अलविदा देवर बाबु !

प्रकाशित मिति : २०७४ श्रावण १३

- इन्दिरा थारु

त्यो पहाडको कथा
थारुहरू बावियो काट्न पहाड उक्लिने चलन छ । लोग्नेहरू पहाड उक्लिएको समयमा स्वास्नीलाई घर लिप्ने, पोत्ने, नुहाइधुवाई र कपाल कोर्न बन्देज हुन्थ्यो । यो प्रक्रिया हप्ता दिन, दश दिन, या पन्ध्र दिनसम्म लोग्ने मानिस सकुशल घर नफर्किदासम्म हुन्थ्यो । किनकी थारुहरूमा पहाड आतङ्क थियो । पहाडमा खोंच, कन्दरा, ढुङ्गा, ओडार, नदी र खोलाहरू हुन्छन् । लिप्ने, पोत्ने र नुहाइधुवाई गरेमा लोग्ने मानिस पहाडको ढुङ्गामा चिप्लेर खोलामा बगेर अनर्थ हुने विश्वास थियो । पहाडबाट लिएर आएका टाटाहरू हामी खुसी भएर खान्थ्यौँ र चप्पल बनाएर खुट्टामा लगाउथ्यौँ । म मनमा सोच्थें । म पनि ठूलो भएपछि बाबासँग पहाड कमाउन जान्छु । पहाडमा बावियो काट्नु र निगाला ल्याउनु थारुहरूका लागि ठूूलो काम हुन्थ्यो । यसलाई पहाड कमाउनु भनिन्छ । पहाडबाट सकुशल फर्केपछि बहादुर मानिन्थ्यो । म हजुर आमासँग सोध्थें ‘हजुर आमा म पनि ठूली भएपछि पहाड कमाउन जान्छु ।’ उहाँले ‘केटी मान्छे पहाड कमाउन हुँदैन, पहाड कमाउन त छोरा भएर जन्मिनु पर्छ’ भन्नु हुन्थ्यो । म अचम्ममा पर्थे । केटा मान्छे जान हुने र केटी जान नहुने यो कस्तो अचम्म । मेरो हजुर आमामा छोरा मान्छे बहादुर हुन्छन् र बहादुरले मात्र पहाड कमाउन सक्छ । किनकी पहाडमा हिँड्न पर्छ आफ्नो खरखजना बोकेर । बलिया, बहादुर र साहासीले गर्ने असाधारण काम हो भन्ने विश्वास थियो ।

जव म कक्षा आठमा अध्ययनरत थिएँ, तव अखिल क्रान्तिकारीको क्षेत्रीय भेला सुर्खेतको काफलकोटमा जाने मौका पाएँ । हामी बाँके, बर्दियाका विद्यार्थीहरू कोहलपुरको निबुवा, खरगवारबाट सल्यान हुँदै सुर्खेतको काफलकोट पुग्यौं । हामी पहाड चढ्ने पहिलो पटक भएर होला थकानले थलिएका थियौं । स्याँ स्याँ हुन्थ्यो । कान बहिरो जस्तो लाग्थ्यो । कहिल्यै नउक्लिएर होला खुट्टा सुन्निएको पनि थियो । राती सपनामा पनि चिप्लिएको र तल खोंचमा खसेको भान हुन्थ्यो । हाम्रा बाजे, बाबा त सात वटा मात्र पहाड काट्न पर्छ भन्नुहुन्थ्यो । हामी त ३६ वटा पो काट्यो । हामी धेरै बहादुर रहेछौं । एक आपसमा कुरा ग¥यौं । बाबा काकाहरू सुनाएका कथामा भेटिएका घर भन्दा पनि ठुलो ढुङ्गाहरू भेटायौं । साँगुरो गोरेटो र घोरेटो बाटाहरू देख्यौं । आवेगमा बगेका साना तथा वेगवान खोलाहरू त¥यौं । जहाँ मान्छे चिप्लिएर लडेको पनि सुन्यौं । मलाई लाग्यो यसरी नै पानी खाना जाँदा चिप्लिएर लडेका थिए होलान् पहाड कमाउनेहरू ।

