काठमाडौं । प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा आगामी असोज २ गते हुने चुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । दलहरुले प्रायः सबै स्थानीय तहमा उम्मेदवारको नाम टुंगो लगाइसकेका छन् ।
यसअघि भएको दुई चरणमा भएको स्थानीय तहमा जस्तै यसपटक पनि केही स्थानीय तहमा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल हुने भएको छ ।
बुधबार मनोनयन दर्ता गर्नुअघि नै केही तहमा तालमेलको निर्णय हुने दुवै पार्टीले जनाएका छन् । नेकपा एमाले भने एक्लै चुनाव लड्ने भएको छ ।
देशभरका ७ सय ५३ स्थानीय तहमध्ये बाँकी तहमा चुनाव भइसकेको छ । असोज २ गते १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा चुनाव हुँदैछ ।
चुनावका लागि २ हजार १६६ मतदानस्थल, ३ हजार ५७८ मतदान केन्द्र रहनेछन् भने चुनावमा ३१ हजार ५ सय कर्मचारी खटिएका छन् ।