हाम्रो राष्ट्रिय संस्कृति

प्रकाशित मिति : २०७४ कार्तिक ११

- कृष्णदास श्रेष्ठ

राष्ट्रिय संस्कृतिबारे चर्चा गर्दा, सबभन्दा पहिले एउटा प्रश्न उठ्छ । त्यो प्रश्न हो, संस्कृति भनेको के हो ?  यथार्थमा, त्यसले कुन कुरालाई जनाउँछ ? संस्कृति एउटा ऐतिहासिक परिघटना हो । संस्कृति भन्नाले ऐतिहासिक विकासका क्रममा समाजले सिर्जना गरेका सारा भौतिक प्राविधिक तथा बौद्धिक (मानसिक) मूल्यहरुको समष्टिलाई जनाउँछ । ती सबै मूल्यहरुका स्रष्टा मानिसहरु हुन्, मानवीय क्रियाकलापका प्रतिफल हुन्, र तिनको प्रतिनिधित्व विभिन्न रुपमा भौतिक तथा कलात्मक उत्पादनहरुले गरेका हुन्छन् । यसरी कुनै मुलुकको राष्ट्रिय संस्कृति भन्नाले सम्बन्धित मुलुकको सामाजिक विकासको कुनै खास अवधिमा मानिसहरुद्वारा प्राप्त गरिएका आर्थिक तथा प्राविधिक विकास र तिनका सिर्जनात्मक शक्ति तथा क्षमताहरुको विकासको स्तरलाई जनाउँछ र ऐतिहासिक दृष्टिले निर्धारित स्तरको रुपमा त्यसले मानवीय क्रियाकलापद्वारा सिर्जित भौतिक तथा मानसिक मूल्यहरु र विभिन्न खालका आर्थिक, सामाजिक तथा कला संगठनहरुमा आपूmलाई अभिव्यक्त गर्दछ ।

सामाजिक–आर्थिक विकास र परिवर्तन अनुरुप त्यसको विकास र परिवर्तन हुन्छ ।  सामान्य रुपमा संस्कृतिले जनाउने कुरा उपरोक्त हुन् । विशिष्ट रुपमा यसलाई लिदा, हामी के देख्छौं भने यसका दुइटा पक्ष छन् ः भौतिक मूल्यहरुको उत्पादनमा प्रयोग हुने यन्त्र प्रविधि तथा अनुभव जसलाई भौतिक संस्कृति भनिन्छ, र अर्को कला, साहित्य, दर्शन, विज्ञान आदि क्षेत्रमा प्राप्त गरिएका उपलब्धिहरु जसलाई हामी बौद्धिक (मानसिक) संस्कृति भन्छौं । पछिल्लो पक्षको संस्कृतिले मानविय जीवनको बौद्धिक क्षेत्रलाई जनाउँछ । यहाँ हामी उक्त पछिल्लो पक्षबारे छोटो चर्चा गर्दछौ ।  हाम्रो समाजको वर्तमान चरित्र अर्ध–सामन्ती र अर्धऔपनिवेशिक रहेको छ, र त्यही अनुरुपको हाम्रो राष्ट्रिय संस्कृति रहेको छ । समाजको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक चरित्रको मानसिक अभिव्यक्ति रहेको हाम्रो संस्कृतिमा मुख्य रुपमा दुइटा पक्ष त्यसमा रेहेका छन् ।  ऐतिहासिक विरासतको रुपमा रहेका उक्त दुइटा तत्वमा हाम्रो समाजको अग्रगामी विकास र जनजीवनको वर्तमान अवस्थामा आमूल परिवर्तनका लागि कायम राखी अघि बढाउन पर्ने पहिलो (जनवादी) तत्व हो ।

नेपाली जनताले देश विकासको बारेमा मुख्य बाधक रहेका सामन्ती व्यवस्था र त्यसका रक्षक सामन्ती निरंकुशतन्त्रको विरुद्ध लामो समयदेखि संघर्ष गरि आएका छन् । सयौं वर्षदेखि विभिन्न रुपमा चलिरहेको उक्त संघर्षमा र मुख्य रुपमा २००७ सालको क्रान्ति, २०३६ तथा २०४६ सालको जन–विद्रोहहरु, माओवादी पार्टीद्वारा संचालित जनयुद्ध, २०६२–६३ सालको ऐतिहासिक जनआन्दोलनमा सक्रिय रुपमा सहभागी भई नेपाली जनताले दर्शाएका लडाकुपन, त्याग र बलिदान निकै महत्वपूर्ण छ । यसरी सामन्तीवाद–विरोधी संघर्षहरुमा एउटा गौरवशाली लोकतान्त्रिक परम्परा कायम भएको छ, जुन कुरा निकै ऐतिहासिक महत्वको छ । त्यस्तै, आफ्नो मुलुकको स्वाधीन अस्तित्व, राष्ट्रिय सम्प्रभुता तथा क्षेत्रीय अखण्डताको संरक्षणको लागि जनताले निरन्तर संघर्ष गरि आएका छन् । हाल यता केही दशकदेखिन हाम्रो राष्ट्रिय स्वाधीनता र क्षेत्रीय अखण्डता विरुद्ध भारतको शासकवर्गहरुको नांगो हस्तक्षेप तथा विस्तारवादी कार्यहरुको विरुद्ध नेपाली जनता निरन्तर संघर्ष चलाइरहेका छन् । यो एउटा हाम्रो गौरवशाली महत्वको परम्पराको रुपमा रहेको छ ।  यसरी कायम भएको सामन्त–विरोधी, भारतीय विस्तारवाद विरोधी र साम्राज्यवाद विरोधी ऐतिहासिक परम्पराहरु हाम्रो इतिहासका एक अत्यधिक गौरवशाली पृष्ठ हुन् र ती राष्ट्रिय संस्कृतिका चहकिलो पक्ष हुन्, ऐतिहासिक रुपले स्थापित ती गौरवशाली परम्पराहरुलाई अहिले वर्तमान सन्दर्भमा अघि बढाउनु पर्ने र अरु विकसित गर्नुपर्ने स्थिति हाम्रो सामु छ, यो वर्तमान पुस्ताको सामु रहेको एउटा गहन जिम्मेवारी र अभिभारा हो ।

  हाम्रो राष्ट्रिय  संस्कृतिमा जोगाउनु पर्ने उपरोक्त पक्ष हो भने, त्यसले फाल्नु पर्ने दोस्रो पक्ष (सामन्ती फोहर मैला) हो । नेपालमा सामन्ती–सामाजिक व्यवस्था लामो समयदेखि रहेर आएको हो र नेपाली समाजका सबैजसो क्षेत्रहरुमा सामन्ती विचारधाराहरुको प्रभाव गहिरो रुपमा रहेको छ । यस तथ्यले विभिन्न रुपमा आपूmलाई अभिव्यक्त गरिरहेको हामी पाउँछौं । सानो मात्राको उत्पादन अनुरुपको अनुदारवादी प्रवृत्ति र संकीर्णता, सनातनता र प्राचीन चीजहरुप्रति अति सम्मान, व्यक्ति–पुजा, चाकडी गर्ने प्रवृत्ति, पुरानीसकेको र मृत चीजहरुको पुनस्र्थापना गर्ने प्रवृत्ति हानीकारक रीतिथिती र चालचलनप्रति अन्धभक्ति, पैत्रिक गोत्रवाद, राजनीतिक भ्रष्टचार, बौद्धिक अस्तव्यस्थता आदि । उपरोक्त सारा खरानी तथा फोहर मैलाले नेपाली समाजको घाँटी थिचेर राखेका छन् । सामन्ती संस्कृति जीवनमा गहिरोसित घुसेर त्यसको विकासलाई अवरुद्ध पारिरहेको छन् । 

नेपाल एक अल्पविकसित मूलुक हो र अल्पविकासको सामान्य विशेषता स्वरुप यहाँका आम जनता, श्रमिक, जनसमुदायहरु लामो समयदेखि माथि उल्लेखित खराबीहरुको बोझले थिचेर रहेका छन् । सामन्ती अवशेषहरुको प्रभाव कतिसम्म व्यापक रहेको छ भने साधारण जनसमुदायहरुको जीवनशैली, व्यवहार र आचारणमा मात्र होइन, आपूmलाई क्रान्तिकारी नेता, प्रगतिशिल विचारका समर्थक वा ठूला लोकतन्त्रवादी ठान्ने धेरैजनाको जीवन शैली व्यवहार र आचरणमा पनि तिनको अभिव्यक्ति भइरहेको हामी देखिरहेका छौं । व्यक्तिवाद, स्वार्थीपन, सांगठनिक भावनाको कमी, अनुशासनहीनता, अहंकार, स्वेच्छाचारिता आदि त्यसकै प्रभावका अभिव्यक्ति हुन् । त्यसका अतिरिक्त हाल यता मुलुकमा भइरहेको पुँजीवादको, खास रुपले व्यापारिक पुँजीवादको विकासद्वारा उत्पन्न बढ्दो राजनीतिक भ्रष्टचार, घुसखोरी राष्ट्रिय सम्पत्ति लुट आदि मूलुकमा व्यापक रुपमा फैलिदै छ र त्यसले मानिसलाई पथभ्रष्ट पार्ने आफ्नो शक्तिको प्रदर्शन गर्दैछ । त्यसका साथै मुलुकमा साम्राज्यवादी संस्कृतिको प्रभावको पनि विस्तार भईरहेको छ, र यस संस्कृतिको मुख्य उद्देश्य मानिसलाई पशुसरह बनाउनु, लोभलालच मात्र भएको तर दील नभएको पार्नु, मानिसलाई अरुको जीवन लुटेर भए पनि धनी बन्ने लालसले लिप्त बनाउनु रहेको छ ।

  यसरी हामी के देख्छौ भने नेपाली समाज र आम नेपाली जनतामा एकातिर परम्परागत रुपमा रहेका सामन्ती फोहर मैलाद्वारा थिचिएका छन् भने अर्कोतिर व्यापारिक तथा दलाल पुँजीवादी र साम्राज्यवादी संस्कृतिका भ्रष्टीकृत मानवताविरोधी बढ्दो प्रभाव अन्तर्गत रहेका छन् । उक्त भ्रष्ट संस्कृतिका तत्वहरु सामाजिक जीवनको विकास सँगसँगै विकसित हने गर्छन् र तिनलाई विचार–प्रचार र अभियानद्वारा मात्र कदापि खतम पनि सकिदैन । प्रचार र अभियानका साथै, समाजको पुरै जनवादीकरण र जनवादी संस्कृति र शिक्षाको विकास, समाजको क्रान्तिकारी रुपान्तरण मार्फत् मात्र तिनलाई विस्तार हटाउन सकिन्छ ।