अपडेट : गुल्मी र उदयपुरमा भएको सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु

प्रकाशित मिति : २०७४ कार्तिक १३

काठमाडौं । छुट्टा छुट्टै सवारी दुर्घटनामा परी गुल्मी र उदयपुरमा १६ जनाको मृत्यु भएको छ । बुटवलबाट तम्घासतर्फ गइरहेको माइक्रो बस गुल्मी दरबार गाउँपालिका–३ स्थित वीरबास भन्ने स्थानमा सोमबार दिउँसो दुर्घटना भएको छ । बा ४ ख ५५०१ नम्बरको माइक्रो सडकबाट ३ सय मिटर तल खसेको प्रहरीले जनाएको हो । यो दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने ६ घाइते रहेका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

त्यसैगरी कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ च ३४०४ नम्बरको बोलेरो जिप उदयपुरको कटारी नगरपालिका ११ ठाँटीको भिरमा सोमबार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । दुर्घटनामा मृतकको सनाखत खुल्न तथा घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको छ । उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।