काठमाडौं । चिरप्रतिद्वन्द्वी भारतमाथि शानदार जित हात पार्दै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि आफ्नो नाममा लेखाएको छ ।

आइतबार भएको फाइनलमा भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले समूह चरणमा बेहोरेको १२४ रनको हारको बदलासहित उपाधी पनि जितेको हो । आईसीसीले आयोजना गरेको कुनै पनि प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएको यो पहिलो पटक हो ।

ओभलमा टस जितेर फिल्डिङ रोज्ने भारतको निर्णयलाई पाकिस्तानी बलर र ब्याट्सम्यानले गलत सावित गरिदिए । अजहर अली र फखार जमानले पहिलो विकेटका लागि १२८ रनको साझेदारी गर्दै पाकिस्तानलाई निकै राम्रो सुरुवात दिलाए ।

अली ५९ रन बनाएर आउट भए । तेस्रो नम्बरमा आएका बाबर अजमले पनि फखारलाई राम्रो साथ दिए । दुबैले ७२ रनको साझेदारी गर्दै टोलीको स्कोर २०० रन पुर्याए । फखार जमानले ११४ रन बनाए ।

सोएब मल्लिक मात्र १२ रनमा आउट भए भने बाबर अजमले ४६ रनको योगदान दिए । यसैगरी मोहम्मद हाफिज र इमाद वासिमले गतिलो साझेदारी गर्दै पाकिस्तानको स्कोर ३३८ रनमा र्पुयाए ।

३३९ रनको विशाल लक्ष्य पाएको भारत सुरुदेखि नै दबाबमा पर्यो । रोहित शर्मा पहिलो ओभरको तेस्रो बलमा शून्य रनमा आउट भए भने विराट कोहली ५ रन बनाएर पभेलियन फर्किए ।

पाकिस्तानी बलरहरुका सामू भारतका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । शिखर धवन पनि २१ रनमै आउट भए । सुरुवाती तीनै विकेट हसन अलीले लिएका थिए ।

चौथो विकेटका रुपमा युवराज सिंह २२ रनमा आउट हुँदा महेन्द्र सिंह धोनी ४ रनमा आउट भए । छैटौं विकेटका रुपमा केदार जाधव ९ रनमा आउट हुँदा भारतको स्कोर मात्र ७२ रन थियो ।

सातौं विकेटका लागि हार्दिक पाण्डेय र रविन्द्र जडेजाले ८० रनको साझेदारी गरे । पाण्डेयले ७६ रनमा आउट हुँदा टिमको स्कोर १५२ रन थियो । थप चार रन जोड्दा भारत अलआउट भयो ।

भारतलाई मात्र ३०.३ ओभरमा अलआउट गर्ने क्रममा मोहम्मद अमिर र हसन अलीले ३–३ विकेट लिए । सहदाव खानले २ विकेट लिए भने जुनिद खानको नाममा एक विकेट रहृयो ।

प्रतिक्रिया

सम्बन्धित खवर