त्यो कर्णाली

मेरो पहाडको कथासँग कर्णाली जोडियो । २०६३ मा कर्णाली घुम्ने र पढ्ने मौका इच्छुक साँस्कृतिक पविारले जुराएको थियो । हामी नेपालगञ्जबाट गाडीमा सुर्खेत हुँदै दैलेखको माथिल्लो ढुङ्गेश्वरसम्म गयौं । ढुङ्गेश्वरदेखि हाम्रो पैदल यात्रा सुरु भयो । कर्णाली राजमार्गको ट्रयाक खुल्दै थियो । आङ सिरिङ्ग हुन्थ्यो भिरालो बाटो देखेर । किनकी म भिरालो बाटोको पहिलो पैदल यात्री थिएँ या भनौँ मेरो आफन्तले कहिल्यै कल्पना नगरेको यात्री थिएँ । भिरालो बाटो आउँदा म आँखा चिम्म गर्थें र साथीहरू डो¥याएर लैजानु हुन्थ्यो । हामी कालिकोट हुँदै जुम्ला पुग्यौं । जुम्लाबाट हाम्रो साँस्कृतिक मार्च सुरु भयो । हामीले जुम्लाको खलङ्गा बजारमा सबभन्दा पहिलो प्रस्तुति पस्क्यौं । बजारबाट सुरु भएको हाम्रो यात्रा गुठीचौर, देपालगाउँ, तातोपानी हुँदै सिंजाको लुड्कु, नराकोटमा समापन गरेर मुगुतर्फ लाग्यौं । मुगुमा पनि ठाउँ ठाउँमा कार्यक्रम भयो । त्यहाँ पनि छुईगोठका किशोरीहरूको जीवनगाथा सुनेँ । त्यो गोठमा वेहाल जिन्दगी र अवस्थिति देखेर मन चिसिक्क हुन्थ्याये । हामी प्रत्यक्ष जनताको बीचमा जान्थ्याँै । मलाई भाषाको एकदमै समस्या पथ्र्यो । जनताकै चुल्होमा खाना खान्थ्यो हाम्रो टीम । हामी एक गाउँबाट अर्को गाउँमा पुग्न झिसमिसमै यात्रा तय गथ्र्यौं । कहिले कोदाका रोटा, कसैकोमा आलु, कसैकोमा चिनोको भात हुन्थ्यो । साथीहरू मलाई जिस्क्याउनु हुन्थ्यो किनकी म थारुको चेली कोदो, चिनो, फापर भन्ने पहिलो चोटी चाँख्दै थिएँ । तर पनि कर्णालीबासीको जीवन पढ्ने कोसिश गरें । चिनोसँग नाता गाँसे, आलुसँग मितेरी लाएँ, फापरसँग खाएर रमाएँ ।
कठिन उकालो ओरालो गर्दै कालिकोट, जुम्ला, मुगु, हुम्ला पुनः मुगु, कालिकोट हुँदै जुम्ला आएर एउटा लामो कर्णाली सांस्कृतिक मार्च सकियो ।

त्यो पहिलो भेट

पहाड आतङ्कले त्रसित हुने थारु समाजमा जन्मिएकी चेलीको जनयुद्धको बीचबाट पहाडसँग मेरोे नाता गाँसियो । मेरो हजुरआमाहरु, आमाहरु, काकीहरु पहाडमा बावियो लिन जाने आफ्ना श्रीमान्हरुको जीवन नचिप्लियोस् भनेर पुकारा गर्थे भने म अव स्वयम् पहाडै पहाडको वस्तीमा पुगेकी थिएँ । १० रुपैयामा जनवादी विवाह गरेर जुम्लेनीमा फेरिएको तीन महिना पछि मेरोे देवर हरिबहादुर कुँवरसँग भेट भएको थियो ।

