मण्डला नाटकघरमा ‘सलेदो’

प्रकाशित मिति : २०७४ जेष्ठ १८

काठमाडौं । ‘मलाई मानिसहरूभन्दा वस्तुहरूसँगको सम्बन्ध मीठो लाग्छ, किनभने वस्तुहरू भागेर कतै जाँदैनन् ।’ मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘सलेदो’को एक संवादले सम्बन्धको गहिराइ बताउँछ । जसरी टुकीमा भएको तेललाई ज्योतिमा छर्ने काम सलेदोले गर्छ त्यसैगरी जीवनज्योति सम्बन्धरूपी सलेदोले छरिरहेको हुन्छ । नाटकले यस्तै भाव बोकेको छ । सम्बन्धहरूको जालोमा अल्झिएको मूल पात्र जीवन अन्त्यमा तिनै सम्बन्धको सम्झनामा एक्लै मृत्यु कुर्न विवश हुन्छ ।

सम्बन्ध रहुञ्जेल बाँच्ने आधार बनेका ती सम्बन्ध छुटेपछि पनि सम्झना बनेर जीवनज्योति छरिरहन्छन् । सम्बन्धको समय सकिएला, सम्बन्धको ज्योति सकिँदैन, नाटक यस्तै भन्छ । सेतो वस्त्रमा सेतै फूलेको वृद्धको भूमिकामा देखिएका सुलक्षण भारतीको संवादले नाटकलाई ओझिलो बनाएको छ ।

अघिल्लो नाटक ‘मिल्क टी’ मा महिलालाई बलियो रूपमा उभ्याएकी निर्देशक सृर्जना अधिकारीले यस नाटकमा पनि सोही क्रमलाई निरन्तरता दिएकी छन् । ‘सलेदो’मा पनि महिला पात्रलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ । बोल्ड केटीलाई कलेजमा धेरैले मन पराए पनि जिस्क्याउन र सिधै बोल्नसमेत नसकेको देखाइएको छ । आत्मविश्वास नै महिलाको ठूलो हतियार हो भन्ने दर्शाइएको छ । नाटकमा सिर्जना मंगोलियन महिलाको रूपमा देखिएकी छन् । उनी बोल्ड छिन् ।

जातीय विविधता नाटकले समेटेको अर्को सुन्दर पाटो हो । श्रीमान् ब्राह्मण, श्रीमती मंगोलियन र बुहारी नेवार समुदायको देखाएर एकै परिवारमा जातीय विविधता समेटिएको छ । जातीय विविधता र महिला बलियो भएको घरमा परिवारका सबै सदस्यले स्वतन्त्रता पाएका छन् । शिक्षित र सुन्दर परिवारको चित्रणले विविधताले सौन्दर्य सिर्जना गर्ने बताउँछ ।
सिर्जनाको निर्देशनको अर्को सुन्दर पक्ष हो सेट सजावट । सम्बन्धहरू र भोगाइसँगै जीवनलाई हेर्ने दृष्टिकोण उघ्रँदै जान्छ, त्योसँगै नाटकमा

एकपछि अर्को गर्दै भित्ताका पर्दाहरू खुल्दै जान्छन् । एउटा मानिसको जीवनमा अनेक सम्बन्ध सुरु हुन्छन्, ती स्थापित हुन्छन् र समयक्रममा छुटेर जान्छन् । चाहे रगतको होस् वा भावनाको, सम्बन्धको गहिराइ मनले निर्धारण गर्छ ।

घरमा पानी ल्याइदिने केटो र वृद्धको सम्बन्धको गहिराइ उनीहरू छुट्ने बेलामा खसेको आँसुले देखाउँछ । नाटकमा हास्यरसका रमाइला दृश्य प्रशस्त छन् । हँसाइ(हँसाइ गम्भीर विषय प्रस्तुत गरिएको छ । वियोगका कुनै कुनै दृश्यले मन भारी बनाइदिन्छ, दर्शकको आँसु नथामिन सक्छ ।

नाटकमा सिर्जना, सुलक्षणलगायत अंकित खड्का, केनिपा सिंह, इँगिहापो कोइँच सुनुवार, अनुप न्यौपाने, मिलन कार्की, रोहित पौडेल र आयान खड्काको अभिनय रहेको छ ।