सार्वजनिक मुद्दामा सजाय भोगिरहेका ३ जना प्रहरी हिरासतबाट फरार

प्रकाशित मिति : २०७४ आश्विन ७

गोरखा । सार्वजनिक अपराधको मुद्दाअन्तर्गत सजाय भोगिरहेका ३ जना थुनुवा जिल्ला प्रहरी कार्यालय, गोरखाको हिरासतबाट भागेका छन् । शुक्रवार राति करिब पौने एक बजे उनीहरु फरार भएका हुन् ।

शौचालय जाने बाहना बनाएर उनीहरु शौचालयकै भेन्टिलेसनमा रहेको रड बंगाएर भागेको पाईको प्रहरीले जनाएको छ ।

फरार हुनेमा १७ वर्षीय दिपेश मजकोटी, अभिषेक अधिकारी र सन्दिप सुर्खेती रहेको प्रहरीले जनाएको छ । उनीहरु तीनैजना सार्वजनिक मुद्दाअन्तर्गत सजाय भोगिरहेका थिए ।

हिरासतबाट भागेकामध्ये दुई जनालाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ । आफन्त पर्ने गोरखा नगरपालिका–६ डाँडागाउँकी राममाया गुरुङको घरबाट अभिषेक अधिकारी र सन्दिप सुर्खेतीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रामचन्द्र शाहले बताए । दिपेश मजकोटीको भने खोजी कार्य भइरहेको उनले बताए ।