विर्तामोड । बालक हत्याका दोषीलाई कारबाहीको माग गर्दै स्थानीयवासीले गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागि एक जना युवाको मृत्यु भएको छ भने प्रहरीको गोली लागी १० जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको स्थिति गम्भीर रहेको प्रदर्शनकारीले बताएका छन् । स्थानीयको विरोध प्रदर्शन नियन्त्रणबाहिर गएको भन्दै स्थानीय प्रशासनले बिर्तामोड क्षेत्रमा साढे एक बजे कर्फ्यु लगाएको थिथयो । कक्र्यू आदेश जारी गरेकै समयमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अर्जुनधारा ११ का ३२ बर्षिय राजेश थापाको मृत्यु भएको हो । घाँटीमा गोली लागेका उनलाई उपचारका लागि भद्रपुरस्थित मेची अञ्चल अस्प्ताल लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीको गोली लागि गम्भीर घाइते ३ जनाको भद्रपुरस्थित मेची अञ्चल र अन्य ६ जनाको बी एण्ड सी लगायत बिर्तामोडका निजी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई शरीरका बिभिन्न भागमा गोली लागेको छ । प्रहरीले भने कर्फ्युका समय मृतक बालकका आफन्त तथा स्थानीयवासीले इलाका प्रहरी कार्यालय तोडफोडको प्रयास गरेपछि बाध्य भएर गोली चलाएको दावी गरेको छ ।
अर्जुनधारा ११ का ११ बर्षीय लक्ष्मण सिवाकोटीको हत्या भएको एक महिना हुन लाग्दा समेत अनुसन्धानमा प्रहरीले चासो नदेखाएको भन्दै आफन्त तथा स्थानीयवासीले बिर्तामोड क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदर्शन हिंसात्मक बनेको भन्दै प्रशासनले बिर्तामोड नगरपालिकाको पूर्वमा वसपार्क, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्तावजारसम्म अर्को सुचना जारी नभएसम्मका लागि कर्फ्यु लगाएको छ । बिर्तामोड बन्दको आब्हान गरी सुरु भएको प्रर्दशन प्रहरी अवरोध छिचोल्दै मुक्ती चोक पुगेलगत्तै प्रहरीले लाठी चार्ज र हवाईफायर गरेको थियो ।
गत असोज १४ गते विजया दशमीका दिन वेपत्ता भएका अर्जुनधारा ११ का ११ बर्षिय लक्ष्मण सिवाकोटीको शव भोलीपल्ट बिर्तामोड–१ वैसावाडीस्थित झाँडीमा भेटिएको थियो । विर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिनुभएको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । यद्यपी हत्या भएको झण्डै १ महिना हुन लाग्दा समेत प्रहरी अनुसन्धान प्रभावकारी नभएको भन्दै आफन्त तथा स्थानीय शुक्रबार प्रदर्शनमा उत्रिएका हुन् ।