विश्वकै सबैभन्दा अग्लो स्थानमा पार्टी गर्न बेलायतका चर्तित डिजे सगरमाथामा

प्रकाशित मिति : २०७३ चैत्र २९

२९ चैत, काठमाडौं । बेलायतका चर्चित डिजे पाउल ओकेनफोल्ड विश्वकै सबैभन्दा अग्लो स्थानमा पार्टी आयोजना गर्ने उद्देश्यले सगरमाथा आधार शिविर पुगेका छन् । सगरमाथाको ५ हजार ३ सय ८० मिटर अर्थात् १७ हजार ६ सय फिट उचाईमा सो पार्टी गर्ने उनको योजना छ ।

तीन पटक ग्रामी अवार्डको मनोनयनमा परेका यी ५३ वर्षीयी कलाकार आफ्नो प्रख्यात इब्लिजा ट्रिपको ३० औं वाषिर्कोत्सव मनाइरहेका छन् । यो ट्रिपले १९६७ को पहिलो ‘समर अफ लभ’ यता बेलायती युवा संस्कृतिमा सबैभन्दा ठूलो क्रान्तिका रुपमा ‘सेकेन्ड समर अफ लभ’ को प्रस्फुटन गराएको थियो ।
म्याडोना र य–२ सँग समेत सहकार्य गरिसकेका ओकेनफोल्डले मंगलबार आधार शिविरमा कार्यक्रम गर्ने तालिका छ ।
उनले यो कार्यक्रम सगरमाथामा मात्र नभई विश्वलाई नै एकसाथ देखाउन आफ्नो फेसबुक पेजमा लाइभ स्ट्रिम गर्नेछन् । ‘अहिले हामी यहाँ ध्वनी परिक्षण गरिरहेका छौं’ ओकेनफोल्डले सोमबार एएफपीलाई भने, ‘भोलीको शोका निम्ति हामी निकै उत्साहित छौं ।’

कार्यक्रमका लागि चाहिने साउन्ड सिस्टम बोकेर याक र भरियाहरुको टोलीसँग सगरमाथा आधार शिविरसम्मको १० दिने यात्रा गर्नुअघि आफूसँग पदयात्राको कुनै अनुभव नभएको डिजेले बताए । उनले नेपाल आउनुअघि चार महिनासम्म तालिम लिएका थिए ।

‘म यहाँसम्म सजिलै आइयो भनेर भन्दिनँ तर, यो निकै मजेदार यात्रा थियो,’ उनले भने, ‘मैले देखिरहेको दृष्य साँच्चै सुन्दर र प्रेरणादायी थियो ।’

ओकेनफोल्डलाई साथ दिइरहेका नेपाली डिजे रन्जन झानले भने, ‘धेरै स्रोताहरु सायद बसिरहेका हुनेछन् । यहाँ हावा निकै पातलो छ र चाँडै नै सास फेर्न असजिलो हुन सक्छ ।’

ओकेनफोल्डले नेपालमा २०७२ सालमा आएको भूकम्पका पीडितहरुको सहयोगार्थ रकम संकलन गर्नेसमेत योजना बनाएका छन् ।