काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले १२८ औं मजदुर दिवसको सन्दर्भमा जारी गरेको वक्तव्यमा पछिल्ला राष्ट्रिय राजनीतिक घटनाक्रमका बारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ । क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’ले सोमबार एक वक्तव्य जारी गर्दै भनेका छन्, “नेपालमा आज एकातिर मजदुर वर्गमाथिको उत्पीडन तीव्र रुपमा बढेको छ भने अर्कोतिर वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थामा गम्भीर संकट पैदा हुँदै गएको छ । प्रधानन्यायाधीशमाथि महाअभियोगको प्रस्ताव दर्ज गरिएको छ । सत्तारुढ राजनीतिक दलहरुभित्रै राजीनामा फालाफालको स्थिति छ ।”

वक्तव्यमा अगाडि भनिएको छ, “सत्तारुढ र प्रतिपक्षी राजनीतिक दलहरुका विचमा मात्र होइन सत्तारुढ राजनीतिक दलहरुकै बिचमा पनि अन्तर्विरोध चर्किएका छन् । त्यत्ति मात्र होइन कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बिचको अन्तर्विरोध चरम बन्दै गइरहेको छ । यस प्रकारका अन्तर्विरोधहरुलाई हामीले वर्तमान प्रतिक्रियावादी राज्यसत्ता र संसदीय व्यवस्थाभित्रका संकट र असफलताको अभिव्यक्तिका रुपमा लिनु पर्दछ ।”

वक्तव्यमा अध्यक्ष किरणले पार्टीपंक्तिलाई अपील गर्दै भनेका छन्, “ यो बेला हामीले क्रान्तिका लागि अनुकूल बन्दै गइरहेको वस्तुगत परिस्थितिको सही आँकलन गर्दै आत्मगत अवस्थाको तयारीमा विशेष जोड दिनु पर्दछ ।

क्रान्तिकारी अन्तर्राष्ट्रिय मजदुर दिवसको यस ऐतिहासिक दिनलाई एक अवसरका रुपमा लिदै दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्तवर्गका साथै साम्राज्यवादी तथा विस्तारवादी उत्पीडन र हस्तक्षेपका विरुद्ध नयाँ जनवादी क्रान्तिको तयारी गर्दै वैज्ञानिक समाजवाद र साम्यवादको दिशामा दृढतापूर्वक अगाडि बढौं ! सर्वहारा अन्तर्राष्ट्रियतावाद जिन्दावाद ! !”

वक्तव्यमा १२८ वर्षअघि अमेरिकाका मजदुरहरु पुँजीपति वर्गको उत्पीडनका विरुद्ध संघर्षको क्रममा ८ घण्टाको कार्यदिवस सम्बन्धी आफ्ना मागलाई पुरा गराउन सफल भएको ऐतिहासिक सन्दर्भको उल्लेख गर्दै मजदुर दिवसको ऐतिहासिक अवसरमा पार्टीको तर्फबाट सम्पूर्ण मजदुरहरुलाई हार्दिक शुभकामना व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर