दार्जिलिङ । पश्चिम बंगालको पहाडी क्षेत्रमा रहेका नेपाली भाषीले अलग गोर्खाल्याण्डको मागसहित अनिश्चितकालीन बन्दका कार्यक्रम सुरु गरेका छन् ।
अलग गोर्खाल्याण्डको मागसहित अनिश्चितकालीन बन्दमा उत्रिएको गोर्खा जनमुक्ति मोर्चाले आन्दोलनका कार्यक्रममा अनिवार्य रुपमा सहभागी हुनका लागि सम्पूर्ण नेपालीभाषीलाई आग्रह गरेको छ । आन्दोलनका क्रममा नेपालीभाषीको बाहुल्यता रहेको क्षेत्र ठप्प बनेको छ ।
बन्दका क्रममा केही नेपालीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पर्यटकीय स्थल दार्जिलिङमा अनिश्चितकालीन बन्दका क्रममा होटलहरु समेत बन्द भएका छन् भने सडकमा सवारी साधन ठप्प बनेका छन् भने शिक्षण संस्था समेत पूर्ण रुपमा बन्द रहेका छन् ।
मोर्चाको अनिश्चितकालीन बन्दलाई असफल बनाउन लागेको पश्चिम बंगाल सरकारले भने दार्जिलिङ र कालेबुङ जिल्लामा सबै सरकारी कार्यालयहरु अनिवार्य रुपमा खोल्न तथा सरकारी कर्मचारीलाई अनिवार्य कार्यालयमा उपस्थित हुन आइतबार नै आदेश जारी गरेको थियो ।
यद्यपि मोर्चाको बन्दका कारण दार्जिलिङ, कालेबुङ, मिरिकलगायत नेपालीभाषीको बाहुल्यता रहेका क्षेत्र ठप्प बनेका हुन् । बन्दका क्रममा मोर्चाका कार्यकर्ताले दार्जिलिङमा केही सवारी साधनमाथि आगजनी गरेका थिए ।
मोर्चाले सुरु गरेको बन्दलाई ध्यानमा राख्दै ति जिल्लामा राज्य सरकार अन्तर्गत रहेका सबै कार्यालय र राज्यद्वारा वित्तीय सहयोग प्राप्त कार्यालयहरु खुल्ला राख्ने सरकारले निर्णय गरेको थियो ।
सोही अनुसार पहाडी इलाकामा बन्द फिर्ता नलिएसम्म सबै कर्मचारीले अनिवार्य रुपमा कार्यालय उपस्थित हुनु पर्नेछ भने कार्यालय उपस्थित नभएको दिनको तलबसमेत काटिने छ ।
मोर्चाको बन्दलाई लक्षित गरी प्रत्येक सरकारी कार्यालयमा प्रहरी तैनाथ गरिएको थियो । यसैगरी प्रहरीले पेट्रोलिङ भ्यान, हेभी मोबाइल स्कार्ड र हेभी रेडियो फ्लाइङ स्कार्डले सडकमा गस्ती गर्ने व्यवस्था गरिएको छ ।
यसअघि गोर्खा फाउन्डेशनले दार्जिलिङ पहाडका स्कुलहरुमा अनिवार्य रुपमा बंगाली भाषा अध्ययन गर्नुपर्ने व्यवस्था गरिएपछि त्यसको विरोधमा दिल्ली स्थित जन्तरमन्तरमा नेपालीभाषीले धर्ना दिएका थिए । धर्ना कार्यक्रममा सहभागीहरुले नेपालीभाषीको बसोबास रहेका पहाडी क्षेत्रमा बंगाली भाषा थोपर्ने ममता बनर्जी सरकारको निर्णयको चर्को आलोचना गरेका थिए ।
गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले आन्दोलनमा प्रहरी लगाएर दमन गरिए त्यो झनै चर्किएर जाने बताएका छन् । उनले भनेका छन्, ‘आन्दोलन हो, केही पक्राउ पर्न सकिन्छ तर सडकमा लाखौं लाख मानिस निस्किएर गोर्खाल्याण्डको निम्ति नाराबाजी गर्नेछन् अनी बंगालको तानाशाहीको विरोध गर्नेछन् ।’
गोर्खाल्याण्डका लागि सुरु भएको आन्दोलन नरोकिने स्पष्ट पार्दै उनले दार्जिलिङ आएका पर्यटकमाथि पनि यो आन्दोलनका क्रममा कुनै क्षति पुगे मोर्चाले जिम्मेवारी नलिने बताएका छन् ।
आफूहरुले गोर्खा टेरिटोरिल एडमिनिस्ट्रेशनलाई नै राम्रोसँग चलाउने सोचेको भएपनि बंगाल सरकारको तानाशाहीले चल्न नदिएको बताएका छन् । बन्दका क्रममा आन्दोलनकारीले सरकारी कार्यालयहरु बन्द गराएका छन् भने दार्जिलिङमा रहेका श्रमिकले चिया बगानसमेत स्वतस्फुर्त रुपमा बन्द गरेको मोर्चाले जनाएको छ ।