चितवन । अविरल वर्षाका कारण बुधबार राति झरेको पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडक खण्ड बिहीबार दिनभर खुल्ने सम्भावना कम देखिएको छ ।
सडकखण्डमा ठूलो पहिरो झरेका कारण पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । मुग्लिनबाट ३ किलोमिटर नारायणगढ तर्फ कालिखोला र तोपेखोला भन्ने स्थानमा माथिबाट ठूलो पहिरो झरेको छ ।
बुधवार साँझ सवा ७ बजे कालिखोलामा पहिरो झरेको थियो भने तोपेखोलामा मध्यरात पहिरो झरेको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए ।
पहिरोका कारण रोकिएका सवारी साधानहरुलाई सुरक्षित स्थानमा सारिएको छ । मुग्लिनबाट पहिरो गएको क्षेत्रभन्दा पछि रोकिएका सबै सवारी साधनलाई फर्काइएको छ ।
चेपाङडाँडालगायत विभिन्न १० ठाउँमा ठूल्ठूला पहिरो खसेको छ । पहिरो हटाउन ४ वटा लोडर र एक जेसिबी स्काभेटर प्रयोग गरिएको छ । बुधबार राति उक्त सडक खण्डको इच्छाकामना–६ मा पहिरोमा दुईवटा सवारी पुरिएका छन् । ती सवारी अझै निकालिएको छैन ।
काठमाडौंबाट इलाम जाँदै गरेको ना ६ ख ७१२१ नम्बरको यात्रुवाहक बस बा १५ च ९३८१ नम्बरको स्करपियो पहिरोले पुरिएका थिए । पहिरो खसेको देखेपछि चालक र यात्रुहरु भागेका थिए । यात्रुवाहक बसेमा २३ जना यात्रु थिए ।