अफ्रिकी मुलुक केन्यामा चीनको चामत्कारिक रेल (फोटो फिचर)

प्रकाशित मिति : २०७४ जेष्ठ १८

एजेन्सी । केन्यामा राजधानी नैरोबीदेखि बन्दरगाह सहर मोम्बासासम्म नयाँ रेलवे सेवाको सुरुवात भएको छ । यो देशमा पछिल्लो एक शताब्दीमा बनेको सबैभन्दा प्रमुख रेलवे सेवा हो ।

चीनको ३.२ अरब डलरको लगानीमा बनेको यो रेल सेवा देशमा स्वतन्त्रतापछि सबैभन्दा ठूलो निर्माण हो । यो रेलवेको निर्माण एक चिनियाँ कम्पनीले गरेको हो र सुरुवातमा अधिकांश चालक र इन्जिनियर पनि चिनियाँ नै हुनेछन् ।

यिनीहरुले केन्यालीलाई नै सिकाउनेछन्, ताकी पछि सबै जिम्मेदवारी उनीहरुले नै सम्हाल्न सकुन् । नयाँ रेल सेवा नैरोबीबाट मोम्बासा सम्म साढे चार घन्टामा पुग्न सक्छ । बसबाट यहाँ पुग्न ९ घन्टा र पुरानो रेलवे सेवाबाट १२ घन्टा लाग्ने गर्दछ ।

यो रेलवे लाइन ४ सय ७२ किलोमिटर लामो रहेको छ । यो रेल सेवालाई विस्तार गरेर दक्षिण सुडान, रुवान्डा, बुरुन्डी, इथियोपिया र पूर्वी कंगोसम्म लैजाने योजना रहेको छ ।

चीनको रेलवे लाइन विस्तार प्रविधिबाट बनाइएको यो रेलवे लाइन निर्माण गर्न तीन वर्ष लागेको थियो । यो बाटोमा ७९ वटा पुल, दुई वटा ठूला स्टेशन, ७ वटा मझौला स्टेशन र २३ वटा पाशिङ स्टेशन रहेका छन् ।

यो रेलवे लाइनलाई मडारका एक्सप्रेस नाम दिइएको छ । सबै स्टेशन पर्यावरण प्रतिबिम्बित गर्ने गरी निर्माण गरिएको छ । हेर्नमा धेरै शानदार मोम्बासा स्टेशनको डिजाइनमा लहरा र तरंगबाट प्रेरणा लिइएको छ । यस्तो लाग्छ कि स्टेशनको मुख्य टावरबाट तरंग निस्किरहेको छ ।