यतिबेला उत्तर कोरिया र अमेरिकाबीचको शब्दयुद्ध र एकअर्काप्रति लक्षित गरी गरिएका सैन्य क्रियाकलापहरु एकदम चर्चाको शिखरमा छ । विश्लेषकहरुले यो परिस्थितीलाई तेस्रो विश्वयुद्धको सुरुवाती रुप भनेर चित्रित गरिसकेका छन् । साँच्चै भन्ने हो भने अमेरिका र उत्तर कोरियाबीचको तनाब इतिहासमै यति धेरै बढिसकेको छ कि कुनै एक पक्षको एउटा सानो कमजोरीका कारण पुरै विश्व आणविक युद्धमा होमिन सक्छ । यसैबीच अमेरिकाले आफ्ना युद्धपोत हरु कोरियाली समुद्रमा तैनाथ गरिसकेको छ भने उत्तर कोरियाले पनि छैठौं शक्तिशाली आणविक परीक्षण गर्ने धम्की दिइसकेको छ । अहिलेका यी परिस्थितीलाई आँकलन गर्ने हो भने विश्व एउटा विनाशकारी आणविक युद्धतर्फ होमिएको छ ।
मानिसहरुलाई लाग्न सक्छ, यो गम्भीर परिस्थति निम्त्याउनुका पछाडि उत्तर कोरिया र त्यसको शासक किम जोङ उनको हात छ । पक्कै पनि यो परिस्थिती निम्त्याउन उनका क्रियाकलापले पनि केही भूमिका खेलेको हुन सक्छ । तर अमेरिकाले यसको सबै दोष उत्तर कोरियालाई मात्र दिदै आएको छ । यो परिस्थितीको सिर्जना हुनुका पछाडि सबैभन्दा धेरै अमेरिकाको विदेश नीतिले काम गरेको छ । पुरै संसारलाई आफ्नो हैकम बनाउने र आफ्नो औंलामा नचाउने अमेरिकी विदेशी नीतिका कारण यो स्थिती सिर्जना हुन पुगेको हो । पछिल्लो समयमा अमेरिकाले आफ्ना युद्धपोतहरुलाई कोरियाली समुद्रमा तैनाथ गरेको छ । अमेरिकाको यो अभ्यासलाई नजर अन्दाज गर्दै उत्तर कोरियाली शासकको दम्भका कारण यो परस्थिती सिर्जना भएको भनेर अमेरिका लगायत पश्चिमा मुलुकहरुले भ्रम फैलाउँदै आएका छन् ।
तलका बुँदाहरु मार्फत अमेरिका लगायत केही पश्चिमा मुलुकहरुले उत्तर कोरिया माथि फैलाएको भ्रमहरुका बारेमा चर्चा गरिएको छ साथै ती भ्रमहरुलाई चिर्न तर्कहरु प्रस्तुत गरिएको छ ।
भ्रमः उत्तर कोरिया असाध्यै गरीब मुलुक हो, उत्तर कोरियालीहरुलाई दुई छाक खानको लागि पनि धौ धौ पर्छ ।
पश्चिमाहरुले उत्तर कोरियाका बारे छर्ने सबैभन्दा ठूलो भ्रम त्यो देशको गरिबी हो । उत्तर कोरिया एक विकासोन्मुख मुलुक हो । कृषिमा आधारित मुलुक भएकाले प्राकृतिक प्रकोपहरु जस्तै बाढी, पहिरो, सुख्खाका कारण कहिले काही सो मुलुकमा खाद्यान्न आपूर्तीमा समस्या आउने गर्छ । तर यसरी भ्रम फैलाइएको छ कि उत्तर कोरियामा जस्तो गरीबी विश्वका अन्य कुनै मुलुकमा छैन । स्मरण रहोस, संसारमा विकसित कहलिएका मुलुकहरुको धनी र गरीब बीचको खाडल झन् डरलाग्दो स्थितीमा छ । उदाहरणको लागि भारत संसारमा गरीबहरुको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक हो । विश्व बैंकको गतबर्षको तथ्यांक अनुसार भारतको कुल जनसंख्याको २२ प्रतिशत मानिसहरु अथवा २७ करोड भारतीयहरु अmभैपनि गरिबीको रेखामुनि छन् । कतिपय अध्ययनहरुले सबैभन्दा शक्तिशाली प्रचार गरिएका अमेरिका, बेलायत जस्ता मुलुकका नागरिक पनि स्वस्थकर र पोषणयुक्त खानेकुराबाट बञ्चित छन् भन्ने कुरा पुष्टि गरिसकेका छन् ।
भ्रमः उत्तर कोरियाली जनता सूचना तथा प्रविधिबाट बञ्चित छन् ।
यो सत्य हो कि उत्तर कोरियाली जनता केही हदसम्म सूचना तथा प्रविधिबाट बञ्चित छन् । उनीहरुलाई सामाजिक सञ्जालका माध्यमबाट बाहिरी दुनियाँसँँग सिधा सम्पर्क राख्ने अनुमति छैन । उनीहरुको सूचना सीमित छ र सम्पूर्ण कुरा केन्द्रबाट सञ्चालित छ । तर यो पनि बुझि राखौं कि लोकतान्त्रिक मुलुकहरुले प्रेस स्वतन्त्रतको नाममा आफ्ना नागरिकहरुलाई प्रवाह गर्ने सूचना निष्पक्ष होलान् त ? कुन निष्पक्षताको सूचना पाएर हामी उत्तर कोरियाबारे गलत कुराहरुमात्र सुन्दै छौं ? के यो सूचना प्रविधिमाथिको नियन्त्रण होइन ? लोकतान्त्रिक भनाउँदा मुलुकका नागरिकहरुले प्राप्त गर्ने सूचना के साँचै नै निष्पक्ष छन् त ? हामी आफैले सोचौं, हामीले पाउने समाचार र सूचना को बाट कसरी आउँछ । लगानी कर्ताहरुको अरबौं लगानी भएका बडे बडे मिडिया हाउसले कसको पक्षमा सूचना प्रेषित गर्लान् त ? उत्तर कोरियाबारे भ्रम पाल्नु भन्दा यी कुराहरु एकपटक सोचौं ।
भ्रमः उत्तर कोरिया एक दमनकारी तानाशाही मुलुक हो ।
पश्चिमा शाक्तिहरुले उत्तर कोरिया एक दमनकारी तानाशाही मुलुक हो, यहाँका जनतालाई आफ्ना शासक विरुद्ध बोल्ने अनुमति छैन, पद्धतिको विरोध गरेमा मृत्युदण्ड हुन्छ अथवा दमन हुन्छ भन्ने भ्रम फैलाएका छन् । तर यसको अहिलेसम्म कुनै पनि ठोस प्रमाण प्राप्त गर्न सकिएको छैन । सँगसँगै, अमेरिका जस्तो लोकतन्त्र भनाँउदो मुलुकले पनि शान्तिपूर्ण आन्दोनलमाथि लाठी गोला र बम बर्षाएर दमन गर्ने गरेका उदाहरणहरु प्रष्टै भेट्न सकिन्छ । अमेरिका मात्र होइन विश्वका अन्य शक्तिकारी लोकतान्त्रिक मुलुहरुले पनि शान्तिपूर्ण आन्दोलनलाई सुरक्षाबल तैनाथ गरेर ती आन्दोलनलाई निस्तेज पार्दै आएका छन् । के यो दमन होइन ? के यो तानाशाहा होइन ? जनताका शान्तिपूर्ण आन्दोलनमा हतियारधारी सुरक्षा बल लगाएर उनीहरुको मानव अधिकार समेत हनन हुने गरी लाठीचार्ज र बम गोला बर्षाउने के यो लोकतन्त्रिक पद्धति हो ?
भ्रमः उत्तर कोरियाले गरेको आणविक विकासले अन्य मुलुकहरुलाई खतरा छ ।
उत्तर कोरिया एक सार्वभौम मुलुक हो । उसले आफ्नो अर्थतन्त्रको कति अनुपातले विकास निर्माणमा, कति सुरक्षामा प्रयोग गर्ने भन्ने उसको नितान्त निजी कुरा हो । उसले गर्ने आणविक हतियारको विकास पनि उसको निजी कुरा हो । तर पश्चिमाहरुले के भ्रम फैलाइरहेका छन् भने उत्तर कोरियाको आणविक हतियारले दक्षिण कोरिया र अमेरिकाका केही मित्रशक्तिहरुलाई खतरामा पारेको छ । तर यो पनि बुझौं कि अमेरिका, दक्षिण कोरिया, जापान लगायतका मुलुकले संयुक्त रुपमा कोरियली समुद्रमा गर्ने सैन्य अभ्यासले उत्तर कोरियालाई थ्रेटमा पारेको छ कि छैन ? अथवा अन्य छिमेकी मुलुहरुको राष्टिय स्वार्थमा असर गरेको छ कि छैन ? कुनै पनि मुलुकले आफूमाथि वाह्य शक्तिको खतरा महसुस हुँदा उसले अत्मरक्षाको लागि सैन्य अभ्यास, आणविक हतियारको परीक्षण गर्न पाउने कि नपाउने ? आफुले गरेको सैन्य अभ्यास चाहिँ लोकतान्त्रिक तर अरुले गरेको चाहिँ खतरा देख्ने अमेरिकाको यो साम्राज्यवादी नीति बाहेक अरु केही होइन ।
निष्कर्ष
माथि उत्तर कोरियाका बारेमा फैलइएका भ्रमहरुका बारेमा थोरै चर्चा गरियो । यसको मतलब यो होइन उत्तर कोरिया एकदम सही मुलुक हो र उसको बचावका लागि यो लेख तयार गरिएको हो । कदापि होइन । उसका पनि केही सीमा, केही कमी कमजोरीहरु होलान्, छन् पनि । तर अमेरिका जस्तो साम्राज्यवादी मुलुकले गर्ने हरेक क्रियाकलाप, विभिन्न मुलुकमाथि गरेको सैन्य आक्रमण एकदम जायज, तर अन्य कुनै मुलुकले अमेरिकाको स्वार्थ विपरीत केही निर्णयहरु लिए, केही क्रियाकलापहरु गरे त्यो अलोकतान्त्रिक । गत महिना अमेरिकाले अफगानिस्तानको भूमिमा गैर परमाणु बम खसाल्यो । यदि त्यही उद्देश्यमा अर्को कुनै दोस्रो मुलुकले त्यसरी नै सैन्य आक्रमण गर्दा के अमेरिकाले त्यसलाई समर्थन गर्ला ? अहँ, कदापि गर्दैन ।
वास्तविकता के हो भने अमेरिका लगायतका केही पश्चिमा मुलुहरुले संसारभरि आफ्नो हैकम कायम गराइराख्न अनेक प्रपञ्च रची पुरै दुनियाँलाई वास्तविकताबाट बञ्चित गर्दै आइरहेको छ । यो अमेरिकाले बर्षौदेखि अनुसरण गर्दै आएको साम्राज्यवादी नीति अनुसार अन्य मुलुहरुमा माथि प्रभुत्व कायम राख्ने नीति बाहेक अरु केही होइन । यसको विरोधमा उत्तर कोरियाले गर्दै आएको साहस र उद्घोषलाई सलाम गर्नैपर्छ । उत्तर कोरियाले अझै यसका लागि आफ्नो क्षमता र साहस बढाउँदै लैजानुपर्छ ।