराशा पैदा गरेको छ । जनताको बिचमा रहेको निराशा विस्तारै एउटा आशामा बदलिन शुरु भएको छ । क्रान्तिकारीहरुका निम्ति यो सकारात्मक कुरा हो । ब्यक्तिगत रुपमा मैले मात्र विकल्प दिने भन्दा पनि यो देशका आम क्रान्तिकारीहरुले गम्भीरतापूर्वक सोच्नु पर्दछ र इतिहासको डुंगालाई आफ्नो हातमा लिने साहस गर्नै पर्दछ । नेपालमा नेकपा (क्रान्तिकारी माओवादी)ले इतिहासको डुंगाको स्टेरिंग आफ्नो हातमा लिने कोशिस गरिरहेको छ । आम क्रान्तिकारीहरुले यसको रक्षा र विकासमा ध्यान दिन सकेको अवस्थामा जनतामा एउटा बलियो वैकल्पिक शक्तिको रुपमा यो विकास हुने निश्चित छ ।

संसदीय व्यवस्था र संविधानको विरोध र भण्डाफोर निर्वाचन उपयोग भन्दा बाहिर गएर गर्न सकिन्थ्यो र ?

यतिबेला महान जनयुद्धले सेटब्याक खाएको छ, क्रान्तिकारी आन्दोलन रक्षात्मक अवस्थामा पुगको छ । यो बेला क्रान्तिकारीहरुले शक्ति सञ्चय गरेर अघि बढ्नु पर्दछ । शक्ति सञ्चय गर्नका लागि बढीभन्दा बढी जनसमुदायहरुको वीचमा आफ्ना कुराहरु स्थापित गर्न जरुरी हुन्छ । आन्तरिक रुपमा संगठन विस्तार र सुदृढ गर्न जरुरी हुन्छ । आजको जनमनोविज्ञान बहिष्कार भन्दा चुनावमा सहभागी भएको सहज मान्ने, उसका कुरा सुन्ने जस्तो बढी देखिन्छ, पर्चा, पोष्टर, सभाहरुमा जनताले चुनावी मैदानमा उत्रिएर खेलाडीहरुको कुरा ध्यान दिएर सुन्ने अवस्था छ । जनमनोविज्ञान भन्न्दा धेरै पर बसेर आफ्ना कुरा जनतामा पु¥याउन सकिंदैन । त्यसैले प्रतिक्रियावादी, संसदवादी शक्तिहरुको भण्डाफोर गर्ने एउटै उद्देश्य भए पनि विधिका हिसाबले यो विधि बढी उपलब्धिमूलक हुन्छ भन्ने हाम्रो विश्लेषण हो ।

अन्तमा, श्रमजीवि शोषित उत्पीडित आमूल परिवर्तनका पक्षधर आम जनतालाई के अपील गर्न चहानुहुन्छ ?

१० वर्षको महान् जनयुद्धमा हज्जारौं हज्जार योद्धाहरुले एउटा निश्चित उद्देश्यका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गरेका छन् । हाम्रै जिल्लाको कुुरा गर्नु हुन्छ भने भरत ढुंगाना, बासु रिमाल जस्ता महान् योद्धाहरुले रगत बगाउनु भएको छ । भरत ढुंगाना जसले बहालवाला जिल्ला सभापतिको सम्पूर्ण सुविधा र एमाले पार्टी त्यागेर जनयुद्धमा सहभागी हुनुभयो । बासु रिमाल तत्कालिन खड्ग भञ्ज्याङ गा.वि.सका निर्वाचित उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँले सम्पूर्ण रुपले एमाले पार्टी र सामाजिक प्रतिष्ठालाई एक ठाउँमा राखेर जनयुद्धमा लामबद्ध हुनु भयो र उहाँहरुले आफ्नो जीवन गुमाउनु प¥यो । अहिले त्यही जनयुद्धको नेतृत्व गरेको माओवादीको मूल नेतृत्व सहितको एउटा हिस्सा त्यही पुरानै विचारले निर्देशित एमालेसँग चुनावी गठबन्धनमा मात्र सिमित नभएर पार्टी एकतासम्म जान सकिने कुरा गर्न थालेका छन् । यसले एमालेको माओवादीकरण होइन माओवादीको एमालेकरणलाई मूर्त रुप दिने निश्चित छ । यो अवस्थामा आम न्यायप्रेमी जनसमुदायलाई धैर्य गरी परिस्थितिलाई ठिक ढंगले बुझ्न र जनताको मुद्दा उठाइरहेका क्रान्तिकारी शक्तिहरुलाई भावनात्मक र भावावेशको स्तरबाट मात्र होइन विचार, सिद्धान्त जीवन पद्धति, सोच पद्धतिको कोणबाट नापेर हेर्दै विश्वास गर्न अपील गर्दछु । र, एकपटक देजमोका उम्मेदवारहरुलाई जिताएर केन्द्रीय सत्तामा देश र जनताप्रति हुने गद्दारीको भण्डाफोर गर्ने र आम न्यायप्रेमी जनसमुदायलाई सुचित गर्ने दायित्वको स्थानमा पु¥याउनु हुनेछ भन्ने आशा र विश्वास पनि गर्दछु ।