जुम्लाबाट दुई दिनकोे गाडी यात्रा गरेर विहान पुष्पलाल चोकमा आइपुगेको खबर आयो । राज आफ्ना भिनाजु र भाईलाई लिन पुष्पलाल चोक जानुुभयो । म आतुर थिएँ । साँच्चि नै भन्ने हो भने एउटा विवाहित महिला आफ्नो घर परिवारसँग भेट्न कौतुहल हुने रैछ । के होला ? कसो होला ? अलि मनमा डर, रहर लाग्ने रैछ । मनमा छुट्टै भावना जागृत हुँदोरहेछ ।

पुसको तुँवालोले छोपेको थियो । घामको दर्शन भेट पनि गाह्रो पथ्र्यो । देवर अलि अगाडि आउनु भयो । जाडो भएर होला गमक्क कपडा लगाएका देवर अग्लो, कालो र चिसो हावा पानीले चाउरिएकोले मैले दाई भनेर नमस्कार गरेँ । एउटाले पनि नमस्कार फर्काउनु भयो । लगत्तै राज आउनु भयो अनि हामीलाई एक आपसमा परिचित गराउनु भयो । देवरले फेरी नमस्कार फिर्ता गर्नु भयो ।

मैले खाना तयार गरेँ । हामी सवैले खाना खायौँ । दाई(गोर्ख कठायत‘क.हर्वेन्द्र’) र देवर एकछिन आराम गरेर नुहाउनु भयो । दाई दुई दिन पछि जुम्ला फर्किनु भयो । देवर भने ट्युसनको लागि तयारीमा लाग्नु भयो । पहाडबाट भर्खर झरेर होला, उहाँ साइकल सिक्न एकदमै रुचि राखेर एक हप्तामा सिक्नु भयो । नयाँ साइकलको पनि धजीया उडाउनु भयो । त्यो साइकल रहरै रहरमा थोत्रो बनाएर छोड्नु भयो ।

यो जीवन

उहाँ कक्षा आठदेखि नेपालगञ्जको मङ्गलप्रसाद उच्च माविमा अध्ययनरत हुनुभयो । उहाँ सुरु सुरुमा आउँदा केही थाहाँ पाउनु हँुदैनथ्यो । उहाँलाई केही घरायसी सामान लिन पठाउँदा लिएर त आउनु हुन्थ्यो । सामान ल्याएर नजनाउने बानी थियो । अलि अव्यवहारिक लाग्थ्यो । नाचगानमा साह्रै इच्छा राख्ने । उहाँ विद्यालयमा प्रत्येक कार्यक्रममा सहभागीता जनाउनु हुन्थ्यो । साइकलको साह्रै सौखिन । साइकल किनी दिएपछि भूँइमा खुट्टै थिएन । हामी देवर भाउजुकै छुट्टा छुट्टै साइकल थियो । तर चोरले देवर भाउजुकै साइकल चोरीदिए पछि कम्ता नमिठो मान्नु भएको थिएन ।

समय वित्दै जाँदा उहाँ अलि बढी बाहिर घुम्न जान थाल्नुभयो । मलाई डर लाग्थ्यो । आजकालका केटा कहीँ कतै झगडा पारेभने मैलेँ घरमा के जवाफ दिने ? म अलि सकसमा पर्न थालँे । उहाँ प्रत्यक्ष मेरै निगरानीमा हुनुहुन्थ्यो । आमा, बुवा, र दाईको प्रत्यक्ष भूमिका मैले निर्वाह गर्नु पथ्र्यो । त्यसैले उहाँ र मेरोबीच अलि अलि खटपट भइरहन्थ्यो । उहाँमा राम्रो समाजसेवी भावना थियो । पटक पटक रक्तदान गरिरहनु हुन्थ्यो ।

