एजेन्सी । संयुक्त राष्ट्र संघले इराकी सहर मोसुलमा ठूलो संख्यामा सर्वसाधारण नागरिक मारिएको रिपोर्टमाथि चिन्ता व्यक्त गरेको छ ।

इराकका एक वरिष्ठ अधिकारीले ठूलो संख्यामा भएको हताहतीले चिन्ता बढाइरहेको जनाएका छन् । पछिल्ला केही दिनमा अमेरिका नेतृत्वको सेनाले गरेको हवाई हमलामा कम्तीमा पनि २ सय सर्वसाधारण मारिएको जनाइएको छ ।

अमेरिकी युद्धक विमानले इराकी सेनाका साथमा मिलेर काम गरिरहेका छन् । इराकी सेनाले मोसुललाई इस्लामिक स्टेटको कब्जाबाट फिर्ता लिनका लागि आक्रमणलाई तिव्र बनाएको छ । हालै अमेरिकी सञ्चारमाध्यमले समेत यो घटनाको जाँच भइरहेको जनाएका छन् ।

अहिलेसम्म पनि मृत्युबारे जुन तथ्यांक बाहिर आएको छ, त्यो कहिलेको हो भन्ने पत्ता नलागेपछि पश्चिम मोसुलमा रहेका एक पत्रकारले आफूले हालै एक भवनबाट ५० शब निकालेको देखेको बताएका छन् ।

सो स्थानमा मार्चको पहिलो सातामा हवाई हमला भएको थियो । इराकी सुरक्षा बलले मोसुलमा एक महिनादेखि आक्रामक सैनिक कारबाही गरिरहेको छ ।

इराकको दोस्रो ठूलो सहर मोसुल सन् २०१४ देखि नै इस्लामिक स्टेट (आईएस) को कब्जामा रहेको छ । न्युयोर्क टाइम्सले अमेरिकी सैनिक अधिकारीलाई उदृत गर्दै गठबन्धन सेनाले १७ देखि २३ मार्चको बीचमा भएको आक्रमणमा ती सर्वसाधारण मारिएको जनाएको छ ।

संयुक्त राष्ट्रसंघले मोसुलको पुरानो सहरमा चार लाख मानिस फँसेको अनुमान गरेको छ भने १ लाख ८० हजारभन्दा बढीले सहर छाडिसकेका छन् ।

यस्तै आगामी दिनमा ३ लाख २० हजार सहर बाहिर जाने अनुमान गरिएको छ । मोसुलबाट बाहिरिएका सर्वसाधारणले विद्रोहीले आम नागरिकलाई ढालको रुपमा प्रयोग गरिरहेको र अमेरिका नेतृत्वको इराकी सेनाले समेत त्यसलाई ध्यान नदिई आक्रमण गरिरहेको जनाएका छन् ।

आतंकवादीहरु सर्वसाधारणको घरमा लुकेर युवाहरुलाई समेत युद्धमा सामेल हुन बाध्य पारिरहेका छन् । अमेरिकी अधिकारीहरुले अझै पनि मोसुलमा आईएसका दुई हजार लडाकु रहेको अनुमान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर