काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) माओवादीको संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका तर्फबाट कागेश्वरीमनोहरा नगरपालिकामा मेयरका उम्मेदवार दिनेश फुयालले जनताका आधारभूत समस्याको हल गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।
चुनाव प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका फुयालले मुलबाटोसँगको विशेष कुराकानीका क्रममा राजधानीभित्रै रहेपनि यो क्षेत्रको अझै अस्तव्यस्त अवस्थालाई सुधार गर्न धेरै काम बाँकी रहेको बताए ।
उनले कागेश्वरीमनोहरा नगरपालिकाका जनताले खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारी, सडक, सिंचाई जस्ता कुरामा समस्या भोग्नु परिरहेको बताए । उनले नगरपालिकामा सर्वदलीय संयन्त्रका नाममा संसदवादी राजनीतिक दलले मनोमानी कर वृद्धि गरेको उल्लेख गर्दै आफूले जित हासिल गरेमा त्यसलाई तत्कालै खारेज गरी वैज्ञानिक कर प्रणाली लागु गर्ने अठोट व्यक्त गरे ।
उम्मेदवार फुयालले नेपाली जनताको परिवर्तनको चाहानालाई सम्बोधन गर्नका लागि र त्यसको सुरुवात स्थानीय तहबाटै गर्नका लागि आफू चुनावी मैदानमा आएको उल्लेख गरे ।
‘जनताका आधारभूत आवश्यकताहरु बाटोघाटो, सिंचाई, स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता समस्याको समाधान हुन सकेको छैन । यो क्षेत्रमा विगतका निर्वाचनमा ठूला भनिएका दलले जति प्रतिबद्धता जनाएका थिए, ती केवल आश्वासनमा सीमित भए,’ उनले भने, ‘नेपाली जनतालाई परिवर्तनको अनुभूति दिलाउन र वास्तविक अर्थमा अधिकारसम्पन्न तुल्याउनका लागि क्रान्तिकारी माओवादी र देजमोका उम्मेदवारलाई जिताउनुको विकल्प छैन ।’
उनले आफू यस क्षेत्रमा रहेका उम्मेदवारमध्ये सबैभन्दा योग्य रहेको दाबी गर्दै आम मतदातालाई देजमोका तर्फबाट दिएको स्वतन्त्र उम्मेदवारीको पक्षमा खडा हुन आव्हानसमेत समेत गरे ।