आखिर जे जस्तो भएपनि एसएलसीमा राम्रो परिणामा आएन । सारै दुःख लाग्यो । अन्तमा कम्पार्टमा पास हुनुभयो । मैले खुसीले आधा किलो मासु ल्याएँ । उहाँ साथीहरूसँग खुसी भएर बाहिर जानु भयो । म, मीना, मञ्जु दिदी र रिना रिजल्ट हेर्दै थियौँ । हामी सबै जनाले खुसी भएर बधाइ दियौँ । भान्सामा खुसीले आधा किलो मासु कोइला भएको पत्तै भएन ।

आजभोली लाग्छ कर्णाली स्वायत्तताको अपुरो खुशी पनि आखिर हरिबहादुरसँग साट्नु प¥यो ।

त्यो आन्दोलन

नेपालमा सङ्घीयताको प्रारुप प्रस्तुत भयो २०७२ साउन २३ गते । पछिल्लो दिनदेखि कर्णाली, मधेशी र थारु समुदाय आन्दोलित भएका थिए । कतैँ पहिचानको लडाइँ, कहीँ अखण्डताको लडाइँ त कही विशेष अधिकारसहितको स्वायत्त प्रदेशको लडाइँ । दिनप्रदिन आन्दोलनका स्वरूपहरू परिवर्तित थिए । त्यति बेला म नेपालगञ्जमा थिएँ । नेपालगञ्जमा ‘एक मधेश एक प्रदेश’ को आन्दोलन चर्किरहेको थियो भने थारुहरूको पनि थारुवान÷थारुहटको छुट्टै पहिचानसहितको आन्दोलन थियो । आन्दोलनले बजारहरू बन्द थिए । बन्दले गर्दा म माइतमा गएँ । जगतिया म बसेको दुई दिन भएको थियो । कर्णालीमा आन्दोलन दिनदिनै चर्किदै गइरहेको थियो ।

म मोवाइल छोडेर अङ्कलको घरमा थिएँ । घरमा फोनको ओइरो लागेको थियो । म झसङ्ग भए । यतिधेरै फोन आको रैछ । मैले राजलाई कल व्याक गरँे । राजले हरिबहादुरलाई गोली लागेको जानकारी गराउनु भयो । म आत्तिएँ । अलमलमा परेँ । मन वेचैन भयोे । म अन्यौलमा पर्दै गएँ । मुटुको धड्कन जोर जोरले धड्किन थाल्यो । मैले सबैलाई खबर गरें । राजले फोन गरेर तुरुन्त नेपालगञ्ज आउ भन्नुभयो । घाइतेहरू लिएर नेपाल आर्मीको हेलिकप्टर नेपालगञ्ज आउँदैछ । यता नेपालगञ्ज गुलरिया सडक खण्डमा राती नाँै बजेसम्म आन्दोलनकारी बस्थे । मसँग एक पैसो थिएन । रात छिपिदै जान थाल्यो । के गर्ने, कसो गर्ने ? सोच्न गाह्रो भयो । सामान्य आर्थिक जोरजाम गरेर अङ्कल, म र भाई लौकुश १० बजे नेपालगञ्ज पुग्यौँ । सुर्य दाईले नेपालगञ्जको नर्सिङ होम र भेरी अञ्चल अस्पतालमा बुझ्नुु भयो तर त्यहाँ कोही नआएको जानकारी दिनुभयो । अङ्कल र भाई एकछिनपछि घर फर्किनुुभयो भने मञ्जु दिदी, म र सुर्य दाई खबर बुझ्न लागिरह्यौँ ।

मलाई रातभर निन्द्रा लागेनँ । फोनको प्रतीक्षामा रात वित्यो । हामी ४ बजे उठ्यौँ । फेरी खबर गर्न तर्फ लाग्यौँ । विहानै राजले फोन गरेर कोहलपुर शिक्षण अस्पताल जान भन्नुभयो । हामी हतार हतार निस्किन खोज्दै थियौँ तर सुर्य दाईको गाडीमा पेट्रोलको सकिएकोले साँढे ५ बजिसकेको थियो । छिमेकी दाइलाई उठाएर १ लिटर तेल सापटी लिएर सुर्य दाई, दिलमाया र म कोहलपुर तर्फ लाग्यौँ । हामी राँझा पुग्न नपाउँदै पानी बेस्सरी परेर हाम्रो यात्रा छेक्न खोज्दै थियो । तर हामी निरन्तर पानीमा भिज्दै कोहलपुर पुग्यौँ ।

कोहलपुर शिक्षण अस्पताल पुग्न नपाउँदै हाम्रो आँखा चारैतिर डुल्न थालिसकेका थिए । हामी हतार हतार जुम्लाको विरामी कता छ भनेर सोध्यौँ र सरासर भित्र गयौँ । घाइतेमध्ये सबैभन्दा गम्भीर हाम्रो विरामीको थियो । ११ बजे पुगेको विरामीमध्ये हाम्रो विरामीलाई राती २ बजे नै रिफर गरिएको रहेछ काठमाडौ या लखनउ लैजान । हामी त्यहाँ पुग्दा भोजेन्द्र बाबु मात्र हुनुहुन्थ्यो । उहाँ सानो काँटको भनेर कसैले नटेर्ने रहेछन् । रातभर भोेजेन्द्र बाबुलाई विरामी देवरले भाउजु बोलाउने गरेको कुरा सुनाउनु भयो । हामी त्यहाँ पुगेको थाहाँ पाएपछि देवरले भाउजु दाइ खोई ? ‘मलाई गाडीमा ल्याएर आको हुनाले शरीर दुखेको छ भाउजु, मालिस गर्दिनुहोस्’ भन्नुभयो । मलाई साह्रै पीर लाग्यो । मनमा अनेक कुरा खेल्न थालँे । सुर्य दाई बुझ्न थाल्नुभयो । म र दिलमाया हात मालिस गर्दै थियौं । डाक्टर आएर विरामीको मान्छे खोई भन्नुभयो । मैले आफुलाई इंगित गरेँ । ‘२ बजे नै रिफर गरेको विरामी अहिलेसम्म खोइ लगेको विरामीको अवस्था गम्भीर छ, केही भयो भने हामीलाई भन्न पाउनु हुन्न’ भन्यो । म झन् आत्तिएँ । राजको फोन आयो । मैले सबै कुराको जानकारी दिएँ । राज काठमाडौंमा हुनुहुन्थ्यो । हाम्रो फोन सम्पर्क भइरहन्थ्याँै । उहाँले विरामी काठमाडौं लान हेलिकप्टरको व्यवस्था हुँदैछ भनेर जानकारी दिनुभयोे । विरामी भाउजु छिट्टै लैैजानुहोस भनेर आत्तिन थालिसक्नु भएको थियो । म पल्ट पल्ट आश्वासन दिइरहेको थिएँ । कुराकानी नमिलेर ढिला भइरहेको थियो । विरामी छटपटारहेका थिए । बल्ल बल्ल कुरा मिल्यो र हामी ३ जना विरामी लिएर सिम्रिक एअरबाट दिउँसो १ बजे राँझा एयरपोर्टबाट काजजात गराएर उड्यौँ । पानी झ्यामझ्याम परिरहेको थियो तैपनि प्लेन उड्यो । हामी काठमाडौं पुगेको थाहाँ पाएपछि देवर फेरी सोध्न थाल्नु भयो ‘दाई खोई ? कहाँ हुनुहुन्छ ? कतिबेला आउँनु हुन्छ ?’ मैले दाई गेटमा एम्बुलेन्स लिएर आइसकेको जानकारी गराएँ र अलि शान्त हुनुभयो । दाईलाई देखेपछि अलि भावुक पनि हुनुभयो ।

जव हामी शिक्षण अस्पतालभित्र छि¥यौँ, तव फेरी अशोकलाई सोध्न थाल्नुभयो । अशोक ४ बजे आएपछि उसँग कुराकानी गर्नुहुन्थ्यो । उपचार प्र्रक्रिया जारी थियो । डाक्टरहरू आएर रिर्पोट हेर्थे । टाउको हल्लाउँथे । स्पाइनलकर्ड इन्ज्यूरी भएकोले बचाउन गाह्रो हुने सङ्केत गर्थे । हामी निरन्तर प्रयासरत थियौँ । विरामीको झन् झन् अवस्था विग्रिदै गइरहेको थियो । सुनिने प्रक्रिया जारी थियो । बोलीमा पनि अस्पष्टता हुँदै गइरहेको थियो । हामी ३ जना भएको हुनाले सिफ्ट मिलाएर कुरुवा बस्थ्यौं । मैले दिउँसो ३ बजे औषधी खुवाए । उहाँले घरी घरी सोधिरहनु हुन्थ्यो –‘भाउजु अप्रेशन कति खेर गर्छ ? मलाई बेसरी दुखेको छ । छिटो गर्न भन्नुहोस् न ।’ म तयारी हुँदैछ, नआत्तिनुहोस् भनिरहेकी थिए । भदाँै ३ गते उहाँलाई बेस्सरी अप्ठ््यारो भयो । आइसियु खाली थिएन । हामी लगातार पम्पबाट कृत्रिम स्वास दिइरहेका थियौं । राती ११ बजे खाली भएपछि आयुसीमा लग्यो । त्यसमा एक जनालाई मात्र भेट्न जान दिन्थ्यो । हामी समय मिलाएर भेट्न जाँदा बरबर आँसु झार्नु हुन्थ्यो । मन पिरो, अमिलो भएर नैरश्यता पैदा हुन्थ्यो । हामी ४ गते राती अशोक र विशाललाई कुर्न लगाएर डेरामा आयौँ ।
यसरी पीडा, अन्यौल र छटपटीका बीच ६ गते विहान २ बजे अशोकले फोन ग¥यो र हामी हतारिदै ट्याक्सी चढेर टिचिङ गयौँ । अवस्था नाजुक थियो । डाक्टरले मेन्टल्ली तयार रहनु बाहेक अरु कुनै विकल्प नरहेको जानकारी दिए । ‘अन्तिम भेटघाट गर्न सक्नुहुन्छ’ भनेर बोलायो राज र अशोक भित्र गए । म जान सकिनँ किनकी ममा त्यो मृत्युको अन्तिम छटपटी हेर्ने सामथ्र्य नै भएनँ । समय वित्दै गयो र ४ बजे डाक्टरले घोषणा ग¥यो कि देवर बाबु सदाको लागि अलविदा हुनुभयो ।

विहान चारैतिर खबर भयो । हामीले सहिद घोषणा नभएसम्म लास नबुझ्ने भन्यौँ । पोष्टमार्टमका लागि भन्दै शव आइसियुबाट शवगृहमा राखियो । त्यही अन्तिम श्रद्धाञ्जली दिन मोहन वैद्य‘किरण’, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, प्रकाशज्वाला, भरत बमलगायतका नेताहरु, कर्णालीका सभासदहरु, आन्दोलनकारी र कर्णालीवासी, जो काठमाडौँमा हुनुुहन्छ, आउनुभयो । त्यो आन्दोलन, गोलीकाण्ड र शहादतसम्मका दृश्यहरु फनफनी नाच्न थालेँ । मानिसहरुले थरीथरीका प्रतिक्रिया दिइरहेका थिएँ । हाम्रो लागि सिंगे काका अभिभावकका रुपमा रहनु भयो ।

अन्तमा कर्णालीका आन्दोलनकारीले हरिबहादुरलाई शहीद घोषणा गर्दै उच्च सम्मान प्रकट गरेपछि हत्यारा सरकारसँग शहीदको सम्मान माग नगर्ने निर्णय भयो र ८ गते दिउँसो हरिबहादुरको शव पशुपति आर्यघाटमा जल्यो । कर्णालीको स्वायत्तताका लागि जलेको त्यो शरीरसँगै एउटा मानिस हाम्रो परिवारमा सम्झनामा मात्र जीवित रह्यो । हामी पीडाले जलिरह्यौँ । अलविदा हरिबहादुर । अलविदा शहीद ।